सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङको कठिन जित
काठमाडौं : शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कठिन जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले तुलनात्मक कमजोर टोली जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो।
लिगको छैटौं खेलसम्म शतप्रतिशत नतिजा निकालेको मनाङले जितसँगै १८ अंक बनाएको छ। समान खेलबाट चार अंक बनाएको जाउलाखेल ११औं स्थानमा छ। मनाङको जितमा अञ्जन विष्ट नायक बने। अञ्जनले ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। जाउलाखेलका रक्षक आदमा डोउमवियाले मनाङका स्ट्राइकर ओवावाले अफिजलाई डीबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई अञ्जनले सदुपयोग गरे।
लिगका सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो सूचीमा रहेको अञ्जनको यो पाँचौं गोल हो। अञ्जन म्यान अफ दी म्याच घोषित भए। जितका लागि निकै संघर्ष गर्नु परेको मनाङलाई जाउलाखेलले अन्तिमसम्म टक्कर दिएको थियो। दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकी खेलाडी अफिजको सशक्त प्रहार पोलमा लागेर फर्किएपछि जाउलाखेल हार खेप्न बाध्य बनेको थियो।
थ्रीस्टार दोस्रो स्थानमा
थ्रीस्टार क्लब लिगको दोस्रो स्थानमा उक्लिएको छ। हल्चोक मैदानमा भएको खेलमा थ्रीस्टारले सरस्वती क्लबलाई २–१ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। जितसँगै थ्रीस्टारले १५ अंक बनाएको छ। यसअघि थ्रीस्टारले मनाङसँग एउटा खेलमा मात्र हार खेपेको थियो।
यसअघि ६ अंक बनाएको सरस्वती तालिकाको नवौं स्थानमा छ। सरस्वतीले दुई जित र चारवटा हार खेपेको छ। रोचक खेलका सरस्वतीले सुरुआती अग्रता लिएको थियो। सरस्वतीका लागि भिक्टोर एमोबीले चौथो मिनेटमै गोल गरेका थिए। सरस्वतीको अग्रतापछि जोसिएको थ्रीस्टारले १७औं मिनेटमा बराबरी गोल फर्कायो। थ्रीस्टारका लागि रञ्जित धिमालले पहिलो गोल गरे। त्यसपछि ३६औं मिनेटमा नीराजन खड्काले गरेको गोल नै थ्रीस्टारको जितमा पर्याप्त बन्यो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
लयमा फर्कंदै च्यासल
राम्रा खेलाडीको साथ पाएर पनि लिगका कमजोर खेल खेलिरहेको च्यासल विस्तारै खेलमा फर्किएको छ। एन्फा मैदानमा बुधबार नै भएको खेलका च्यासलले हिमालयन शेर्पा क्लबलाई २–१ गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा शेर्पाले १५औं मिनेटमा पहिलो गोल गरेको थियो।
शेर्पाका लागि त्रिदेव गुरुङले खाता खोले। त्रिदेवले कर्ण सुब्बाको पहिलो प्रहार पोलका लागेर फर्किएको बलमा जाली चुमाएका थिए। पहिलो गोलपछि रक्षात्मक देखिएको शेर्पामाथि च्यासल दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको थियो। ५६औं मिनेटमा च्यासलका अनुभवी स्ट्राइकर सन्तोष साहुखलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले डीबक्सभित्र शेर्पाका दुई रक्षक र गोल रक्षकलाई समेत छक्याउँदै उत्कृष्ट गोल गरे। उनी म्यान अफ दी म्याच पनि भए।
७३औं मिनेटमा च्यासलका सुनील खड्काको प्रहार शेर्पाका निरज बस्नेतलाई ठोक्किँदै आत्मघाती गोल भएपछि शेर्पा हार खेप्न बाध्य बन्यो। जितसँगै सात अंक बनाएको च्यासल सातौं स्थानमा उक्लिएको छ। यसअघि १० अंक बनाएको शेर्पा छैटौं स्थानमा छ।