बालावन र बालाचतुर्दशी

बालावन र बालाचतुर्दशी

पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म–संस्कृति प्राचीन मानिन्छ। संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवंगत पितृहरूको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बालाचतुर्दशी पनि एक हो। काठमाडौंको प्रसिद्ध पाशुपत क्षेत्रस्थित श्लेष्मान्तक वनलाई अघि बालावन भनिन्थ्यो। बालावनमा शैव धर्मावलम्बी अघोरी बाबाहरू धेरै बस्थे। भनिन्छ– ब्राह्मण कुलका रावण, कुम्भकर्ण, सुपर्णखा पनि यहीं जन्मिएका हुन्।

विश्वका प्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिङ्ग उदय भएपछि शैवमार्गीहरू यस क्षेत्रमा धेरै भए। तीमध्ये एक नायक थिए– बालानन्द। त्यतिबेला मसानघाटमा भोजभतेर खाने चलन रहेछ। एक दिन खानेकुरा खाँदाखाँदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिटिएर उनै बालानन्दको खानामा परेछ। थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फूर्ति धेरै बढ्दै आएछ। अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लासहरूलाई तान्दै वनमा लग्दै खान थालेछन्। यसो हुँदा हिन्दु धर्म र परम्पराअनुसार काजकिरिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नुपरेछ। अन्ततः त्यतिबेलाका राजा भुवनकेशरसम्म जाहेरी भएछ। आसुरी प्रवृत्ति बढ्दै गएपछि बालानन्दको नाम बालासुर हुन पुगेछ। त्यहाँको वनलाई पनि बालावन भन्न थालिएछ। सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई बध गर्न आदेश दिएछन्।

बालासुर निकै बलशाली थियो। जोकोहीले उनलाई बध गर्न सक्ने थिएन। तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृष सिंह भन्ने एक व्यक्ति फेला परेछन्। राजाको आज्ञाले बालासुरको बध गर्न उनैलाई भनिएछ। तर वृषसिंह आफैंमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन्। कठोर तपबाट खुसी भई घुम्न आएका शिव दम्पतीले बालावनमा वृष सिंहलाई वरदान माग्न भनेछन्। उनले पनि आसुरी शक्ति बालासुरलाई मार्न सक्ने वरदान दिनुहोस् भन्दा शिवजीले हुन्छ भनेछन्। तर एउटा सर्तमा कि उसलाई मारेपछि उसको शिर भने शिवजीलाई नै दिनुपर्ने रहेछ।

वृषसिंह शक्तिसम्पन्न त भए तर मनमनै खिन्न पनि। साथीको हत्या आफैंमा ठूलो अपराध थियो। तैपनि बालासुरलाई नमारिनहुने भो भनेर उनले विभिन्न योजना बनाए। चिउरा, मदिरा, मासुका परिकार, साथीलाई मनपर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृषसिंह घाटतिर जाँदै थिए। बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्नतिर लाग्यो। साथी वृषसिंहलाई पनि देख्यो। आपसी संवाद हँुदै जाँदा वृषसिंहले भने– लामो समयपछि तपाईंलाई भेट्न आएको, खाली हात कसरी आऊँ भनेर केही खानेकुरा उपहार ल्याएको छु। बालासुर खानामा लोभी थियो। अघाउन्जेल उपहार खाना खायो। केही बेरपछि मदिराले मात्तिएर ढलपल गर्न पनि लाग्यो। यही मौका छोपी वृषसिंहका भरियाले उसलाई डोरीले बाँधेर गहिरो इनारमा खसाले। त्यहीं ढुंगामुढा गरेर मारिदिए। वृषसिंह उसको टाउको लिएर राजाकहाँ पुगे र भने– यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ। राजाले हुन्छ भने।

वृषसिंह टाउको लिएर पशुपति गए। शिवजी खुसी भएर वरदान माग भन्नुभयो। वृषसिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान पनि मागे। शिवजीले भन्नभयो– त्यसो भए एउटा काम गर। यसको टाउको चाँदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटको रूपमा राख। बालासुरलाई मारेको दिन मार्गकृष्ण चतुर्दशी रहेछ। त्यसै दिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने नयाँ चलन चलेछ। बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाउनाले र यसै दिन श्लेष्मान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवंगत पितृहरूको उद्धार हुन्छ भन्ने पनि वरदान मिल्यो। बालावन जसलाई श्लेष्मान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बालाचतुर्दशीमा जसले शतबीज छर्छन्, तिनका पितृहरूको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो। सात पुस्तासम्मका पितृहरूको गति मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकुट लगाइदिने मार्गकृष्ण चतुर्दशीमा त्यहाँ ठूलो मेला लाग्छ। पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ।

सके सय थरी अन्नको बीउ नसके सात थरी ‘धान, गहुँ, मकै, जौ, मुंगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर सत्बीज छर्ने चलन छ। शतबीजलाई सद्मी भन्ने पनि चलन छ। अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपति क्षेत्रपरिसरमा जात्रा र भजनकीर्तन गर्ने चलन पनि छ। भोलिपल्ट चतुर्दशीका दिन बिहान बत्ती सेलाएर सत्बीज छर्दा पशुपति, गुह्येश्वरी, वासुकि, मृगस्थली भ्रमण गर्दामै पनि मानव जन्ममा जन्ममरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली महात्म्य एवं हेमाद्री संहितामा उल्लेख छ। सद्मी छर्ने प्रमुख स्थानहरूमा विश्वरूप, किरातेश्वर, चौसट्ठी क्षेत्र आदि मुख्य छन्।

मृगस्थलीनजिकै बहिरा गणेश छन्, तिनको छट्टै महत्व छ। सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ। यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्तहरू मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले आफन्तका मृतकहरूलाई खबर पुर्‍याइदिन्छन्। सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्दछन्। अन्य मठमन्दिरहरूमा पनि हनुमान, गणेश आदिको तस्बिर, मूर्ति हामी पाउने गर्छौं, जसले मन्दिरमा को, कहिले आए, के गरे सबै अभिलेख राख्ने गर्छन्।

सतबीजको एक दाना एक रती सुनबराबरको पुण्य हुने हुनाले सद्मीका बीजहरूको अनगिन्ती पुण्य हुने कुरा धर्मशास्त्रहरूमा उल्लेख पाइन्छ। शिवजीले अघि मृगरूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँको नाम मृगस्थली रहेको र बालाचतुर्दशीकै दिन शिवले एकसिंगे मृग रूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र सत्बीज छर्नेहरू जोकोही पनि दीर्घजीवी र पुण्यात्मा हुने गर्दछन्। हिजोआज हरेक दिन बिहान र बेलुका त्यहाँ भ्रमण गर्नेहरू आफ्नो आयु बढाउन चाहन्छन्। शारीरिक अभ्यासदेखि योग, प्राणायाम र दिल बहलाउन चाहनेहरू त्यहाँ दिनहँुजसो भेटिन्छन्। बनबुटेन, ताजा हावा, सफा वातावरणको कारणले पनि वृद्ध रोगीहरूसमेत त्यहँ आवतजावत गर्ने गर्छन्।


–पौडेल संस्कृतिविद् हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.