सडक निरीक्षण गर्न वार्ता
सिन्ह्वा सोल : दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरूपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ। कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा सडक निरीक्षणका लागि दुई कोरियाबीच समय तालिका तय गर्न वार्ता हुने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
सोलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता बाइक ताए हाउनले दुई कोरियाको सीमा क्षेत्रमा संयुक्त सडक सर्वेक्षणका लागि दक्षिण कोरियाले उत्तर कोरियासँग सरसल्लाह गर्दै आएको र पत्र आदानप्रदान हुँदै आएको बताएका छन्। उत्तर कोरियाको सीमा शहर काएसोङमा संयुक्तरूपमा सडक निरीक्षण गर्नका लागि समय तालिका बनाउन लागिएको जनाइएको छ। गत अगस्तमा उत्तर कोरियाको राजधानी शहर प्योङयाङमा भएको वार्तामा दुवै कोरिया यस विषयमा सहमत भएका थिए।
यद्यपि दक्षिण कोरियाको गोसेओङ उत्तर कोरियाको वोन्सन सडकको संयुक्त सर्वेक्षण कार्य शुरु भइसकेको जनाएको छ। हालै मात्र दुई कोरियाले १८ दिने संयुक्त रेलमार्ग सर्वेक्षण शुरु गरिसकेको समाचार सार्वजनिक भएको थियो। उक्त रेलमार्ग सर्वेक्षण पश्चिम र पूर्वी कोरियाली प्रायद्वीपमा रहेको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनको सहभागितामा पानमुन्जोममा जारी गरिएको घोषणा पत्रमा रेल र सडक प्रणाली आधुनिकीकरण गर्ने विषयमा सम्झौता भएको थियो।
गत अप्रिलमा भएको उनीहरूको पहिलो वार्तापछि सीमा इलाकामा रहेकोे सडक प्रणाली आधुनिकीकरण गर्ने विषयमा सम्झौता भएको थियो। दुई कोरियाबीच भएको यस सम्झौता लागू गर्ने दक्षिण कोरियाले तयारी गरिरेहको एकीकरण मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।