ईपीएलमा विदेशी खेलाडी : भारतदेखि दक्षिण अफ्रिकासम्म
काठमाडौं : घरेलु फ्रान्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मिति नजिकिँदै गर्दा विदेशी खेलाडीको अनुबन्धको समाचारले प्रतियोगिता निकै रोमाञ्चक हुने संकेत देखिएको छ । आगामी शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा यस पटक भारतदेखि इङ्ल्यान्ड र दक्षिण अफ्रिकासम्मका खेलाडीको उपस्थिति निश्चित भएको छ ।
एउटा टोलीले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधानअनुसार प्रतियोगितामा सहभागी ६ वटै टोलीले एसोसिएट र टेस्ट राष्ट्रका अनुभवी खेलाडीसँग सम्झौता गरिसकेका छन् । यसमध्ये राम्रा विदेशी खेलाडी भित्र्याउने टोलीमा पोखरा राइनोज सबैभन्दा अगाडि देखिएको छ । पोखराले स्कटल्यान्डका किल कोइजर, इङ्ल्यान्डका पल कोघलिन, दक्षिण अफ्रिकाका रिचार्ड लेभी र हङकङका सनी भिमसारियालाई अनुबन्ध गरेको छ । यसमध्ये दक्षिण अफ्रिकाका लेभी सबैभन्दा बढी चर्चा कमाएका खेलाडी हुन् ।
दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका लेभी कुनै समय टिट्वेन्टी क्रिकेटको एकै पालीमा सर्वाधिक रन प्रहार गर्ने कीर्तिमानसमेत बनाएका खेलाडी हुन् । पोखराले अनुबन्ध गरेका सबै विदेशी खेलाडीले भने पहिलो पटक नेपाली घरेलु क्रिकेट खेल्न लागेका हुन् । पोखराले खेलाडीसँगै प्रशिक्षक पनि विदेशी नै भित्र्याएको छ । पोखराले अस्टे«लियन नाथन डोडलाई यसअघि नै ईपीएलको यो सिजनका लागि आफ्नो प्रशिक्षकको रूपमा घोषणा गरेको थियो ।
पोखरापछि प्रतियोगिताको साबिक विजेता टोली विराटनगरले राम्रा विदेशी खेलाडीलाई अनुबन्ध गरेको देखिएको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्यान्ड्सका पल भान मिकेरेन, नेदरल्यान्ड्सका रोइलोफ भान डर मार्वी र भारतका समित पटेललाई अनुबन्ध गरेको छ । यसपटक उपाधि रक्षा गर्ने योजनामा लागेको विराटनगरले पनि विदेशी प्रशिक्षकको रूपमा भारतीय उमेश पटवाललाई नियुक्त गरेको छ ।
हायात र पटेलले नेपाली घरेलु फ्रान्चाइच क्रिकेटमा यसअघि पनि खेलिसकेका खेलाडी हुन् । यद्यपि नेदरल्यान्ड्सकाद्वय मरर्वी र मिकेरेनले भने पहिलो पटक नेपालमा घरेलु प्रतियोगिता खेल्न लागेका हुन् । उनीहरूसँगै नेदरल्यान्ड्सका अर्का खेलाडी र्यान टेन डोस्चेट, पल स्टर्लिङ र केभिन ओब्राइनले पहिलो पटक नेपालको घरेलु क्रिकेट खेल्न लागेका हुन् । रायन टेन डोस्चेटले भैरहवा ग्लाडिएटर्स, स्टर्लिङले चितवन टाइगर्स र ओब्राइनले काठमाडौं किङ्स इलाभेनबाट खेल्न लागेका हुन् ।
विदेशी खेलाडी
भैरहवा ग्लाडिएटर्स
रायन टेन डोस्चेट (नेदरल्यान्ड्स)
मोहम्मद नाभिद (यूएई)
रभिइन्दर सिंह (भारत)
विराटनगर वारियर्स
बाबर हायात (हङकङ)
पल भान मिकेरेन (नेदरल्यान्ड्स)
रोइलोफ भान डर मरर्वी (नेदरल्यान्ड्स)
समित पटेल (भारत)
चितवन टाइगर्स
पल स्टर्लिङ (आयरल्यान्ड)
जोन सिम्पसन (इङ्ल्यान्ड)
काठमाडौं किङ्स इलाभेन
रोहन मुस्तफा (यूएई)
केभिन ओब्राइन (आयरल्यान्ड)
ललितपुर प्याट्रियट्स
जयकिशन कोल्सावाला (भारत)
सन्नी पटेल (भारत)
गौरभ तोमार (भारत)
पोखरा राइनोज
शनि भिमसारिया (हङकङ)
किल कोइजर (स्कटल्यान्ड)
पल कउघलिन (इङ्ल्यान्ड)
रिचार्ड लेभी (दक्षिण अफ्रिका)