चीनको दूरसञ्चार कम्पनी ह्‍वावेकी अधिकारी क्यानडामा पक्राउ

चीनको दूरसञ्चार कम्पनी ह्‍वावेकी अधिकारी क्यानडामा पक्राउ

ओट्टावा : चीनको दूरसञ्चार कम्पनी ह्‍वावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मङ वानचाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरूले बताएका छन् ।

चीनले भने उक्त पक्राउ रदुर्व्यवहारप्रति आपत्ति जनाएको छ । मङ वानचाउ हाल ह्‍वावेकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको ह्‍वावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरूले अनुसन्धान शुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले ह्‍वावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।

अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीनमहिने युद्धबिराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुबै देशका व्यापार मध्यस्थकर्ताहरूमाथि तीन महिनाभित्र असमझदारी हटाउनुपर्ने गहन जिम्मेवारी छ । मङको गिरफ्तारीसँगै एशियाली शेयरबजारमा त्यसको असर देखिएको छ । साङघाई र हङकङको शेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको शेयरमा मन्दी छाएको छ । मध्याह्नसम्म साङघाई स्टक एक्सचेन्ज १. ३ र हङकङ स्टक २.६ प्रतिशतले घटेको छ ।

‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ र अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरूले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्’, अमेरिकी सिनेटर बेन सास्सेले भने । उनले वक्तव्य जारी गर्दै कहिलेकाहीँ चिनियाँ अतिक्रमण पूरै राज्य–प्रवद्र्धित देखिएको त कहिले चीनका तथाकथित निजी कम्पनीहरूले यो कार्य गरिरहेका दाबी गरेका छन् ।

क्यानाडको न्याय मन्त्रालयले मङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ । मङका पिता एवं ह्‍वावेका संस्थापक रन चङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्वइन्जिनियर हुन् ।

ओट्टावास्थित चिनियाँ राजदूतावासले मङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।ह्‍वावेले मङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ । कम्पनीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘ह्‍वावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ ।

राष्ट्रसंघ, अमेरिका र यूरोपेली यूनियनबाट जारी भएका प्रतिबन्ध एवं नियम पूर्ण पालना गरिएको छ ।’ वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय मन्त्रालयले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई ह्‍वावेले उल्लंघन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो । एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.