दुबईमा प्रशिक्षण कला
वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका काठमाडाैं क्षेत्रपाटीका रवि शाही अचेल उतै खेलजगतमा चर्चित बनेका छन्। कामको सिलसिलामा दुबई पुगेका उनले केही समय कुरियर कम्पनीमा काम गरे। सानैदेखि खेलमा रुचि भएका उनी मार्सल आर्ट कराँतेका पाँचौं डान हुन्। उनले दुबईमा जुडो, उसो, कराँते तथा फुटबलमा समेत प्रशिक्षण दिइरहेका छन्।
सुरुका पाँच वर्ष उनले खासै खेल क्षेत्रलाई अघि बढाउन सकेनन्। पाँच वर्षपछि उनले यूएईको राष्ट्रिय क्लब जापान कराँते सेन्टरको प्रशिक्षकको भिसा पाएपछि खेल क्षेत्रमा जम्न अझ सहज भयो। त्यहाँ बसेर उनी यूएईवासी, नेपाली तथा अन्य देशका नागरिकलाई समेत खेलसम्बन्धी विभिन्न प्रशिक्षण दिन्छन्।
यूएईको राष्ट्रिय क्लब जापान कराँते सेन्टरको प्रशिक्षक भएर लामो समय काम गरे तर सन्तुष्ट भएनन्। आफ्नै क्लब खोल्दा नेपालको पहिचानसमेत हुने उनको सोच पलायो। विगत दुई वर्षदेखि ‘एभरेस्ट मार्सल आर्ट क्लब’ स्थापना गरेर दुबईमा नेपाललाई चिनाउने काम गरेका छन्। उक्त क्लबबाट विभिन्न खेल प्रशिक्षण दिनुका साथै समयसमयमा प्रतियोगिता हुँदै आएको छ।
अहिले आफ्नै क्लबबाट सम्पूर्ण काम गर्दा उनी निकै खुसी छन्। उनले ४० हजार दिराम खर्च गरेर दुबईमा क्लब दर्ता गराएका हुन्। दुबईमा यस्ता क्लब खोल्न झन्झट, महँगो हुने गरे पनि उनी दृढ संकल्प लिएर क्लब दर्ता गराएको स्मरण गर्छन्। ‘मलाई विदेशमा बसेर खेलजगत्मा नेपाल चिनाउने रहर जाग्यो, त्यस कारण महँगो शुल्क तिरेर भए पनि क्लब दर्ता गराएँ’, उनले भने। एभरेस्ट मार्सल आर्ट क्लबमा यूएईका सेख खानदानका सन्तानहरूसमेत तालिम लिन आउने गरेकोमा उनी गर्व गर्छन्। भन्छन्, ‘यसले नेपाल र यूएईबीच गहिरो मित्रता कायम हुँदै गएको छ।’
मार्सल आर्ट कराँतेका पाँचाैं डान रवि शाहीले दुबईमा जुडो, उसो, कराँते तथा फुटबलमा समेत प्रशिक्षण दिइरहेका छन्।
आर्थिक रूपमा सम्पन्न हुनभन्दा पनि खेलजगत्मा रचनात्मक कम गर्ने उद्देश्यका साथ निरन्तर खेल साधनामा लागेको उनी बताउँछन्। ‘पैसा कमाउने मात्र ठूलो कुरो होइन, खेलजगत्मा युवालाई आकर्षित गराउने मेरो उद्देश्य हो’, उनले भने। एसियाली स्तरका खेलमा रेफ्री भएरसमेत काम गरिसकेका शाहीले सन् २०१३ मा यूएईको राष्ट्रिय खेल तथा सन् २००५ मा नेपालमै पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए।
दुई वर्षअघि मात्रै स्थापना भएको एभरेस्ट मार्सल आर्ट क्लबले विभिन्न प्रतियोगितामा भाग लिइसकेको छ। यूएईमा सन् २०१७ मा भएको १३ अाैं राष्ट्रिय कराँते च्याम्पियनसिपमा उक्त क्लबले तीनवटा स्वर्ण र एउटा रजत पदक हात पारेको थियो। त्यस्तै १४औं बुदोकान इन्टरनेसनल च्याम्पियनसिप कराँते प्रतियोगितामा १५ स्वर्ण, सात रजत र पाँच काँस्य हात पार्दा उनी खुसीले नाचेका थिए। भन्छन्, ‘यहाँबाट उत्पादित विद्यार्थीले राम्रो काम गरिरहेका छन्, मलाई यसैमा सन्तुष्टि छ।’
रवि शाही आमा उमादेवी र बुवा राजु शाहीका जेठा छोरा हुन्। उनले बाबुको प्रेरणा र काकाको सहयोगमा यूएईमा खेल क्षेत्रलाई अघि बढाउन सके। उनको पारिवारिक वातावरण पनि खेलकुदमय छ। उनका बाबु बक्सिङ खेलाडी थिए। काका विकास शाही राष्ट्रिय बास्केटबल खेलाडी हुन्। त्यस्तै उनकी काकी नयना शाक्य स्विमिङकी नेपाली राष्ट्रिय खेलाडी हुन्। उनले लन्डन ओलम्पिकमा समेत स्विमिङमा प्रतिस्पर्धा गरेकी थिइन्। रविका भाइ अनिल शाही जुडो, बहिनी उरिशा शाही तेक्वान्दो मार्सल आर्ट, अनि श्रीमती रञ्जिता रिजाल कराँते थर्ड डानकी राष्ट्रिय खेलाडी हुन्। काकाका छोरीहरू सविता र कविता शाही कराँतेका ब्ल्याक बेल्ट हुन्। रविकी आमाबाहेक परिवारका अधिकांश सदस्य खेलमै हुँदा पनि रविलाई खेल क्षेत्रमै रम्ने र जम्ने प्रेरणा मिलेको बताउँछन्।
यूएईमा बसे पनि रविले नेपाल बिर्सेका छैनन्। प्रायः वर्षमा एकदुईपटक नेपाल आउने रविलाई नेपालको खेल क्षेत्रमा हुने राजनीतिले पनि चित्त दुखाउँछ। गैरआवासीय नेपाली संघका सदस्यसमेत रहेका उनी नेपालको खेलजगत्ले विश्वमै चर्चा पाएको सुन्न चाहन्छन्। ‘नेपालको खेल क्षेत्रमा धेरै सुधार गर्न आवश्यक छ’, उनले भने। विदेशमा नेपालीले फुर्सद मिलाएर मात्र खेल क्षेत्रका काम गर्न पाउँछन् तर यहाँ जति बेला, जहिले पनि खेल क्षेत्रमै काम गर्न सकिने भएकाले खेल क्षेत्रमा रहेका अगुवाले खेलको विकासमा ध्यान दिनुपर्ने उनी ठान्छन्।