एकै ठाउँमा २३० वटा मानव अस्थिपञ्जर
श्रीलंकाको उत्तर–पश्चिम भूभागमा एकै ठाउँमा दुई सय ३० भन्दा बढी मानव अस्थिपञ्जर फेला परेका छन्। मेनर भन्ने ठाउँमा यति धेरै अस्थिपञ्जर एकै ठाउँमा भेटिएको हो। यो क्षेत्रमा केही वर्ष पहिले युद्ध भएको थियो।
यो ‘वार जोन’मा भेटिएको स्केलेटन युद्धकै परिणाम हुन सक्ने आकलन गरिएको छ। सन् २००९ मा श्रीलंकामा ठूलो युद्ध भयो। त्यतिबेला झन्डै २० हजार मान्छे गायब भएको ‘ह्युमन राइट्स’ समूहले जनाएको थियो। सुरक्षा फौज र तमिलबीच २६ वर्षसम्म लम्बिएको उक्त युद्धमा एक लाख मान्छे मारिएका थिए।
अस्थिपञ्जर भेटिएको उक्त ठाउँलाई उत्खनन गरेको सत्यतथ्य बाहिर ल्याउन श्रीलंकाको अदालतले निर्देशन जारी गरेको छ। त्यति धेरै मानिस किन र कसरी मारिएका थिए भनेर आधिकारिक जानकारी बाहिर आएको छैन। ‘हामीले दुई सय ३० वटा अस्थिपञ्जर फेला पा¥यौ। उत्खनन जारी छ,’ प्रोफेसर राज सोमादेवले बताए। केलानिया विश्वविद्यालयका प्रोफेसर सोमादेवकै नेतृत्वमा अनुसन्धान टोली मेनर पुगेकेो थियो। उनले भने, ‘यो ठूलो मानव चिहान हो।’
मान्छेको मृत्यु भएको कुरा त पत्ता लागिहाल्यो। यसभन्दा बाहेक पुरातत्वविद्हरूले ‘प्रोकेलेन’, ‘सेरामिक’ र खप्परहरू समेत भेट्टाए। पीडितहरूले लगाएको गरगहनासमेत उक्त स्थानमा भेटिएको थियो। ‘हड्डीहरू छरिएको थियो। त्यसलाई जोडेर मानव कंकाल बनाउन बडो मुस्किल भयो,’ प्रोफेसर सोमादेवले भने।
चिहानमा कतिपय मानब हड्डीहरू हराएका छन्। मेनर सहर तमिल समुदायले भरिएको क्षेत्र हो। तमिल टाइगर र सुरक्षा फौजबीच लामो समयसम्म लडाइँ चल्दा धेरै मान्छेले ज्यान गुमाउनु परेको थियो। गृहयुद्धपछि मेनर सहर सुरक्षा फौजको नियन्त्रणमा थियो। तमिल टाइगरका नेताहरूलाई सुरक्षा फौजले समातेर कारबाही गरेको थियो।
गृहयुद्धमा मारिएका मान्छेहरू मेनरमा भेटिएको आकलन गरिरहँदा आफ्नो सेनाले मान्छे नमारेको श्रीलंका सरकारले बताएको छ। त्यो अस्थिपञ्जरको सत्यतथ्य पत्ता लगाउन सरकारले अहिले छुट्टै समूह गठन गरेको छ, जसले घटनाको जानकारी दिनेछ।