युनिक अयला
रेस्टुरेन्टमा ग्राहक भोक मेटाउन मात्र जाँदैनन्। खानासँगै साथीभाइहरूसँग भलाकुसारी गर्न, थकान मेट्न, रिफ्रेस हुन पनि रेस्टुरेन्ट छिर्ने बहाना हुन्छ। ललितपुर, कुमारीपाटी क्षेत्रको अन्तिम चोक कोरियन सपको विपरीत साइडमा छ, त्रिमूर्ति भवन। त्यसकै छैटौंदेखि आठौं तल्लामा छ, अयला रेस्टुरेन्ट, जहाँ छिरेपछि ग्राहकले आफूलाई स्वतः रिफ्रेस महसुस गर्छ।
आवास क्षेत्रबाहेक सम्भवतः ललितपुरमा सबैभन्दा टपमा भएको रेस्टुरेन्ट हो, अयला। यसको सातौं तल्लामा अयला रुफटप गार्डेन छ। गार्डेनको झरनाको मनमोहक दृश्यसँगै पूरै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै खाना खानुको मजा नै दुगुना हुने बताउँछन् एयर डाइनेस्टीका हेलिकप्टर पाइलट शाश्वत दुलाल। हरेक महिनाको अन्तिम शुक्रबार ‘कस्टमर अफ द मन्थ’ घोषणा गरिन्छ, अयलामा। नोभेम्बर महिनामा ‘कस्टमर अफ द मन्थ’ घोषित भएपछि पाइलट दुलाल ग्राहकलाई सम्मान गर्ने रेस्टुरेन्टको पोलिसी देखेर दंगदास परे। त्यसपछि उनी आफ्ना नजिकमा साथीहरूलाई पनि त्यहाँ जान सिफारिस गरिरहेको बताउँछन्।
रेस्टुरेन्टको आठौं तल्लामा कफी डे होराइजन छ। यसको नारा छ, ‘हेप्पिनेस इज अ कप अफ कफी एन्ड अ गे्रेट बुक।’ पुस्तक पढ्दै बाहिर दृश्यावलोकन गर्दै दिनभर पनि कफीको मजा लिन सकिने रेस्टुरेन्टका अप्रेसन म्यानजेर सुनील आचार्य बताउँछन्। रुफटप गार्डेनमा ६०÷७० जना बसेर खान मिल्ने ठाउँ छ। मंसिरको जाडो छ, तर नो प्रोब्लोम। रेस्टुरेन्टले ठाउँठाउँमा हिटर, ब्रिकेटको व्यवस्था गरेको छ। ग्राहकहरू ब्ल्यांकेट ओढेर पनि खानपानको मजा लिन सक्छन्। अयलाको यस्तो युनिक व्यवस्थापनले पनि ग्राहक बढिरहेका छन्।
२०७० को दसैंको छेको पारेर खोलिएको अयलाको छैंटौं तल्लामा ठूलो हल छ। यहाँ एक सय २० जनासम्मको क्षमता छ। जन्मदिन, फेयरवेल पार्टी, भिसा पार्टी लगायतमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सञ्चालक दिनेश राई बताउँछन्। बुधबार, शुक्रबार शनिबार विभिन्न चर्चित ब्यान्डको प्रस्तुति पनि हेर्न पाइन्छ यहाँ। शुक्रबार किशोरहरूको हुल हुन्छ। बुधबार महिलाको भीडभाड हुन्छ। म्युजिक ब्यान्डमा लेडिजहरू नाच्दै खानपानको मजा लिन्छन्। यो दिन लेडिजलाई ककटेल फ्रि हुन्छ। शनिबार पारिवारिक जमघट बढी देखिन्छ। आइतबार गेम देखाउँदै खानपान गराइन्छ। मंगलबार साल्सा म्युजिक सँगै टकेला स्पेसल हुन्छ।
अयलाले खानपानको परिकारमा आफ्नो छुट्टै मेनु बनाएको छ। जसलाई अयला सिग्नेचर डिस नाम दिएको छ। यसमा कन्टिनेन्टल, चाइनिज, नेपाली, इन्डियन, ओरेन्टललगायत १६ थरीको परिकार हुन्छ। मःम, चाउमिन, थुक्पामात्रै अर्डर गर्ने आमनेपाली ग्राहकहरू यहाँको चिकेन कुरकुरे, टाइगर प्राउन, एप्पल चिकेन, सालमोन्ड विथ पनिर, हान्चा फिस, हामा चिकेन, किंग ग्रिल प्राउनलगायत नयाँ परिकार मन पाउँछन्। पिउनेमा आयलाज स्पेशल ककटेल, स्ट्राबेरी डायक्युरी, मेलनबल महिलाहरू बढी अर्डर गर्छन्। यी ककटेल थोरै भोड्का मिसाएर बनाइन्छ।
त्यसो त अयलाको रुफटप गार्डेनबाट ३६० डिग्री दृश्य देखिन्छ। तै पनि ग्राहकलाई टाढाको दृश्यसँग अझ सामीप्य गराउन वाइनाकुलरको पनि व्यवस्था गरिएको छ। अयलाले दिनमा औसत तीन सय ग्राहकलाई सेवा दिन्छ। यसले वर्षमा एकपटक फेसन सो पनि आयोजना गर्छ।
ऋयला रेस्टुरेन्ट भन्नेबित्तिकै धेरैलाई नेवारी परिकार पाइने रेस्टुरेन्ट भन्ने लाग्न सक्छ तर यहाँ नेवारी परिकार भने पाइँदैन। औसत खानाको परिकार भने केही महँगो छ, जस्तो कि चिकेन मःम तीन सय ४० रुपैयाँ पर्छ। सिसाबाहिरबाटै देखिने पारदर्शी किचेनले पनि ग्राहकले यहाँको सरसफाइ मन पराएर आउने गरेको प्रमुख सेफ दलबहादुर खाती बताउँछन्।
जाडोमा स्पाइसी सी फुड धेरैले मन पराउने गरेका छन्। मार्केटिङ अफिसर निरेश शाही भन्छन्, ‘प्राउनलगायत कतिपय परिकारका लागि चाहिने सामग्री हामीले सीधैं थाइल्यान्डबाट मगाउँछौं, यसैले अयलालाई क्वालिटी दिन सकेका छौं।’