मार्फा टू गत्लाङ

मार्फा टू गत्लाङ

कपडाका पत्र–पत्रलाई धागोले सिलाइएको छ। कतै एक टुक्रा जमिन छ, कतै पर्खाल। कतै कौसी नै कौसी छन् त कतै अव्यवस्थित भान्साकोठा। सिद्धार्थ आट ग्यालरीका सेता भित्ताहरु केही दिनदेखि यस्तै विचित्र कपडाहरुले भरिएको छ काला, रोता, सेता, नीला धागोहरुले बुन्दै। ती टुक्राटाक्री कपडामा एक सिंगो चित्र बनेको छ, जहाँ मात्र बाँडिएको आकाश भेट्न सकिन्छ।

कलाकार सुनिता महर्जनले बनाएको यो पेन्टिङले मार्फा गाउँ, काठमाडौंका कौसीदेखि भूकम्प प्रभावित गत्लाङ्गका संरचना र कीर्तिपुरका घरहरु समेटेको छ। सुनिता भन्छिन्, ‘आर्ट भनेको रंगले कागजमा कोर्नु मात्र होइन रहेछ।’ विचारले वस्तु निर्माण गर्न सक्नु नै असली आर्ट भएको उनको बुझाइ छ।

सानैदेखि कपडा सिलाउने रुचि भएकी सुनिताले यसलाई पेन्टिङ्मा प्रयोग गरिन्। उनले आफ्नो सुइधागाको कलालाई केही सिरिजहरुमा विभाजन गरेकी छन्।

मार्फा सिरिज

मुस्ताङ्को उत्तरी भेगमा पर्छ मार्फा गाउँ। उचाइबाट नियाल्दा यो विभाजित धर्तीझैँ लाग्छ। खण्ड खण्डमा बाँडिएको, जताततै चिरिएको। पहाडको टुप्पोबाट हेर्दा गाउँमा ढुंगाको पर्खालहरु देखिन्छन्। ससाना बस्तीहरु र त्यहाँको घर आँगनका दैनिकीहरु भेटिन्छन्। सुनिताले त्यसैलाई पेन्टिङमा उतारेकी छन्।

मार्फा सिरिजमा मुस्ताङ्को मनोरम भूगोल छ। यो ठाउँमा निरन्तर हावा चल्छ। तर पनि मार्फामा सूर्यको उज्यालो र हावापानी अनुकुल परिवेश छ। सुनिता भन्छिन्, ‘मानिसले आफू अनुकल भूगोललाई बाँड्दो रहेछ।’

मानिसले आफू अनुकल भूगोल मात्रै होइन, आकाश पनि बाँड्दो रहेछ। सुनिताका पेन्टिङले यही कुरा बोल्छन्।

उचाइबाट हेर्दा मार्फाको भूगोललाई सुनिताले चित्रमा उतार्ने सोचिन्। बस्तीमा मानिसहरु लुगा धोएको, सुकाएको, भाँडा माझेको र घाम ताप्दै गफिएको दृष्यले उनलाई लोभ्याएको थियो। भन्छिन्, ‘गाइगोठ होस् या निज आवास सबै वातावरण अनुकुल बनाइएका छन्।’

कौसी सिरिज

काठमाडौंमा धमाधम घर बने। घरसंगै कौसी बने। र, कौसीहरुकै संसार बन्यो। सुनिता भन्छिन्, ‘सहरका घरहरु यस्ता छन्, जहाँ एक कौसीबाट अर्को कौसीमा जान मिल्छ। सामान साटासाट गर्न मिल्छ।’ उनको पेन्टिङ्बाटै प्रष्ट हुन्छ, पर्खालहरुले घेरिएको भएपनि ती कौसीहरु आकाश नजिक छन्। खुला र फराकिला छन्। कौसीको चहलपहलमा एउटा छुट्टै समुदायबनेको छ। सुनिताको पेन्टिङमा कौसीहरु व्यक्तिगत स्थल भएपनि खुलाहावा, पानी र घामसंग नजिक देखिन्छ।

काठमाडौंका बासिन्दाले आफ्नो आवश्यकता र परिवेश अनुसार कौसी निर्माण गरेको बताउँछिन् सुनिता। भन्छिन्, ‘आवश्यकताअनुसार घरको तल्ला थपिँदै गयो र तल्लासंगै मानिसको स्तर पनि।’ सुनिताको पेन्टिङमा काठमाडौंको यिनै कौसीहरु र त्यहाँबाट देखिएका बाटा, गाडी, पसल र गोदामहरुको चहलपहल देख्न सकिन्छ।

भूकम्प सिरिज

सुनिताले यो सिरिजमा ‘भूकम्पपछि मेरो भान्छा कोठा’ शीर्षकमा पेन्टिङ बनाएकी छन्। ‘समय र परिस्थितिअनुसार मानिसले आफ्नो वासस्थान सिर्जना गर्दोरहेछ। उनी भन्छिन्, एक छिनको भूकम्पले सबैको जनजीवन प्रभावित बनायो तर पनि मानिसले आफू अनुकुल परिवेश बसालिहाले।’

भूकम्पपछि खाना बनाउन तयार पारिएको भान्साकोठा र सुत्ने कोठाको अस्थायी संरचनाले त्यहीअनुकुल परिवेशको झल्को दिन्छ। सुनिता भन्छिन्, ‘भूकम्पले अग्ला पर्खालहरु भत्काइदियो तर मानिस मानिस बीचको पर्खाल भत्काएन।’ आफ्नो अनुकुलताअनुसार नयाँ बस्ती निर्माण भयो। मन मिल्ने व्यक्तिको एक झुण्ड बन्यो र फेरि परिस्थितिका पर्खालहरु छिन्भरमै तयार भए। यस्ता दृष्यले सुनिताको पेन्टिङलाई मार्मिक बनाएको छ।

गत्लाङ्ग सिरिज

रसुवाको गत्लाङ्ग गाउँ र त्यहाँको तामाङ वस्ती पनि सुनिताको पेन्टिङ्मा समेटिएको छ। भूकम्पबाट सबैभन्दा प्रभावित यो जिल्लाका गाउँघरको तस्विर मार्फत चित्र कोर्ने कोसिस भएको छ। घर सबै खाली छन्। मानिसहरु खेतमा त्रिपाल टाँगेर बसेका छन्। गत्लाङ्ग गाउँका घरहरुको दुरावस्थामात्र सुनिताको आर्टमा छ। तर त्यहाँका त्रिपालभित्र र बाहिरका दिनचर्याहरु जिवित छन्। ‘कन्फर्टजोन भन्दापनि बाहिर मानिस आफूलाई वातावरण अनुकुल बनाउन सक्दो रहेछ,’ सुनिता भन्छिन्, ‘मेरा पेन्टिङमा सोचेभन्दा विपरित यस्तै यस्तै घटना समावेश छन्।’

कीर्तिपुर सिरिज

कीर्तिपुरको आफ्नै पहिचान थियो। विश्वविद्यालय बनेपछि यसको स्वरुप फेरिँदै गयो। पहिले किसानहरुको बसोबास भएको यो ठाउँ अहिले विद्यार्थीहरुको गन्तव्य स्थल बनेको छ। भन्छिन्, ‘यहाँका घर, कोठा, गल्ली र बाटोघाटो विद्यार्थीले भरिएको छ। त्यही विद्यार्थी अट्ने ससाना कोठाको कथा छ पेन्टिङ्मा।’

यहाँ बस्ने विद्यार्थीहरु कोठालाई आफू अनुकुल सजाउँछन्। रंगिबिरंगी पर्दा लगाउँछन्। केही समय बस्छन्। र, एक दिन कोठा खाली पारेर घर फर्कन्छन्। तर त्यही सानो कोठाको भित्ताहरुबाट अनगिन्ति यादहरु लिएर जान्छन्। सुनिताको कीर्तिपुर पेन्टिङमा यस्तै सन्देश दिन खोजिएको छ।

वातावरण चाहे जस्तो सुकै होस्। मानिस त्यसलाई आफू अनुकुल बनाउन जान्दछ। परिस्थिति, समय र परिवेशपिच्छे आफूलाई त्यसमा समाहित गर्न पनि जान्दछ। कलाकार महर्जनको सिरिजका पेन्टिङ्मा मानिसका यही आचरण समेटिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.