भारतकाे भयानक वायुप्रदुषण : एक वर्षमै १० लाख भन्दा बढीको मृत्यु
नयाँदिल्ली : भारतमा वायु प्रदुषणका कारण सन् २०१७ मा मात्रै १० लाख भन्दा बढी मान्छेको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अर्थात् जम्मा मृत्युको १२ दशमलव ५ प्रतिशत मृत्यु घातक वायुका कारण भएको बुझिएको छ ।
ल्यान्सेट प्लानेटरी हेल्थ नामको एक अन्तर्राष्ट्रिय जर्नलले यही बिहीबार यस्तो तथ्य सहित रिपोर्ट प्रकाशन गरेको हो । साथै वायु प्रदुषणका कारण मृत्यु हुनेमध्ये ५१ प्रतिशत भन्दा बढी त ७० वर्षभन्दा कम उमेरका नै थिए ।
यसका लागि राजधानी नयाँदिल्ली अन्य क्षेत्रभन्दा खतरायुक्त रहेको बताइएको छ । जसकारण मान्छेको दैनिक स्वासप्रश्वासमा प्रत्यक्ष प्रभाव पार्ने गरेको बताइन्छ ।
रिपोर्टका अनुसार विश्वभर नै वायुप्रदुषणका कारण मृत्यु हुनेमा भारतको अवस्था नाजुक देखिएको छ । यसरी हेर्दा अपांगता र अन्य मृत्युभन्दा पनि धेरै वायुप्रदुषणकै कारण मृत्यु हुनेमध्ये भारतको अवस्था २६ प्रतिशत छ ।
‘बील एन्ड मेलिन्डा गेट्स फउन्डेशन’को पहलमा भारत र बाहिरी देशका प्रतिष्ठित वैज्ञानिकहरुले गरेको प्राज्ञिक अनुसन्धानका आधारमा यस्तो तथ्य पत्ता लागेको हो ।यस वर्षको सुरुमै विश्व स्वास्थ्य संगठनले विश्वकै अत्याधिक प्रदुषित १४ सहरको घरको रुपमा भारतलाई सूचीकृत गरेको थियो ।