चीन विरोधी गतिविधि हुन दिन्न : गृहमन्त्री थापा
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन्।
लामो समयदेखी नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीको चीन विरोधी गतिविधिलाई लक्षित गर्दै गृहमन्त्री थापाले नेपालको भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका हुन्।
कार्यकाल पूरा गरी चीन फर्कन लागेकी नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री थापाले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।
नेपालमा झण्डै १३ हजार तिब्वती शरणार्थीको रुपमा शिविर खडा गरेर बौद्ध, जावलाखेल, स्वयंभु, पोखरालगायतका स्थानमा बस्दै आएका छन्। चीन विरोधी गतिविधि गर्न सक्ने भन्दै गृहमन्त्रालयले उनीहरुमाथि कडा निगरानी गर्दै आएको छ। राजदूत होङ गृहमन्त्री थापालाई भेट्न शुक्रबार गृहमन्त्रालय पुगेकी थिइन्।
राजदूत होङले नेपालका सुरक्षा निकायलाई चीन सरकारले प्रदान गर्दै आएको भौतिक संरचना, उपकरण, तालिमलगायतका सहयोगलाई निरन्तरता दिइने बताइन्।
गृहमन्त्री थापासँगको भेटमा राजदूत होङले आफू स्वदेश फर्किएपछि पनि नेपालको विकाशका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको गृहमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।