रथीमा गिरी सिफारिस
काठमाडौ : नेपाली सेनाले रिक्त रथी पदको बढुवाका लागि उपरथी शरद कुमार गिरीलाइ सिफारिस गरेको छ। प्रधानसेनापति पुर्णचन्द्र थापा अध्यक्ष रहेको बढुवा समितिले शुक्रवार रथी पदमा पदोन्नतिका लागि उपरथी गिरीलाई सिफारिस गरेको हो।
सैनिक प्रवक्ता गोकुल भण्डारीले रथी पदमा बढुवाका लागि उपरथी गिरीको सिफारिस भएको वताए। सैनिक मुख्यालयले वरियतामा अघि रहेका उपरथीद्धय अनुज बहादुर बस्न्यात र देव सुवेदीलाई पाखा लगाउँदै गिरीलाई रथी पदमा पदोन्नतिका लागि सिफारिस गरेको हो। जंगीअड्डाले बस्न्यातलाइ अवकासको सुचना दिइसकेको छ।
उपरथी सुवेदी पनि रथी पदमा आफ्नो पदोन्नति नहुने संकेत पाएपछि विदामा बसेको स्रोतले वताएको छ। उपरथीद्धय बस्न्यात र सुवेदीलाई किन बढुवा नदिइएको हो भन्ने बारेमा सैनिक मुख्यालय मौन छ। नेपाली सेनाले सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा सरुवा बढुवा सम्वन्धी व्यवस्था भए बमोजिम रिक्त हुन आएको रथी पदमा पदोन्नतीका लागि उपरथी गिरीको नाम सिफारिस गरेको हो।
सैनिक सचिव सरोज प्रताप राणाद्धारा हस्ताक्षरित बढुवा सिफारिसमा भनिएको छ “सैनिक कमाण्ड तथा स्टाफ कलेजका नं १३०० उपरथी श्री शरद कुमार गिरीलाई रथी दर्जामा पदोन्नतिकालागि गरेको सिफारिस शुक्रवार प्रधानसेनापतिज्युबाट सदर भएकाले जानकारीका लागि यो १५ दिने सुचना प्रकाशित गरिएको छ।” बढुवाका लागि सिफारिस भएका उपरथी गिरी विरुद्ध १५ दिन भित्रमा कुनै उजुरी नपरे बढुवा प्रक्रिया अघि वढने छ।
कुनै उजरी नपरे पन्ध्र दिन पछि सैनिक मुख्यालयले रथी पदमा पदोन्नतिका गिरीको फाइल रक्षामन्त्रालयमा पठाउने छ। त्यस पछि रक्षामन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदको वैठकले उपरथी गिरीलाई रथी पदमा पदोन्नति गर्ने छ। उपरथी बस्न्यातले सोमबारबाट अनिवार्य अवकास पाउने छन।
बस्न्यातले आफ्नो बढुवा रोकेको भन्दै दुइसाता अघि प्रधानसेनापति विरुद्ध शैक्षिक प्रमाणपत्र सहित रक्षा मन्त्रालयमा निवेदन दिएका थिए। उनको उजुरी माथि रक्षा मन्त्रालयले समेत केही पहल कदमी नचाले पछि पछिल्लो समयमा आफ्नो बढुवा नहुनेमा बस्न्यात ढुक्क थिए। बस्न्यातको बढुवा नभए रथी पदमा आफ्नो पदोन्नति हुनेमा अर्का उपरथी सुवेदी समेत विश्वस्त देखिन्थे। तर,उपरथी सुवेदीको समेत रथी पदमा सिफारिस नभए पछि सैनिक मुख्यालय भित्र एक किसिमको कौतुहलता फैलिएको छ।
बस्न्यात र सुवेदी दुवै रथी पदका लागि अयोग्य सावित हुनुमा उनीहरुको प्रमाणपत्रमा देखिएको कैफियतले गर्दा हो वा अन्य केही कारण हो जंगी अड्डाले केही खुलाएको छैन।