विधान मस्यौदामाथि छलफल सकिँदै
काठमाडौ : नयाँ विधान मस्यौदामाथि छलफल सकिन लागेको कांग्रेसले बताएको छ। मंसिर १३ देखि पार्टीका केन्द्रीय सदस्यले केन्द्रीय समितिमा विधान मस्यौदामाथि धारणा राख्ने क्रम सुरु भएको थियो। शुक्रबार साँझसम्म ६५ केन्द्रीय सदस्यले सुझावसहितका धारणा पेस गरिसकेका छन्।
पार्टीका पदाधिकारीले शनिबार बस्ने बैठकमा विधान मस्यौदाबारे बोल्ने कार्यतालिका छ। मंसिर ९ मा बसेको केन्द्रीय समिति बैठकमा पार्टीका महामन्त्री तथा विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान मस्यौदा पेस गरेका थिए।
केन्द्रीय सदस्यले राखेको सुझाव समेटेर विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रूप दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। मस्यौदामा विशेषगरी केन्द्रीय समितिको आकार, पार्टीका पदाधिकारी संख्या, निर्वाचन पद्धति, सदस्यता वितरणलगायत मुद्दामा शीर्ष नेता विभाजित छन्। सभापति शेरबहादुर देउवा इतर समूहका नेताले पार्टी सभापतिलाई थप बलियो बनाउने गरी विधान बनाउन लागिएको भन्दै सामूहिक नेतृत्वको अवधारणा अघि सार्न दबाब दिएका छन्।
शुक्रबार साँझसम्म ६५ केन्द्रीय सदस्यले सुझावसहितका धारणा पेस गरिसकेका छन्।
महासमिति भेलाको दुईतिहाइले पार्टीको विधान पारित गराउनुपर्ने भएकाले शीर्ष तहमै सहमति गरेरै अन्तिम मस्यौदा बनाउने पक्षमा सभापति देउवा छन्। यसका लागि देउवा निकट रहेका महामन्त्री तथा समिति संयोजक खड्काको संयोजनमा अनौपचारिक संवादसमेत थालिएकोे कांग्रेस नेताहरू बताउँछन्। खड्काको संयोजनमा केही दिनयता सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच अनौपचारिक छलफल जारी छ। विधान मस्यौदालाई कसरी अन्तिम रूप दिने भन्नेमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताको भनाइ छ।
बैठकमा वरिष्ठ नेता पौडेल, नेता सिटौला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतले विधान मस्यौदामा देखिएको असन्तुष्टि सहमतिमै सुधार गर्न सुझाएका छन्। विधानको अन्तिम मस्यौदा सहमतिमै बन्ने प्रवक्ता शर्माको दाबी छ।