बिहानी वायुमा प्रदूषण बढी

बिहानी वायुमा प्रदूषण बढी

काठमाडौं : केही सातादेखि चिसो बढेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरण विभागको तथ्यांक छ। त्यसैले स्वास्थ्यका लागि मर्निङ वाक जोखिम हुने भएकाले त्यसबाट बच्न स्वास्थ्यकर्मीको सुझाव छ।

प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. डुण्डीराज पौडेलले बताए। प्रदूषित वायुलाई मास्कले समेत नछेक्ने भएकाले बिहानीपख कोठाभित्रै व्यायाम गर्नु प्रभावकारी हुने उनको सुझाव छ। प्रदूषित वायु मानिसको फोक्सो हुँदै रक्तनलीसम्म पुगेर क्यान्सरसम्मको रोग निम्त्याउने डा. पौडेलको भनाइ छ। २.५ पीएमको वायु प्रदूषणको दर हेर्दा बुधबार बिहान ८ देखि ९ बजे एक सय ५१ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ। तर पाँच गुणासम्म बढेपछि स्वास्थ्यकर्मीले सतर्कता अपनाउन सुझाएका हुन्।

आगो बाल्दा, सवारीसाधनबाट निस्किएको धूवाँ र सडकका ससाना धूलो नै वायु प्रदूषण वृद्धिको मुख्य कारण भएको वातावरण विभागको भनाइ छ। तापक्रम घट्दो अवस्थामा रहेकाले उपत्यकामा नयाँ वायुको चहलपहल नहुने र प्रदूषित वायु सतहमा बस्ने गर्दा बढी प्रदूषण हुने विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। खुला क्षेत्रमा आगो बाल्न नदिने, प्रदूषित सवारीसाधनलाई गुड्न प्रतिबन्ध लगाउने र सडकको धूलो व्यवस्थापन गर्नेतर्फ विभाग लागेको उनको भनाइ छ।

उपत्यकाको वायु २४ सै घण्टा प्रदूषित रहेको विभागको तथ्यांक छ। त्यसमा पनि बिहान ४ देखि १२ बजेसम्मको अवस्था उच्च पाइएको छ। बिहीबार बिहान १० देखि १२ बजेसम्म प्रदूषणको स्तर एक सय ४३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। विश्व स्वास्थ्य संगठनले २५ माइक्रोग्राम प्रतिघनमिटरसम्म मात्र स्वास्थ्यका लागि लाभदायक भनेको छ। तर उपत्यकालगायत मुख्य सहरको प्रदूषण स्वास्थ्यका दृष्टिले हानिकारक छ।

वायुप्रदूषण नियन्त्रणका लागि सरकारले पहल गर्न नसकेको वातावरणविद् भूषण तुलाधरको आरोप छ। प्रदूषित सवारी सञ्चालनमा रोक, विद्युतीय सवारी सञ्चालनमा पहल र धूवाँजन्य वस्तु नजलाउन चेतनामूलक अभियान नगरिएकाले प्रदूषण बढेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.