मोर्गनका मुद्दा
झन्डै पाँच दशक लामो फिल्मी करियर बोकेका चर्चित हलिउड स्टार मोर्गन फ्रिम्यान नेपाल आएका थिए। नेसनल जियोग्राफी च्यानलको एक सिरिज ‘स्टोरी अफ गड’को छायांकनका क्रममा उनले काठमाडौंका सांस्कृतिक सम्पदा भ्रमण गरे। सन् १९८० र सन् १९९० को सुरुआतमा रिलिज भएका दुई चलचित्र ‘ड्राइभिङ मिस डेसी’ र ‘शशांक रिडेम्पसन’ ले उनलाई चर्चाको पात्र बनायो।
मोर्गनले सन् २००४ मा फिल्म ‘मिलियन डलर बेबी’का लागि बेस्ट सपोर्टिङ एक्टरको लागि ओस्कार पुरस्कार जितेका थिए। यस बाहेक उनी चारवटा अन्य ओस्कारमा पनि मनोनयनमा परेका थिए। ओस्कार विजेताहरूका बारेमा बनाइएको वृत्तचित्र ‘द लङ वे होम’ र अर्को वृत्तचित्र ‘मार्च अफ द पेनगुइन्स’मा उनको स्वरको पनि धेरै प्रशंसा भएको थियो।
यी हलिउड कलाकार एवं निर्देशकले जति प्रशंसा पाए त्यति नै उनी ह्यासट्याग मिटू अभियानमा मुछिए। महिलामाथि यौन दुृर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कुरा सन् २०१५ को हो। मोर्गन, माइकल केन र अलान अर्किन अभिनीत फिल्म ‘गोइङ इन स्टायल’मा उत्पादन सहायकका रूपमा काम गर्ने एक महिलाले मोर्गनमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्। मोेर्गनले दैनिकजसो आफ्नो शरीरका विभिन्न भागमा छुने र आफ्नो रूपरंग र पोसाकका बारेमा अनावश्यक टिप्पणी गर्ने गरेका ती महिलाले सीएनएनलाई बताएकी छिन्।
एक पटक त मोर्गनले आफ्नो स्कर्ट उचाल्ने प्रयास गर्दै तिमीले भित्री वस्त्र लगाएकी छौ कि छैनौं भनेर हेर्न मोर्गनले प्रयास गरेका उनको आरोप छ। मोर्गनले उनको स्कर्ट उचाल्न लाग्दा उनी भाग्थिन्। उनी फेरि त्यसै गर्ने प्रयास गर्थे। यो क्रम जारी रहेपछि सेटमा रहेकी अर्की कलाकार अकिन रिसाउँदै मोर्गनलाई यसो नगर्न भनेकी थिइन्।
सन् २०१२ मा बनेको फिल्म ‘नाउ यु सि मी’को सेटमा पनि प्रडक्सन स्टाफमध्ये एकले आफू र अरू महिला सहायकलाई मोर्गनले शरीरको बारेमा अनावश्यक टिप्पणी गरेर यौन दुृर्व्यवहार गरेको आरोप लगाएकी छन्। मोर्गन सुटिङ सेटमा सधैं आउँदैनथे। उनी आउँदा टिमिक्क परेका लुगा र छाती बढी खोलिएको पहिरन नलगाउने गरेको ती महिलाले बताइन्।
केही महिनाअगाडि १६ जना महिलाले मोर्गनमाथि दुव्र्यवहारको आरोप लगाएका थिए। जसमध्ये आठ जनाले मोर्गनले आफूमाथि यौन हिंसा र अनुपयुक्त व्यवहार गरेको बताएका थिए। त्यसैगरी अन्य आठले भने मोर्गनले गरेको दुव्र्यवहारको आफू साक्षी रहेको बताएका थिए। मोर्गनले फिल्मको सेटमा, फिल्मको प्रचारप्रसारको क्रममा र उनको प्रडक्सन कम्पनी रिभिलेसन्स इन्टरटेनमेन्टमा पनि केही महिलामाथि दुृर्व्यवहार गरेका आरोप उनीमाथि लागेको थियो।
कार्यक्रम उत्पादनमा मोर्गनसँग विगत १० वर्षदेखि सँगै काम गर्दै आएका चार महिलाले फिल्मको सेटमा उनले गर्ने व्यवहारले आफूलाई काम गर्न असहज हुने गरेको बताए। तीमध्ये तीन जनाले मोर्गनले आफ्ना लुगा र शरीरको बारेमा नराम्रो टिप्पणी गरेको आरोप लगाए। तर आफ्नो जागिर जाने डरले मोर्गन विरुद्ध केही बोल्न नसकेको ती महिलाले बताएका थिए।
उनीमाथि लागेका आरोपका बारेमा प्रतिक्रिया लिन लागि सीएनएनले उनका प्रवक्तालाई पटकपटक इमेल गर्दा पनि त्यसको उत्तर आएन। तर मोर्गनले महिलामाथि गरेका यौन दुव्र्यवहारका सबै घटनालाई समेटेर तयार पारिएको लेख सीएनएनमा प्रकाशित भयो, मोर्गनले एक विज्ञप्ति नै जारी गरे। विज्ञप्तिमा उनले आफूले जानीजानी कुनै पनि महिलामाथि त्यस्तो दुृर्व्यवहार नगरेको भन्दै माफीसमेत मागेका थिए।