सार्कलाई गति दिनुपर्छ

सार्कलाई गति दिनुपर्छ

काठमाडौं : काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले सार्क चार्टर डे मनाएको छ। सार्कलाई गति दिन यस क्षेत्रका नेताहरूले आफू प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले सार्क स्थापनाको ३४ औं चार्टर डेको अवसरमा त्यस्तो धारणा व्यक्त गरेका हुन्। सबैजसो सदस्य मुलुकले यस क्षेत्रको विकास र सहकार्यमा सार्क अपरिहार्य रहेको भन्दै कार्यावन्यनमा जोड दिए।

सबै सदस्य मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री तहबाट यस्तो सन्देश आएको हो। सबैले सार्कलाई गति दिइनुपर्ने र नियमित क्यालेन्डर बिगार्न नहुनेमा ध्यानाकर्षण गराए। तर, सहभागीहरूले स्थागित शिखर सम्मेलनप्रति भने स्पष्ट पारेनन्। सार्कका सबै सदस्य राष्ट्रबाट यस्तो सन्देश आएको हो।

पाकिस्तानमा हुने भनिएको १९ औं शिखर सम्मेलन स्थगित गर्न भारतको पक्षमा बोलेका मुलुक र भारतले पनि सम्मेलन जतिसक्दो छिटो हुनुपर्नेमा जोड दिए। सार्कको अध्यक्ष नेपालले पनि जतिसक्दो चाँडो सम्मेलन गरेर अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको बताएको छ। साथै नेपालले यस क्षेत्रको विकासमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी ओलीले सार्कको विकल्प नभएको भन्दै यसलाई गतिशील बनाउन सहकार्य अपरिहार्य रहेको बताए। ‘शान्त, समृद्ध र खुसी दक्षिण एसियाली नागरिक नै हाम्रो चाहना हो। यसलाई गतिदिन आवश्यक छ’, ओलीले आफ्नो सन्देशमा भनेका छन्। सबै जुटेर यस क्षेत्रको अपार प्राकृतिक स्रोतको उपयोग गरी विकास गर्नुपर्ने उनले बताए।

यस क्षेत्रको विकासमा शान्ति र सुरक्षाको विषय उठाउँदै सहकार्यमा जोड दिन भारतले आग्रह गरेको छ। समृद्ध र शान्त यस क्षेत्रमा सहकार्य अपरिहार्य रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशमा उल्लेख छ। सार्कको विकासमा भारत सधैं सकारात्मक रहेको पनि उनले बताए। यस क्षेत्रमा विकासको बाधक भनेकै आतंकवाद रहेको भन्दै यसलाई निर्मुल पार्नसमेत सहकार्यको खाँचो रहेको उनको अभिव्यक्ति थियो। सबै सदस्य मुलुक इमानदार भई अघि बढे सार्कको भविष्य उज्जवल रहेको उनको धारणा छ। सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा तय भएको शिखर सम्मेलन भारतकै कारण रद्द भएको थियो।

पाकिस्तानले पनि सार्कलाई अघि बढाउन चासो व्यक्त गरको छ। स्थापनाको भावनाअनुरूप यसलाई अघि बढाउन उसले सुझाएको छ। यसका लागि सबै सदस्य मुलुक उत्तिकै इमानदार रहनुपर्नेमा पाकिस्तानले जोड दिएको छ। दुईपक्षीय समस्याको कारण सार्कलाई बन्दी बनाउन नहुने बताउँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्कका कार्य अघि बढाउन सुझाए। श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेशले पनि यही प्रकारको सन्देश दिएका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अन्य मन्त्री तथा उच्चअधिकारीसहित सार्क चार्टर डेमा सहभागी थिए। महासचिव अम्जद हुसेन बी सियालले सार्कको सहकार्यमा सबैको जोड रहनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.