निर्मला हत्या प्रकरण, ‘नव युवराज जोगाउँदै छ सरकार’
भक्तपुर : नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्मला पन्त बलात्कार-हत्यामा सरकार ‘नव युवराज’लाई जोगाउन लागिपरेको दाबी गरेका छन्।
७० औं विश्व मानव अधिकार दिवसको अवसरमा संगठनको भक्तपुर शाखाले यहाँ गरेको ‘न्याय, सुरक्षा र मानव अधिकार’ विषयक अन्तरक्रियामा अध्यक्ष अर्यालले प्रहरीले बनाएका नयाँ अभियुक्त मोहरामात्रै भएको दाबी गरे।
‘गायक प्रवीण गुरुङको दुर्घटनामा तात्कालीन युवराज पारसलाई जोगाउन नक्कली चालक अघि सारिएजस्तै अहिले नव युवराजलाई जोगाउन निर्मला पन्त बलात्कार र हत्या काण्डमा सरकारले अर्को नक्कली अभियुक्त अघि सारेको छ’, उनले भने, ‘सरकारी अंग आफै प्रमाण मेटाउँदै हिँड्ने अहिले नक्कली अभियुक्त अघि सारेर निर्मलाले न्याय पाउँदैन।’
अध्यक्ष अर्यालले आफूहरुले कञ्चनपुरसम्म पुगेर निर्मला पन्त बलात्कार तथा हत्या काण्डको स्थलगत निरीक्षण र अध्ययन गरेको जानकारी दिए।
निलम्बन गरिएका प्रहरी उपरीक्षक डिल्लीराज विष्टमाथि फौजदारी मुद्धा चलाएर कारबाही अघि नबढाइएसम्म निर्मलाका बलात्कारी र हत्यारा पत्ता नलाग्ने उनले स्पष्ट पारे।
संगठनका महासचिव महामुनिश्वर आचार्यले सुरक्षाकर्मीबीच नै असुरक्षा महसुस गर्नुपर्ने र न्याय माग्न अदालत जानुअघि न्यायाधीशहरुले न्याय दिँदैन कि भन्ने आशंका गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले करिब ७५ हजार प्रहरीमध्ये ०.०१ प्रतिशत प्रहरीको त्रुटि, कमजोरीलाई सिंगो प्रहरी संगठनमाथि आरोपित गर्न नमिल्ने बताए।
उनले भक्तपुरमा चोरी र सडक दुर्घटना बढी भए पनि त्यसलाई निराकरण गर्न समुदायलाई प्राथमिकता दिएर प्रहरीले काम गरिरहेको सुनाए।
कार्यक्रममा नेपाल मानव अधिकार संगठन भक्तपुरका सल्लाहकारहरु श्यामसुन्दर धौभडेल, विश्वमोहन जोशी, हरिराम लवजू, शाखा सभापति रामकृष्ण मानन्धर र उपसभापति पशुपतिभक्त रायले मानव अधिकारको पहिलो सर्त न्याय र सुरक्षा भएको धारणा राखे।