कांग्रेसको विधान-मस्यौदाबारे छलफल सकियो, पदाधिकारी नै विभाजित
काठमाडौं : १० दिनदेखि पार्टीको विधान मस्यौदामाथि भइरहेको कांग्रेसको छलफल शनिबार सकिएको छ। पार्टीका पदाधिकारीले धारणा राखेपछि छलफल सकिएको हो। शुक्रबारसम्म केन्द्रीय सदस्यहरूले विधान-मस्यौदामाथि धारणा राखेका र शनिबार कांग्रेस पदाधिकारीहरूले त्यसबारे बोलेका थिए।
केन्द्रीय समितिमा विधानमाथि धारणा राख्दै पदाधिकारीहरूले पनि सदस्यहरू झैं फरक-फरक धारणा राखे। बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले बोलेका थिए।
सभापति देउवाले पार्टी विधानजस्तो विषयमा पक्ष÷विपक्ष भई नसोच्न सबैलाई आग्रह गरेका थिए। सबैको सहमतिमै विधान बनाउन खोजिएको समेत सभापतिले बताए। उनले बैठकमा भने, ‘मैले नै सहमतिमै गठन गरेको हुँ, सहमतिमै बन्छ।’ केन्द्रीय तहमा देखिएको गुटबन्दीको घुमाउरो ढंगले विरोध गर्दै देउवाले पार्टी शीर्ष तहमा एकताको खाँचो रहेको बताए।
मंसिर १३ गतेदेखि विधान-मस्यौदामाथि केन्द्रित बैठकमा पदाधिकारीहरू पनि केन्द्रीय सदस्यझैं दुई धारमा बाँडिएका थिए। वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला र कोषाध्यक्ष यादवले विधानमा सभापतिलाई बलियो बनाउनुभन्दा पार्टीमा सामूहिक भावना जगाउनुपर्ने बताएका थिए। उनीहरूले सदस्यता वितरण सहज हुनुपर्नेलगायत पक्षमा समेत बोलेका थिए।
उपसभापति निधि र सहमहामन्त्री महतले भने सभापति बलियो बनाउनेभन्दा काम गर्न सहज वातावरण बनाउनेतिर विधान बनाइनुपर्नेमा जोड दिएका थिए। पदाधिकारी संख्याबारे छलफल र सल्लाह गरेर अघि बढ्न पार्टी नेतृत्वलाई उनीहरूले सुझाए।
पार्टी नेतृत्वप्रतिको कार्यशैलीप्रति रुष्ट रहँदै आएका वरिष्ठ नेता पौडेलले शनिबारको बैठकमा पनि आलोचना गरेका थिए। निर्वाचनपश्चात् पार्टीमा हुनुपर्ने सामान्य काम पनि नभएको र पार्टीलाई तल्लो तहसम्म चलयामान बनाउन नसकेको अरोप उनले लगाएका थिए। पार्टी सभापति शक्तिशाली भएर केही पनि नहुने उनले तर्क गरे। पार्टीको नयाँ विधानले केन्द्रसँगै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सामूहिकताको भावना जगाउनुपर्नेमा पौडेलले जोड दिए।
महामन्त्री कोइरालाले पार्टी विधान मस्यौदामा सबै शीर्ष नेताबीच सहमति आवश्यक रहेको बताए। त्यसका लागि शीर्ष तहमै छलफल गर्नसमेत उनले माग गरे। सार्वजनिक रूपमै पार्टी विधानमा सभापतिलाई बलियो बनाउन नहुने धारणा राखेका कोइरालाले पुनः उही कुरा दोह्याएका थिए।
गच्छदारसँगको एकीकरण मिलाउने समितिलाई पूर्णता
विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमसँग भएको एकीकरणताकाको सहमति कार्यान्वयन गर्न उपसभापति निधिको नेतृत्वको समितिले पूर्णता पाएको छ। शुक्रबारको बैठकले उपसभापति निधिको संयोकत्वमा गच्छदारसहित महेश आचार्य र दीपक गरीलाई मनोनीत गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाए। यो समितिले फोरम लोकतान्त्रिकसँगको एकता प्रक्रिया केन्द्रदेखि स्थानीय तहसम्म मिलान गर्नेछ। बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ।