जहाँ राज्य छैन

जहाँ राज्य छैन

वीरगन्ज : गाउँमा एउटै पसल छैन। स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ। यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य छैन।

सिकारीवास पर्साको ठोरी गाँउपालिका–३ मा पर्छ। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको गोरेटो पार गरेपछि पुगिन्छ सिकारीवास। यो गाउँ अहिले खोरिया फाँडेर बसाइएको होइन। ठोरी गाउँपालिकाकै पुरानो बस्ती सिकारीवास डेढ सय वर्ष पहिले बसाइएको हो। पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ यो बस्ती। यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, पिउने पानी, सडकजस्ता राज्यबाट पाउनुपर्ने सबै सुविधाबाट वञ्चित छन्।

शुक्रबार दिउँसो सुदीपबहादुर बस्नेत घरमै भेटिए। ७० वर्षे बस्नेतलाई नातिनातिनालाई स्कुल नपठाई घरमै राख्नुपरेको चिन्ताले सताएको छ। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, हामी सिटामोल लिन पनि तीन घण्टा जंगलको बाटो हिँड्नुपर्छ,’ उनले भने, ‘गाँउमा एउटा धारा पनि छैन। खोलाकै धमिलो पानी खान्छौं। नातिनातिना स्कुल जान पाउँदैनन्। यो सबै हेर्दा त हामी यो जुगको मान्छे होइनौंजस्तो लाग्छ।’

बस्नेतका अनुसार गाउँमा दुई दशकअघिसम्म झण्डै एक सय घरधुरी थिए। अहिले ४०/४२ घर मात्र बाँकी छन्। राज्यले त्यहाँका बासिन्दालाई कहिल्यै सहारा दिएन। आधारभूत सेवा सुविधाबिनाको कष्टकर जीवन जिउन गाह्रो हुँदै गयो। त्यसैले गाउँ छोड्ने क्रम बढिरहेको छ।

गाउँमा सबैभन्दा ठूलो अभाव स्वास्थ्य सेवाको छ। निजी क्लिनिक वा औषधि पसल समेत छैन। कसैलाई सामान्य ज्वरो आए पनि सिटामोल लिन सात किलोमिटर जंगलको बाटो छिचोलेर ब्रम्हनगर वा विजयबस्ती पुग्नुपर्छ। ब्रम्हनगरदेखि सिकारीवाससम्म एम्बुलेन्स समेत पुग्दैन। किनकि सडक बनेकै छैन। ‘गाँउमा कोही सिकिस्त भयो भने तीन/चार जना मिलेर ढोड्सन (कपडा र बाँसको झोलुंगे) मा बोकेर सात किलोमिटर परको विजयबस्ती हेल्थपोस्टमा पुर्याउछौँ,’ स्थानीय ब्रदी चौधरीले भने। सात किलोमिटर बाटोमा स्थानीय पैदल, साइकल वा मोटरसाइकलमा आउजाउ गर्छन्।

सिकारीबासका स्थानीयलाई एउटा मात्रै समस्याले सताएको छैन। हुलाकी सडकबाट गाउँसम्म पुग्ने बाटोमा हिँड्दा ज्यान जोखिममा राख्नुपर्छ। हात्ती, बँदेल, भालु, घोडगदाहा जताततै भेटिन्छन्। गाँउमा किराना पसल छैन। चाहिने सामान गाउँलेले डोको वा बोरामा बोक्ने गरेको स्थानीय युवा सुजीत बस्नेतले बताए।

गाउँभरिमा धारा वा चापाकल छैन। गाउँबासी वर्षौंदेखि खोलाको पानी पिउँछन्। नुहाउन, लुगा धुन, भाँडा माझ्न, गाईवस्तुलाई खुवाउन उनीहरू छेउको चिलमढेरा खोलामा निर्भर छन्। हिउँदमा त खोलाको पानी अलि सङ्लो हुन्छ। तर बर्खामा बाढी आएको बेला पानीको मुहान खोज्न मुस्किल पर्छ। ‘पानी खोज्न जंगलभित्र तीन÷चार किलोमिटर पर पुग्छौं,’ स्थानीय शारदादेवी थारु भन्छिन्, ‘लगातार पानी प¥यो भने बाढी आउँछ। खोला तर्न सकिँदैन। त्यसैले बाढीकै पानी पिउँछौं।’

सिकारीवासमा राज्यको अनुहार देखिने भनेको दुई कोठे स्कुल भवनमा मात्रै हो। त्यो पनि जीर्ण भइसकेको छ। पढाइ पाँच कक्षासम्म हुन्छ। त्यसपछि पढ्न अर्को गाउँ जानुपर्छ। त्यसैले अधिकांश बालबालिकाको शिक्षाको सीमा नै पाँच कक्षा भएको छ। त्यसपछि उनीहरू पढाइ छोड्छन्। ‘जनावरको डरले अभिभावक बच्चालाई टाढाको स्कुल पठाउन मान्दैनन्,’ सुजीत बस्नेतले भने। गाँउमा मोबाइलको नेटवर्क बेलाबेला देखिन्छ। तर चाहिएको बेला काम गर्दैन। फोन गर्न पनि उनीहरू ब्रम्हनगर नै पुग्छन्।

अन्य असुविधाले गाउँवासीको जीवन कठिन बनेको छ। तर जंगली जनावरका आक्रमणबाट त ज्यानै गुमाइरहेका छन्। जन्तुले दिउँसै गाउँमा आतंक मच्चाउने गरेको स्थानीय बताउँछन्। सिकारीवासमा खेतीयोग्य जमिन एक सय ६० बिघा छ। तर जनावरको उपद्रोका कारण आधा जग्गा बाँझै रहने किसान ओमप्रकाश महतोले बताए।

यहाँको जमिन उर्वर छ। किसान धान, मकै, गहुँ, तोरी, तरकारी, आदि फलाउँछन्। ‘तर बिहानबेलुकै खेतमा हात्ती, बँदेल, घोडगदाहा पसेर बाली सोत्तर पारिदिन्छन्। आधा जमिन हरेक साल बाँझै राख्नुपर्ने बाध्यता छ,’ महतो भन्छन्। ‘गाउँमा हरेक साल हात्तीले एक जना मान्छे मारेकै हुन्छ,’ उनी भन्छन्, ‘यो वर्ष त हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ। गाँउमा कति बेला हात्ती पस्ने हो भन्ने त्रास मनमा भइरहन्छ।’

मानिसहरू बसाइँ सर्ने क्रम बढेपछि गाउँ सुनसान बन्दै गएको सुदीपबहादुर बस्नेत बताउँछन्। ‘मैले देख्दादेख्दै मान्छेहरू थातथलो छोडेर, जग्गा अधियाँ दिएर हिँडिरहेका छन्,’ उनले सुनाए। उनका अनुसार उबेला राजा–महाराजाहरू शिकार खेल्न आउँदा बास बस्ने गरेकाले यो ठाउँको नाम सिकारीवास रहेको हो। ‘यो अहिले पनि सिकार खेल्ने ठाउँजस्तै छ। यहाँ मानिसभन्दा जन्तु बढी छन् यहाँ।’

जनप्रतिनिधि तथा दलका नेताले सिकारीवासलाई उपेक्षा गरेको स्थानीयको गुनासो छ। ‘हरेक चुनावमा सबै दलका उम्मेदवार भोट माग्न दैलोमै आउँछन्। सबै कुरा गरिदिन्छु भन्छन्। तर चुनाव जितेपछि फेरि मुख देखाउँदैनन्,’ सुजित बस्नेत भन्छन्, ‘यिनले हामीलाई मतदाताको रूपमा मात्र उपभोग गरिरहेका छन्।’

डेढ सय वर्ष पुरानो गाउँका बासिन्दा खोलाको पानी पिउँछन्, सिटामोल लिन सात किलोमिटर हिँड्छन्।

गाउँपालिका अध्यक्षमा पदमलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले विकासको आश्वासन दिएपछि पूरै गाउँले एकमत भएर उनलाई जिताए। ‘उनी चिनेकै नेता थिए। भरोसा गरेर सबैले भोट दियौं,’ बद्री चौधरीले भने, ‘तर जितेर गएपछि एकपटक पनि गाँउमा आएनन्। उनी पनि अरु नेताजस्तै बने।’

गाउँपालिका अध्यक्ष श्रेष्ठ चाहिँ सिकारीवासलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने योजना रहेको बताउँछन्। ठोरी गाँउपालिकाको इच्छानगर, ओडार, सिकारीवास हुँदै पानीटंकी जोड्ने जंगल सफारीको रुट बनाउने योजना आफूहरूको रहेको उनको दाबी छ। ‘विशेष कारणवश पहिलो आर्थिक वर्षमा यो काम अघि बढ्न सकेन। यस आर्थिक वर्ष काम सुरु गर्ने योजना छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.