धार्मिक पर्यटन बढाउने घोषणा

काठमाडौं : धार्मिक पर्यटन बढाउने प्रतिबद्धतासहित राष्ट्रिय बौद्ध सम्मेलन २०७५ आइतबार काठमाडौंमा समापन भएको छ। सरकारको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ, बज्रयान बौद्ध महासंघले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने घोषणा गरे।
पर्यटन प्रवद्र्धन धर्मबाट समेत गर्न सकिने भन्दै संसारभर भ्रमण वर्षको प्रचार गरिने बौद्ध महासंघ अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाले बताए। राष्ट्रिय बौद्ध सम्मेलन १२ बुँदे घोषणापत्र जारी गरेको छ। कार्यक्रममा आयोजक चार वटै संस्थाले कार्यपत्र प्रस्तुत गरी छलफल गरेको थियो। बौद्ध दर्शन प्रवद्र्धन, सम्पदा संरक्षण, गुम्बा, विहार, वहा, वही, छ्योर्तेन, गुफा तथा बौद्ध तीर्थस्थल दर्ता, नवीकरणलगायत यससँग सम्बपन्धित संस्थालाई कर छुट दिनुपर्ने माग गरिएको छ ।
विकासको नाममा बौद्ध सम्पदा भत्काउन नहुने, बौद्ध शिक्षा, शील, समाधि अध्ययन गर्न अन्तर्राष्ट्रिय स्तरको अभिलेखालय स्थापना गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। त्यस्तै बौद्ध शिक्षालाई आधारभूतस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने माग गरिएको छ। वर्षैपिच्छे प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सम्मेलन आयोजना गरिनुपर्ने पनि घोषणापत्रमा माग गरिएको छ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति मूल आयोजक रहेको कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघ, बौद्ध महासंघ, बज्रयान बौद्ध महासंघ सहआयोजक थिए। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले धार्मिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए।
प्रतिक्रिया दिनुहोस !
