अन्तरप्रदेश परिषद् बैठक सकियो, गृहमन्त्रीको संयोजकत्वमा कार्यदल गठन
काठमाडौं : अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकको निष्कर्षलाई कार्यान्वयनका लागि ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलमा अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत सदस्य रहेका छन् ।
कार्यदलले सात दिनमै प्रतिवेदन पेश गरिसक्नुपर्ने भन्दै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । कार्यदलको सदस्य सचिवको रुपमा मुख्यसचिव लोकदर्शन रेग्मी रहने छन् ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले भने, ‘सबै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या र समाधान गर्न चाहेका कुरा प्रष्टसँग राख्नुभयो । पहिलो बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ ।’
मन्त्री बास्कोटाका अनुसार नवगठित कार्यदलले आफ्नो प्रतिवेदन आगामी पुस ३ गते १ बजे बुझाइसक्नुपर्ने छ ।