निर्मला प्रकरणमा दोषी पाइए मेरो बर्दी खोलिदिनू : आईजीपी खनाल
काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफू दोषी पाइए बर्दी खोल्न तयार रहेको बताएका छन् ।
सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुको जबाफ दिँदै आईजीपी खनालले यो प्रकरणमा आफूले कसैलाई जोगाउनेतर्फ नलागेको पनि बताएका छन् ।
‘निर्मला प्रकरणको अनुसन्धान गम्भीररुपमा अघि बढिरहेको छ, यसमा लापरबाही गर्ने प्रहरीलाई बर्खास्त पनि गरिसकेका छौँ’, खनालले सांसदहरुको प्रश्नको जबाफ दिँदै भने, ‘निर्मलाका हत्यारा पत्ता लगाउने क्रममा प्रहरीमाथि कुनै किसिमको राजनीतिक या अन्य दबाब परेको छैन, हामी चाँडै अपराधीसम्म पुग्छौँ ।’
आईजीपी खनालले नेपाल प्रहरीले अपराधका घटना अनुसन्धानमा ९७.५ प्रतिशतसम्म सफलता पाएको उदाहरण सुनाउँदै निर्मला प्रकरणमा आफूले कसैलाई जोगाउन नखोजेको पनि उल्लेख गरे ।
‘निर्मला प्रकरणको अनुसन्धानमा समय लागेकै हो, यसमा प्रहरीबाट केही कमजोरी पनि भएका छन्’, उनले भने, ‘तर प्रहरी कसैलाई जोगाउने नियतका साथ काम गरेको छैन, यसमा मैले कसैलाई बचाउन लागेको या ढाकछोप गरेको पाइएमै संसदमै लगेर मेरो बर्दी खोलिदिनुस् ।’
दिगो विकास समितिका सदस्य सांसदहरुले नेपाल प्रहरीको विगतको इतिहास धेरै उत्कृष्ट रहे पनि निर्मला प्रकरणले धमिलिएको भन्दै आईजीपी र नेपाल प्रहरीको अहिलेको भूमिकाको चर्को आलोचना गरे ।
सांसदहरुले देशका विभिन्न भागमा भइरहेका हत्या, बलात्कार र हिंसाका घटनालाई लिएर ‘घेरेपछि’ आईजीपी खनालले स्पष्टिकरण दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानको दायरा पनि साँघुरो भएको जिकिर गरे ।
‘अनुसन्धानको दायरा साँघुरो भएको छ, हामीले केही व्यक्तिलाई अहिले पनि हिरासतमा लिएर अनुसन्धान जारी राखेका छौँ’, खनालले अगाडि थपे, ‘तर धेरै कुरामा हाम्रो हात बाँधिएको अवस्था छ । हामीले कम्तीमा दबाबमुक्त वातावरणमा अनुन्सन्धान गर्न पाउनुपर्छ ।’
साउन १० गते घरबाट निस्केकी कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त त्यसको भोलीपल्ट गाउँकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।
यो प्रकरणमा प्रहरीबाटै चरम लापरबाही हुँदा अपराधी पत्ता लाग्न लामो समय लागेको तथा शक्तिशाली व्यक्तिको संलग्ना रहेको चर्चा चलिरहेका बेला समितिले आईजीपी खनाललाई बोलाएको हो ।