प्रजिअको अभियानले सङ्लिदैँ तिला, छङछङ बग्न थाल्यो

प्रजिअको अभियानले सङ्लिदैँ तिला, छङछङ बग्न थाल्यो

बेंसीशहर : लमजुङ सदरमुकाम बेसीशहर हुँदै भई बग्छ तिला नदी । लुकीछिपी मिसाइएका ढल, जथाभावी फालिने फोहोर र अतिक्रमणले दुई दशकदेखि यसको स्वरूप बिग्रिएको थियो । तर, आजभोलि यसको रूप फेरिँदै गएको छ, सङ्लिएर छङछङ बज्दै बग्न थालेको छ ।

डुङडुङ गनाउँदै हिलाम्मे लेदोसहित बग्ने तिलाको रूप एकाएक फेरिएको होइन । लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चलाएको सरसफाइ अभियानले जब मूर्त रूप लियो, बेसीशहर बजारसँगै तिला नदीको रूप पनि फेरियो । 

जनमानसमा झिँगे खोलाले चिनिने तिला नदी वरपर सिस्नो र काँडाको झ्याङ नै झ्याङ थियो । खोलामा पानी होइन हिलो बग्थ्यो । 'बजारको बिचमा बग्ने नदी गनाउँदा र कुरूप देखिँदा पनि कसैलाई चिन्ता नै नभएजस्तो लाग्यो', प्रजिअ ढकालले भने, 'जिल्ला आउनासाथ सफाइ अभियान चलाएँ, अहिले नदीको रूप नै फेरियो ।' 

बेसीशहर नगरपालिका-७ त्रिवेणीबाट बग्ने तिलानदी वडा नं. ८ हुँदै मर्स्याङ्दीमा मिसिन्छ । नदी सफा गर्ने प्रजिअको अभियानलाई स्थानीयले पनि साथ दिए । कर्मचारी, सेना, प्रहरी, पत्रकार, शिक्षक सबै मिसिए । 

'सिडिओको अभियान निकै सकारात्मक छ । यो अभियानले बेसीशहर बजार र तिला नदी सफा भएको छ', बेसीशहर खाने पानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले भने, 'अब यो जागरणलाई स्थानीयले छोड्न हुन्न, निरन्तरता दिनुपर्छ ।' 

ढकाल आफैँ हिलो खोलामा पस्थे र फोहोर उठाउन थाल्थे, उनलाई साथ दिन जानेहरू पनि हौसिएर सफाइमा जुट्थे । प्रजिअको सरसफाइ अभियानलाई सांसद, नेता, स्थानीय जनप्रतिनिधिले पनि साथ र हौसला दिने गरेका छन् । 

प्रतिनिधि सभा सदस्य एवं नेकपाका नेता देवप्रसाद गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेशका सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी, मधु अधिकारी, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अयाललगायतले पनि अभियानमा साथ दिँदै हौसला बढाउने गरेका छन् । प्रजिअ ढकालले यसअघि सोलु र पर्वतमा पनि सरसफाइ अभियान चलाएका थिए ।

'सरसफाइ अभियानले १० औँ हप्ता पुरा गरिसक्यो', प्रजिअ ढकालले भने, 'अब केही समयपछि स्थानीयले नै निरन्तरता दिन्छन् ।' बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेसीशहरलाई सफा, सुन्दर र स्वच्छ बनाउन सरसरसफाई अभियानलाई निरन्तरता दिइने बताए । 'हामी फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न खोज्दछौँ', अर्यालले भने, 'सड्ने फोहोरबाट ऊर्जा निकाल्ने र नसड्ने फोहोरलाई पुर्नप्रयोगमा लैजाने तयारी गरिरहेका छौँ ।' 

यसअघि पनि यस्ता अभियान नचलेका भने होइनन । अभियान चल्दासम्म जागरुक हुने अभियान चलाउने नहुँदा निस्कृय हुने स्थानीयको बानीमा सुधार आउनुपर्ने सरोकारवाला बताउँछन् । 'स्थानीय जागिराखे सफा भइराख्छ, उनीहरू सुस्ताए भोलिका दिनमा पुरानै अवस्था फर्किन्छ', प्रहरी नायव उपरिक्षक यादव ढकाल भन्छन्, 'हामी त आउँछौँ जान्छौँ, यहीँ रहनेहरू जागरुक भैरहनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.