देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष

देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष

मुगु : कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ ।

गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष ‘कुल देउता रिसाउने’ भन्दै यस्तो गर्न तयार नभएका हुन् । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको बताउँछन् ।

त्यसो त गाँउपालिकाका वडा नम्बर १ देखि ८ सम्मै लगभग सबै लामा जनजाति बस्तीका गाँउमा बस्ने महिला या पुरुष कसैले स्थायी बन्ध्याकरण गरेका छैनन् ।

स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार स्थायी बन्ध्याकरणका लागि महिला पनि आएको तथ्यांक नै छैन ।

अस्थायी साधन प्रयोगमा महिला अगाडि
महिलाहरुले भने अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको यहाँका स्वास्थ्यकर्मी बताउँछन् । मुगुम कार्मारोङ गाँउपालिका स्वास्थ्य शाखाका गुरु छोइटल लामाका अनुसार महिलाहरु अस्थायी साधन प्रयोग गर्छन् ।

‘अस्थायी साधन पनि प्रयोग गर्नु हुँदैन भन्ने अन्धविश्वास अझै छ यहाँ,’ पुलु स्वास्थ्य चौकीका ईन्चार्ज सर्पराज भाम बताउँछन्, ‘महिलाका लागि अनेकौँ परिवार नियोजनका साधन भए पनि यहाँका महिलाहरु डिपो सुई मात्रै प्रयोग गर्छन् ।’

‘पुरुषहरुले घरबाहिर गएर व्यापार गर्नु पर्र्ने र वर्षभरी परिवार पाल्न टाढा टाढाबाट भारी बोकेर खाद्य र लत्ताकपडा ल्याउनु पर्छ । घरको सबै जिम्मेवारी खेतीपाती समेत लोग्ने मान्छेको काँधमा हुन्छ,’ मुगुम कार्मारोङ गाँउपालिका–८ माग्री गाँउकी स्वास्थ्य स्वयंसेविका छिरिङ छेजोम लामा भन्छिन्, ‘यसैले पनि कमजोर हुने भएकाले महिलाले मात्रै अस्थायी परिवार नियोजनका साधन डिपो सुई प्रयोग गर्ने गरेका हुन् ।’

माग्री गाँउमै रहेको स्वास्थ्य चौकीका निमित्त प्रमुख गोईली खत्री भने गाँउपालिका क्षेत्रका लामा जातिका पुरुष कसैले स्थायी बन्ध्याकरण गरेको हालसम्म कुनै जानकारी नै नभएको बताउँछिन् ।

अस्थायी परिवार नियोजनका साधनमध्ये पनि महिलाले ३ महिने डिपो सुई लगाउने चलन रहेको उनी बताउँछिन् । उनका अनुसार दैनिक रुपमा स्वास्थ्य चौकीमा कम्तिमा १० जना महिला डिपो सुई लगाउन आउँछन् ।

यतिसम्म कि, स्वास्थ्य चौकीमा डिपो सुई अभाव हुँदा प्राईभेट औषधि पसलमा १ सय रुपैयाँसम्म तिरेर सुई लगाउने गरेको पनि उनी बताउँछिन् । ‘परिवार नियोजन गरे कुल देवता रिसाउँछन् ।’ मुगुम कार्मारोङ–६ पुअ गाउँका ६५ वर्षीया आङ्डाक छिरिङ लामा भन्छिन्, ‘भगवानले बनाएको नियम हामीले तोडन मिल्दैन, फेरि हाम्रो धर्ममा स्थायी परिवार नियोजन गरेको व्यक्तिबाट भएको पूजाबाट भगवान बुद्घ खुसी नहुने मान्यता छ । सधैँ घरमा पूजा गर्नुपर्छ । त्यसैले कसैले स्थायी परिवार नियोजन गर्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.