कपिलधाममा साहित्यकार लीलाध्वज थापाको शालिक
तौलिहवा : कपिलवस्तुको वाणगंगा नगरपालिका ८ कपिलधाममा साहित्यकार लीलाध्वज थापाको शालिक अनावरण गरिएको छ। नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव केदारनाथ शर्मा र प्रदेश सांसद विष्णु पन्थीले साहित्यकार थापाको शालिक अनावरण गरेका हुन्।
थापा उपन्यास विधामा मदन पुरस्कार पाउने पहिलो साहित्यकार हुन्। लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजना र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा साहित्यकार विष्णुराज आत्रेयद्धारा लिखित ‘कपिलधाम’ उपन्यासको विमोचन गरिएको छ। उनको उपन्यास प्रा.डा. खेमराज कोइराला बन्धु र दूतावासका सचिव शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन्। सो अवसरमा साहित्यकार र समाजसेवी गरी २० जनालाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा विजय सागर (भैरहवा), बालकृष्ण भट्टराई (सिद्धार्थनगर), वनमाली निराकार (सिद्धार्थनगर), मोहन ज्ञवाली (कपिलवस्तु), डा. रामप्रसाद ज्ञवाली (पाल्पा), हरिराज शर्मा (कपिलवस्तु), कृष्णप्रसाद ज्ञवाली (पाल्पा), ऋषि आजाद (बुटवल), दीपक ज्ञवाली (बुटवल), पशुपतिमणि त्रिपाठी (कपिलवस्तु), राघवेन्द्रप्रसाद श्रीवास्तव (कपिलवस्तु), रुद्र ज्ञवाली, शशी पन्थी, शिरिष गिरी मगर, याम थापा, शंकरप्रसाद आचार्यलगायत छन्।