प्रचण्ड पहिलोपटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्मारक

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्मारक

पोखरा : शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मादी गाउँपालिका–१ सिक्लेसमा आज आयोजित कार्यक्रममा स्मारकको अनावरण गरेका हुन्।

तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस आएका थिए।

त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए। त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ।

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो। दुई रोपनी क्षेत्रफलमा फैलिएको स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी रु १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो। 

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी दिए। स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत सञ्चालन गरिएको छ। 

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताए।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उनले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताए। राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष प्रचण्डले औँल्याए।

समारोहमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व. गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको बताए। काङ्ग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सरकारले निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले ऐतिहासिक तथा पर्यटकीयस्थल सिक्लेसको सडक पूर्वाधार विकासमा जोड दिइनुपर्ने बताए।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शान्ति प्रक्रियाको ऐतिहासिक महत्व स्मरण गराउने उद्देश्यले स्मारक निर्माण गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.