१२ वर्षपछि सिक्लेसमा प्रचण्ड, सिटौलासँगै उभिएर भने- 'उहाँ मारिन सक्नुहुन्थ्यो'

१२ वर्षपछि सिक्लेसमा प्रचण्ड, सिटौलासँगै उभिएर भने- 'उहाँ मारिन सक्नुहुन्थ्यो'

कास्की : शान्तिवार्ताको थालनी भएको पर्यटकीय गाउँ सिक्लेस पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नोस्टाल्जिक थिए। द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने उद्देश्यले सरकार र तत्कालीन विद्रोहीबीच वार्ताको थालनी भएको सिक्लेसमा शान्ति स्तम्भ अनावरण गर्न उनी कांग्रेस नेता कृष्ण सिटौलासहित पुगेका थिए।

तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्डसँग वार्ता गर्न सिक्लेस पुगेका बेला सिटौला गृहमन्त्री थिए। 'उहाँ आफ्नो सेना र प्रहरी छोडेर जनमुक्ति सेनाको घेरामा आउनुभएको थियो। हामी पनि सबै कुरा छोडेर बालुवाटार पुगेका थियौँ। त्यहाँ पनि जोखिम थियो', प्रचण्डले भने, 'उहाँ गृहमन्त्रीको पदमात्र दाउमा राखेर होइन, ज्यान नै जोखिममा राखेर यहाँ आउनुभएको थियो।'

प्रचण्डले त्यतिबेला केही तलमाथि भएको भए सिटौलाको ज्यान नै जान सक्ने स्थिति रहेको पनि स्मरण गरे। 'हामी अत्याधुनिक हतियारसहित जनमुक्ति सेनाको घेरामा थियौँ। थोरैमात्र गडबड भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो', प्रचण्डले भने, 'आफ्नो सेना पुलिस सबै छोडेर उहाँ शेखर कोइरालालाईमात्र लिएर आउनुभएको थियो।'

शान्ति र लोकतन्त्रप्रति सिटौलाको बुझाइ सधैँ प्रसंसनीय रहेको उनको भनाई छ। 'देशभर सन्त्रासको स्थिति थियो। को कतिबेला मारिने हो भन्ने अवस्था थियो', उनले भने, 'मैले शान्ति वार्ताको आवश्यकता महसुस गरेको थिएँ। त्यसमा उहाँ (सिटौला) ले ठूलो भूमिका खेल्नुभयो।' सिटौलाले भित्रभित्रै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग वार्ता गराएको उनको भनाई छ।

'सबैले चिनेको नेता गिरिजाप्रसादसँग भित्रभित्रै कुरा भएको थियो', उनले पहिलो भेटबारे खुलासा गरे, 'पहिलो भेटमा मैले भनेको थिएँ- तपाईँ मेरो पनि अभिभावक हो। तपाईँ गणतन्त्रमा जाने हो भने म शान्तिप्रकियामा आउन तयार छु।' यति भनेपछि दुईजनाको कुरा मिलेको उनको भनाई छ।

'कोइराला आफैं अगाडि सरेपछि छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदाय पनि ढुक्क भए', प्रचण्ड भने, 'तर पश्चिमका कतिपय शक्ति शान्ति प्रक्रियाका पक्षमा थिएनन्। माधव नेपाल र केपी ओली लगायतको सक्रिय सहभागिताका कारण कसैले रोकेर रोकिएन।' परिवर्तनकारी शक्तिहरू सचेत नभएमा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने प्रचण्डले चेतनावनी दिए।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उनले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताए। राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष प्रचण्डले औँल्याए।

शान्ति स्मारण अवावरण 

शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ। नेकपा अध्यक्ष प्रचण्डले मादी गाउँपालिका–१ सिक्लेसमा आज आयोजित कार्यक्रममा स्मारकको अनावरण गरेका हुन्।

तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस आएका थिए।

त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए। त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ।

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो। दुई रोपनी क्षेत्रफलमा फैलिएको स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी रु १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो। 

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी दिए। स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत सञ्चालन गरिएको छ। 

समारोहमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व. गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको बताए। काङ्ग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.