टेलिकमको फोरजी विस्तार : दुवै चिनियाँ कम्पनीलाई मिलेर आउन निर्देशन

टेलिकमको फोरजी विस्तार :  दुवै चिनियाँ कम्पनीलाई मिलेर आउन निर्देशन

यसअघि नेपाल टेलिकमले आह्वान गरेको टेन्डरमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी प्रतिस्पर्धामा थिए।


काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को फोरजी विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै कम्पनीलाई मिलेर आउन निर्देशन दिएका छन्। उनले चाइनिज कम्पनी जेडटीई टेक्नोलोजी र चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) लाई मिलेर आएको खण्डमा दुवैलाई टेन्डर दिन सकिने बताए। अन्यथा जुन कम्पनीले एक वर्षमा काम सक्छ त्यसैलाई दिने उनले बताए।

यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि २०७४ कात्तिक २२ गते टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी ठेक्काका लागि प्रतिस्पर्धामा आएका थिए।

प्रतिस्पर्धामा आएकामध्ये आर्थिक हिसाबमा अहिले जेडटीई र सीसीएसआई छनोट भएको मन्त्री बास्कोटाले बताए। टेलिकमका अनुसार टेन्डर आह्वान गर्दा एलटीई कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्किङमा ‘र्‍यान बीटीएस’ गरी दुई भागमा बाँडेर टेन्डर आह्वान भएको थियो। ‘उक्त टेन्डर आह्वानमा कोर नेटवर्क विस्तार आयोजनाका लागि आर्थिक हिसाबले चिनियाँ जेडटीई अघि छ,’ मन्त्री बास्कोटाले भने, ‘र्‍यानतर्फ सीसीएसआई।’

कोर नेटवर्कका लागि जेडटीईले एक अर्ब ६१ करोड र सीसीएसआईले तीन अर्ब ९८ करोड हालेको थियो। र्‍यानमा सीसीएसआईले १७ अर्ब १४ करोडमा टेन्डर हालेको छ, भने जेडटीईले १९ अर्ब लागतको प्रतिवेदन पेस गरेको छ। त्यसको आधारमा कोरतर्फ जेडटीई र र्‍यानतर्फ सीसीएसआई छनोट भएको मन्त्री बास्कोटा बताउँछन्।

‘जेडटीईको कोर नेटवर्कमा छनोट भएको छ’, मन्त्री बास्कोटाले भने, ‘र्‍यानतर्फ सीसीएसआई। तर, सीसीएसआईले त्यसमा इन्टर कनेक्सको कुनै कुरा उल्लेख गरेको छैन। त्यसका लागि फेरि अर्को खर्च लाग्नेछ। एउटैलाई कोर र र्‍यानलाई जोड्ने काम पनि उसैले गर्ने हुनाले खर्च कम हुन आउँछन्। दुईवटा कम्पनीलाई पर्दा इन्टर कनेक्सनको खर्च फेरि थपिने हुन सक्छन्। त्यसको पनि लागत करिब ४० करोड पर्ने उल्लेख छ। त्यो हुँदा त्यो ४० करोड फेरि थपिने देखिन्छ। त्यसैले दुवै कम्पनी मिलेर एक वर्षभित्र सम्पूर्ण काम सक्छु भनेर आउनुपर्नेछ। त्यो पनि १९ अर्ब २० करोडको लागतमा। यो रकमभन्दा एक रुपैयाँ पनि उनीहरूले पाउने छैनन्।’

'मैले जाने यति हो, एक वर्षमा फोरजीको विस्तार देशभरि हुनुपर्नेछ’, मन्त्री बास्कोटाले भने, ‘यसअघिका काममा यीनै कम्पनीले समय ध्वस्त बनाएर टेलिकमले करोडौं आम्दानी गुमाएको छ। अहिले फेरि आएर समयमा कुनै सम्झौता गर्न सकिँदैन।’ उनीहरूले २६ महिनामा काम सक्ने भनेर प्रस्ताव हालेको भए पनि १२ महिनामै काम सक्नुपर्ने मन्त्री बास्कोटाले बताए। मन्त्री बास्कोटाले भने, ‘अबको ६ महिनापछि कोरियाले फाइभ जी सुरु गर्नेछ। भारतले सन् २०२२ मा फोरजी सेवा सञ्चालनमा ल्याउने भनेको छ। भारतले २०२२ मा फाइभपी सञ्चालन गर्दा हामीले सन् २०२३ मा त्यसलाई अपनाउनै पर्छ। जसरी पनि नयाँ प्रविधिलाई सञ्चालनमा ल्याउन आवश्यक हुन्छ।’

त्यो हिसाबले पनि अबको एक वर्षमा हामीले फोरजी विस्तार गर्न आवश्यक छ। यसै पनि १० महिना अख्तियारले छानबिन गर्दा फोरजीको टेन्डर भएर पनि काम अघि बढ्न सकेको थिएन। त्यो नौ महिनालाई पनि यसैमा समेट्नुपर्ने वाध्यता हामीलाई छ। त्यसैले एउटा कम्पनीलाई दिँदा समयमा काम नसकिने समस्या आउन सक्ने भएकाले मिलेर गर्छन् भने बाँडेर दिने योजना बनाएको बताए।

‘मिलेर आएको खण्डमा र्‍यानको केही काम जेडटीईलाई थपिदिने कोर यसैको छँदै छ’, मन्त्री बास्कोटाले भने, ‘त्यो हुँदा काम एकैपटक सुरु गरेर एकै पटक अन्त्य गर्न सीसीएसआईलाई पनि सहज हुनेछ।’ त्यसका लागि उनीहरू दुवैले कुल १९ अर्ब २० करोडको हाराहारीमै काम सम्पन्न गर्नुपर्नेछ। फोरजी टेन्डर सम्झौता एक हप्ताभित्र हुने मन्त्री बास्कोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.