संकेतबिनै गुड्छन् सवारी
काठमाडौं : राजधानीको व्यस्त चोक हो- गौशाला। सडक चोकमा चार जना ट्राफिक प्रहरी सवारी चालकलाई इसारा गर्नमै व्यस्त हुन्छन्। सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार नहुँदा उनीहरूले दैनिक सास्ती बेहोर्नुपरेको छ। चारै दिशाबाट आएका सवारीसाधनलाई कसरी पाखा लगाउने भन्नेमै ट्राफिकको दिन बित्ने गरेको छ।
सवारीसाधनको चापसँगै पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थी र अन्य सर्वसाधरणको हुल पास गराउन पनि उनीहरूलाई हम्मेहम्मे पर्छ। जेब्राक्रस, ट्राफिक लाइटसँगै सवारी लेन नहुँदा हातको इसारामा ट्राफिक व्यवस्थापन गर्दै आएका छन्, उनीहरू।
गौशाला एउटा प्रतिनिधि स्थान मात्र हो। चाबहिल चोकको पनि उस्तै दुर्दशा छ। फराकिलो चोक भए पनि सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सधैं हम्मेहम्मे परिरहन्छ। चाबहिलमा पनि ट्राफिक लाइट, जेब्राक्रस र सडक लेन छैनन। २७ किलोमिटर क्षेत्रफलको रिङरोडमध्ये कलंकी–कोटेश्वर सडकखण्ड अहिले केही व्यवस्थित छ। तर त्यो सडकखण्डमा पनि अहिलेसम्म पर्याप्त सडक संकेत राखिएको छैन।
त्रिपुरेश्वर, थापाथली र माइतीघरमा पनि ट्राफिक प्रहरीले हैरानी बेहोर्नुपरेको छ। यी चोकमा बिहान अफिस टाइम (१० देखि ११ बजेसम्म) र साँझ कार्यालय छुटने समय (चार देखि पाँच बजेसम्म) सवारीको चाप अत्यधिक हुन्छ, जसकारण यात्रु जाममा फस्नुपर्ने अवस्था छ। कलंकीदेखि त्रिपुरेश्वरसम्म सडक फराकिलो बनाए पनि सडक पेटी र अन्य पूर्वाधार नहुँदा सवारी जाम बढने गरेको छ।
सडकको पूर्वाधार विकासमा सरकारी निकायबीचको हानथापीले सर्वसाधारणसँगै यात्रुले सास्ती बेहोर्दै आएका छन्। कलंकीदेखि सोल्टीमोडसम्मको सडकखण्डका दायाँबायाँका संरचना भत्काएर सम्याउने काम भइरहेको छ। दुवैतिर सडक पेटी नहुँदा यात्रुहरू जोखिमपूर्ण रूपमा मूल सडकमै हिँड्दै आएका छन्।
सडक संकेत र प्रविधि नहुँदा ट्राफिक प्रहरीहरू हातको इसारामै सवारीलाई निर्देश गरिरहेका छन्।
कलंकीमा अन्डरपास सडक बनाएपछि सवारीसाधन व्यवस्थापनमा केही सहयोग त पुगेको छ। तर आकासे पुल नहुँदा सर्वसाधारणले जोखिममै बाटो काट्नुपर्छ। काठमाडौं महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच हुने हानथापी र आरोपप्रत्यारोपले विकास निर्माण रोकिने गरेको छ।
‘हामीले आफनो कार्यक्षेत्रका सडक बनाउँदै आएका छौं। सडकको पूर्वाधार विकासका लागि अहिले धमाधम टेन्डर भइरहेको छ। बाँकी सडक विभाग र यातायातले पनि हेर्नुपर्ने होला’, महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने। सडकमा यात्रुको चाप बढेको भन्दै महानगरले १० वटा अकासे पुल निर्माणका लागि पहल थालेको उनले जानकारी दिए। सडकमा जेब्राक्रस र लेनका लागि ट्राफिक प्रहरीले सडक विभाग र महानगरपालिकालाई पटकपटक पत्र लेखे पनि त्यसको सुनुवाइभएको छैन।
‘ट्राफिकको काम सवारी व्यवस्थापन मात्रै हो। सडकको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी पाएका निकायले समस्या थोपरेर मात्रै हुँदैन, विकास पनि गर्नुपर्यो नि’, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्त भन्छन्। सडक संकेत अभावका कारण अहिले उपत्यकामा ट्राफिक प्रहरीको संख्या बढाउनुपरेको छ। त्यसका अलावा प्रहरीलाई समेत परिचालन गरिएको छ। ‘कतिन्जेल ट्राफिकलाई सडकमा उभ्याउने, हाम्रा सडकमा प्रविधिको प्रयोग कहिले हुने ? ’ उनले प्रश्न गरे, ‘हामीले सीसीटीभीमार्फत पनि कारबाही थाल्यौं। तर चालकले हामीलाई प्रश्न गर्छन्– सडकमा कुनै संकेत छैन, अनि कता लैजाने ? ’
सर्वसाधारणमा पनि उत्तिकै लापरबाही देखिएको महाशाखाले जानकारी दिएको छ। बानेश्वरस्थित अकासे पुलबाट बाटो नकाटी सर्वसाधारणले सडकबाटै बाटो काटने गरेका छन्। रिङरोडमा घुम्ती सडक पर्ने भए पनि सडक संकेत राखिएको छैन। उपत्यकामा तीन सय स्थानमा जेब्राक्रस छन्। तर अधिकांश प्रस्टसँग देखिँदैनन। सडक लेन र जेब्राक्रस मेटिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठले स्विकारे। ‘राजधानीका केही स्थानमा सडक लेन र जेब्राक्रस मेटिएका छन्। हामीले पहिचान गरिसकेका छौं। त्यसलाई तत्कालै बनाउन कार्ययोजना तयार भइसकेको छ, बनाइहाल्छौं’, उनले भने।
काठमाडौंका सडकमा सवारीसाधनका चक्काले माटो बोकेर ल्याउँदा घोटिएका कारण जेब्राक्रस र र लेनमा लगाइएको इनामेल मेटिने गरेको हो। सडक पैदलयात्री र अन्य सवारीसाधनका लागि संवेदनशील भएकाले आफूहरूले पनि प्राथमिकता राखेर काम गर्ने गरेको उनी बताउँछन्।