लठिभद्र त्रिवि
देशको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालय बेथितिको भण्डार बनेको छ। विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त त्यसको चरम रूप बनिरहेको छ। यो अपत्यारिलो सत्य हो। बल्खुस्थित पनिका पुगेको हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने अवस्था छ।
मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापरबाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन्। ६० जति आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ। देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ।
पनिकाका समस्या एकादुई मात्र छैनन्। सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन। केही महिनाअघि २४ घन्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन। त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ। पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता छ।
पनिका आफैंले हरेक विद्यार्थीलाई बेग्लाबेग्लै रजिस्ट्रेसन नम्बर दिएको हुन्छ। त्यही नम्बरका आधारमा सबै रेकर्ड राख्न सकिने सामान्य प्रविधि पनि उपयोग नगरेर पुरानै पोके फाइलमा निर्भर रहनु पनिकाको बाध्यता हो वा सम्बन्धित अधिकारीहरूको नियत ? अहिलेको डिजिटल युगमा यति सामान्य चेत पनि छैन भन्नु ती अधिकारीको सामान्य ज्ञानमाथि नै प्रश्न हुनेछ।
पनिकाको सेवा प्रवाहमा आउने अर्को समस्या हो, अतिशय लापरबाही। पनिकाले तयार गर्ने मार्कसिटहरूमा कसैको नाम गलत टाइप भएको हुन्छ, कसैको रजिस्ट्रेसन नम्बर छुटेको हुन्छ त कसैको प्राप्तांकमै त्रुटि भेटिन्छ। त्यस्ता त्रुटि सच्याउन लाइन बस्नेहरू बग्रेल्ती भेटिन्छन्। विडम्बना त के भने आफैंले गरेको त्रुटि सच्याउन पनिकाले थप दस्तुर लिन्छ र थप समय खर्च गरिदिन्छ। आपूmले गरेको त्रुटिमा सामान्य माफ पनि नमाग्ने र थप दुःख दिने यस्तो सेवाप्रवाह प्रणाली सम्भवतः विश्वमै यही एउटा हो।
कार्यालयका कर्मचारीको चिडचिडाहट सेवाग्राहीले भोग्नुपर्ने अर्को तनाव हो। देशभरका सेवाग्राही आउने कार्यालयमा आवश्यक सूचना पाटीहरू पनि छैनन्। कुन कोठामा के काम हुन्छ भन्ने सामान्य जानकारी पनि सार्वजनिक रूपमा टाँसिएको छैन। त्यसैले दुरदराजबाट बल्खुस्थित पनिका धाएकाहरूले त्यहाँका कर्मचारीलाई प्रश्न गर्नु स्वाभाविक हो, तर सेवा दिन तलब दिएर राखिएका कर्मचारी सेवाग्राहीको प्रश्न सुन्नासाथ रिसाउँछन्। सेवाग्राहीलाई सकेसम्म अपमान गरेर कर्मचारी भइरहन पाइने उदाहरण पनि बल्खु पनिका नै हो।
देशभरका क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरेपछि आफूले आर्जन गरेको मार्कसिट लिन आउनु सबैभन्दा सहज र हर्षपूर्ण काम हुनुपर्ने थियो, तर त्रिभुवन विश्वविद्यालयको हकमा त्यो वर्षौं मेहनत गरेर पढेबापत दिइएको सजायजस्तो लाग्छ। त्यसैले नै बल्खुस्थित पनिका पुग्ने हरेक सेवाग्राहीले फेरि आउन नपरे हुन्थ्यो जस्तो तीक्तता पोख्छन्। यद्यपि भनेको समयमा काम पूरा नगरिदिने र सानो कामका लागि हप्तौं लगाइदिने त पनिकाको विशेषता नै हो।आम सेवाग्राहीलाई उच्च शिक्षा आर्जन गरेको खुसी प्रदान गर्नुपर्ने पनिका सास्ती–शाखा भएको छ। त्यसका पनि आफ्नै विवशता छन्। तर कुनै पनि तर्कले सेवाग्राहीको सेवा पाउने अधिकार कुण्ठित हुनु हुँदैन। अहिले पनि पुरानै परिपाटीमा पुरानै ढर्राले चलिरहँदा पनिकाका अधिकारीहरू स्वयंलाई लज्जा हुनुपर्ने हो।
उच्च शिक्षा प्रदान गर्ने देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले अब पनि आफूलाई सास्ती–शाखाको रूपमा राखिरहन मिल्दैन। तुरुन्त डिजिटल प्रविधिमा गएर र सेवा प्रवाहमा कटिबद्ध कर्मचारी राखेर आफ्नो छवि सुधार्नुपर्छ।