एकै गाउँबाट करोडाैंका सुन्तला
फिदिम : मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बा किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका छन्। गाउँका किसानले सुन्तला बेचेरै एक करोड रुपैयाँभन्दा बढी हात पारेका हुन्। गाउँका ५० घर किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन्।
गत वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादक कम भए पनि यहाँसका किसानले एक करोड १० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको वडाध्यक्ष अविसन लावतीले जानकारी दिए। ‘सुन्तला उत्पादनमा गिरावट आए पनि किसानले राम्रै आम्दानी गरिरहेका छन्’, लावतीले भने, ‘यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।’
गाउँमा प्रतिकिलो ४० रुपैयाँसम्म सुन्तलाको कारोबार हुन्छ। बजार पु¥याउँदा प्रतिकिलो एक सय ५० रुपैयाँका दरले बिक्री हुने गरेको छ। कुरुम्बामा उत्पादन भएको सुन्तलाको बजार झापाको बिर्तामोड र दमक हो। बजार मूल्यलाई आधार मान्दा कुरुम्बाबाट मात्रै दुई करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको हो।
पाकेपछि किसानको बारीमै व्यापारी पुग्ने गरेका छन्। व्यापरीले बोटमा फलेको फल हरेर बगान नै गरिद गर्ने गरेका छन्। कुरुम्बाका किसानबाट यो साल एक करोड १० लाखको सुन्तला खरिद गरेको व्यापारी धनकुमार लावतीले बताए। ‘अघिल्लो वर्ष यो गाउँमा दुई करोडको सुन्तला खरिद गरेको थिएँ’, धनकुमारले भने, ‘यो साल फल राम्रो नलागेकाले एक करोड १० लाखमा सुन्तला बगान खरिद गरेको छु।’
मौसममा आएको परिवर्तनका कारण तल्लो क्षेत्रमा भएका सुन्तला बगान मासिँदै गएका छन्। विगतमा सुन्तला फल्न नसक्ने माथिल्लो क्षेत्रमा अहिले राम्ररी सुन्तला फल्न थालेको हो। ‘किसानले माथिल्लो क्षेत्रमा बगान विस्तार गर्न थालेका छन्’, वडाध्यक्ष लावतीले भने, ‘पुरानो बगानमा फल नलागेको र नयाँ बगानमा सुन्तला फल्न सुरु नभएकाले यो सान उत्पादनमा कमी देखिएको हो।’
कुरुम्बा सुन्तलाको पकेट क्षेत्र हो। यहाँका किसानले हजारौं बोटमा सुन्तला फलाएका छन्। सुन्तला खेतीबाटै किसानले लाखौं आम्दानी गरेका हुन्। सुन्तला बिक्रीबाटै यो वर्ष ६ लाख आम्दानी गरेको तेजबहादुर लावतीले जानकारी दिए। लावतीले १५ रोपनी जमिनमा सुन्तला खेती गरेका छन्। उक्त जमिनमा हुर्किएका ६ सय बोट सुन्तलाबाट लाखौं आम्दानी गरेका हुन्। लावतीले जस्तै यहाँका करिब ५० घर किसानले लाखौं रुपैयाँ आम्दानी लिने गरेका छन्।