योगीका लागि ३६ व्यञ्जनका परिकार, अरु के के हुँदैछ जनकपुरमा ?

योगीका लागि ३६ व्यञ्जनका परिकार, अरु के के हुँदैछ जनकपुरमा ?

जनकपुरधाम : आज सीताराम विवाह। मंसिर शुक्ल पञ्चमी तिथि अर्थात् आजकै दिन त्रेता युगमा भगवान राम र जनकपुत्री सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ।

सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव गत मंसिर २१ गतेबाट सुरु भएको थियो। मंसिर २१ गते नगरदर्शन, मंसिर २२ गते फुलबारी लिला, मंसिर २३ गते धनुष यज्ञ, मंसिर २४ गते तिल्कोत्सव र विवाहको पूर्व सन्ध्यामा मंसिर २५ गते अर्थात् मंगलबार राम र जानकीको मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ।

आज छैठौँ दिन रामजानकीको विवाह पश्चात शुक्रबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बताए।

यसरी हुन्छ विवाह

राम मन्दिरका महन्थ राम गिरीका अनुसार राम मन्दिरमा पनि बरियातको भव्य तयारी छ। स्वयंवर र विवाहमा सहभागी हुन वरपक्ष डोलामा सजिएर जानेछन्।

जानकी मन्दिरजस्तो भव्यता राम मन्दिरमा देखिँदैन। तथापि तामझामका साथ रामको जन्ती निकालिने छ।

'बाजागाजाका झाँकीसहित रामलाई डोलामा सजाएर बाराती नगरपरिक्रमा गराउने छौँ। अनि रंगभूमि मैदान लानेछौँ। त्यहाँ जानकी मन्दिर, रत्नसागर मठ र लक्ष्मण मन्दिरका डोलाले रामजीको डोलालाई परिक्रमा गरेपछि स्वयंवर गर्नेछौं', महन्थ राम गिरीले भने।

सीताराम विवाहको इतिहास

त्रेताकालमा जनकपुरधाममा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुत्री सीताको विवाह भएको थियो। जानकी मन्दिरका सह—महन्थ रामरोशन दास बैष्णव राजा जनककी छोरीका रुपमा सीताजी प्रकट हुँदा धनुष यज्ञको प्रण लिएर विश्वामित्रसँग लक्ष्मण र राम दुई दाजुभाई भाग लिएको कथा सुनाउँछन्। रामले धनुष भंग गरेर सीतासँग विवाह गरेको सम्झनामा गएका पाँच सय वर्षदेखि विवाहको प्रचलन जारी छ।

तर पहिला जन्ती ल्याउने चलन थिएन। 'आफ्नो हिसाबले अनौपचारीक ढंगले अयोध्याबासीलाई हामीहरू जन्तीको रुपमा सधैं सम्मान गर्दै आइरहेका थियौं', बैष्णव भन्छन्।'

२०६१ सालदेखि यो सुरु भएको हो। तत्कालीनका विश्व हिन्दु परिषदका अशोक सिग्गलको विशेष पहलमा पहिलो पटक जनकपुरसम्म चार पाँच सय गाडीमा जन्ति ङ्कएका थिए। जहाँजहाँ रामजीको त्रेता युगमा जन्ती आएको बेला स्वागत भएको थियो, त्यसैगरी अहिले जन्ती ल्याउने गरिएको छ।

नेपाल भारतको सांस्कृतिक महोत्सव बेटी रोटीको सम्बन्धसँग पनि जोडिन्छ।  यो आजको सम्बन्ध नभई त्रेता युगबाट नै जोडिएको सम्बन्ध हो। जानकीले नै यो सम्बन्ध जोडेर स्थापित गरेको मान्यता पनि छ।

जन्तीको नेतृत्व गर्दै आदित्यनाथ आउँदै

रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा सहभागी हुँदैछन्। उनी बिहान ११ बजे जनकपुर विमानस्थलमा अवतरण हुनेछन्।

योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने कार्यक्रम छ।

योगीका लागि ३६ व्यञ्जनका परिकार

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश २ को सरकारले आज बुधबार भण्डारा (दिवाभोज) खुवाउने छन्। उनलाई ३६ व्यञ्जनको परिकार दिइनेछ।

त्यसपछि प्रदेश २ सरकारले उनको स्वागतमा प्रदेश सरकारको सचिवालय मधेश भवनमा आयोजन गरेको १ हजार १ साधुशन्तको विशेष भण्डारा (भोज)मा सहभागी हुने कार्यक्रम छ।

ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा हुने राम र सीताको स्वयंवर कार्यक्रममा नेपाल र भारतका प्रदेशका समकक्षी मुख्यमन्त्रीद्वय लालबाबु राउत र योगी आदित्यनाथ सहभागी हुनेछन्। बाह्रविघा मैदानमा दुवै मुख्यमन्त्रीले केही मिनेट प्रवचन दिने कार्यक्रमसमेत रहेको छ। प्रवचन पश्चात मुख्यमन्त्री योगी आजै फर्किने छन्।

गीतमै जनकपुर

विवाहपञ्चमीको हरेक विधिहरु गीतबाटै जानकारी गराइने गरिन्छ। महोत्सवमा आएका श्रद्धालु भक्तजन विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाइरहेका छन्।

मिथिलामा हराउँदै र बिलाउँदै गरेको कला संस्कृतिहरूको झझल्को यतिखेर विवाहपञ्चमीमा देखाइएको छ।

बालबालिकाहरूलाई राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, नाचगान, भजनकीर्तन, झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ।

साधुसन्तले जनकपुर भरिभराउ

यस वर्षको सीताराम विवाहपञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउने चर्चाले एकहप्ता अघिदेखि नै श्रद्धालुहरु जनकपुर आएका छन्।

अयोध्याबाट रथ, घोडामा साधुसन्तहरू जन्ती आएकाले विशेष आकर्षण रहेको छ। नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं दर्शनार्थी आएकाले जनकपुरको सहर, बजार गल्ली जताततै खचाखच भरिएको छ। 

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका श्रद्धालुभक्तजनलाई सेवामूलक संघसंस्थाहरुले निःशुल्क खानादेखि बसोबासको प्रबन्ध गरेका छन्। निःशुल्क आवास, निःशुल्क स्वास्थ्य शिविर, खाना, खानेपानी लगायतको व्यवस्था गरिएको छ।

सुरक्षा व्यवस्था कडा

सीताराम विवाहपञ्चमी महोत्सव र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ। कुनै अप्रिय घट्ना नहोस् भनेर जनकपुरका चोक र गल्ली गल्लीमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्रहरीले तालिम प्राप्त कुकुरदेखि ड्रोन क्यामराबाट सुरक्षा निगरानीको प्रबन्ध गरेको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको हो।

प्रदेश नम्बर ३ को प्रदेश प्रहरी कार्यालय हेटौंडास्थित कुकुर शाखाका तालिम प्राप्त २ वटा कुकुर ल्याएर विशेष स्थानमा निगरानी बढाइएको छ। नेपाल प्रहरीका असई लालबहादुर थापाको नेतृत्वमा कुकुर शाखाको ’पोनर’ र ’टाईगर’ नाम गरेका कुकुरलाई जनकपुरको भीडभाड हुने स्थानमा निगरानी गर्न छुट्टै टिम परिचालन गरिएको छ।

सुरक्षा व्यवस्थाका लागि प्रहरीले ड्रोन क्यामरा र अत्याधुनिर्क यापिड कम्युनिकेसन सिस्टम (आरसीएस)’ को पनि प्रयोग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.