कालीगण्डकी करिडोर चाैडा
बागलुङ : भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोर १० मिटर फराकिलो बनाइने भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालिगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डबाट बागलुङ हुँदै १० मिटर चौडा बनाउने काम तत्काल सुरु गरिने भएको हो।
सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले नेपाली सेनाले कालिगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सम्पन्न भइसकाले अब सडक विस्तारका लागि योजना बनाएर अगाडि बढ्ने बताए। ‘सडकको पूरै ट्र्याक खुलिसकेकाले अब विभिन्न खण्डमा चौडा गर्ने काम भइरहेको छ’, उनले भने, ‘अब बाँकी रहेको क्षेत्रमा सडक चौडा गरी पिच गर्ने प्रक्रिया अगाडि बढाइनेछ।’
कालिगण्डकी करिडोरको गुल्मी र बागलुङ खण्डको अवलोकन गर्न बागलुङ आएको टोलीले बागलुङ क्षेत्र नम्बर १ का सांसद डा.सूर्य पाठकसँग अन्तरक्रिया गरी बागलुङ खण्डमा भइरहेको प्रगतिबारे जानकारी लिएको थियो। कार्यक्रममा सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठ, भौतिक योजना मन्त्रालय, योजना शाखाका सहसचिव राजेन्द्र शर्मा, रक्षा मन्त्रालयका सहसचिव भरत गौतमलगायतले सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी र थप चुनौतीबारे छलफल भएको थियो।
बागलुङका सांसद पाठकले कालिगण्डकी करिडोर नेपालको लाइफलाइन बन्न सक्ने भन्दै समयमै सम्पन्न गर्न आग्रह गरेका थिए। दक्षिण सीमादेखि उत्तरी सीमासम्म पुगेर करिडोरको अवलोकन गरेको भन्दै सांसद पाठकले मुस्ताङ क्षेत्रमा करिडोर निर्माणमा भइरहेको प्रगतिले करिडोर छिट्टै खुल्ने विश्वास व्यक्त गरे। ‘म केही समयअघि उत्तरी सीमासम्म पुगेर आएको छु, सीमामा चिनियाँ पक्षले कोरला नाका खोल्न भौतिक संरचना निर्माण गरिसकेकाले सडक निर्माणलाई थप गति दिन आवश्यक छ’, पाठकले भने।
पाठकले करिडोरको ट्र्याक खुलेपछि सवारीसाधन नियमित सञ्चालन भइरहेकाले सडक चौडाइको काम छिटो सक्न बागलुङको मालढुंगाबाट सडक चौडा गर्ने काम सुरु गर्न आग्रह गरेका थिए। सरकारी तवरबाट करिडोर निर्माणमा बजेट अभाव हुन नदिने भन्दै पाठकले सडक चौडासँगै मालढुंगादेखि बेनीसम्मको खण्डलाई बागलुङपट्टिबाट लैजाँदा सहज र थोरै क्षतिमा सडक निर्माण गर्न सकिने बताए।
गुल्मी खण्डबाट बागलुङ हुँदै १० मिटर चौडा बनाउने काम तत्काल सुरु गरिने भएको छ।
उत्तर–दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्ने अपेक्षा गरिएको छ। विशेष गरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ। कालीगण्डकीको स्नानपछि यहाँ रहेका धार्मिक स्थल पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन्। लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पुर्याउन यो मार्ग उपयुक्त विकल्प हो। हिन्दु र बौद्ध धर्मावलम्बीले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन्।
करिडोर अन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता महत्वरपूर्ण तीर्थस्थल पर्छन्। उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन्। कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन सक्ने सम्भावना पनि उत्तिकै छ। कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ।
करिडोर निर्माण पछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ। नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ। करिब चार सय ३५ किमिको कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ। २०३९ सालदेखि ट्र्याक खोल्न थालिए पनि लामो समय यतिकै अल्झिएको करिडोरको यस खण्डको काम करिब ५० करोड रुपैयाँ खर्चेर नेपाली सेनाले सकेको हो। २०५७ सालमा कालीगण्डकी करिडोरको शिलान्यास भएको थियो।