ठूला आयोजनाका ठेकेदारलाई मनपरी छुट
बुटवल : ठूला आयोजनाको नाममा कच्चा पदार्थमा करोडौं छुट लिएका ठेकेदारले फेरि छुटको चलखेल सुरु गरेका छन्। आयोजनाको ठेक्का लिने क्रममा बाहिरी जिल्लाबाट समेत कच्चापदार्थ ल्याई काम गर्ने सम्झौता गरेका रुपन्देहीमा सञ्चालित आयोजनाका ठेकेदारले अभाव देखाउँदै फेरि उत्खनन थालेका हुन्।
ठेकेदारको चलखेलमा आयोजनाका इन्जिनियर र जनप्रतिनिधिहरू सहभागी छन्। रुपन्देहीमा सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनासहितका अन्य ठूला आयोजनाका लागि गएको वर्ष १ करोड ४९ लाख ५० हजार घनमिटर नदीजन्य पदार्थ ठेकेदारले छुटमा पाएका थिए। निर्माण सामग्री अभाव भएको भन्दै संघीय मन्त्रिपरिषद्ले आयोजनाका नाममा नदीबाट सोझै उत्खनन गर्ने स्विकृति दिएको थियो।
जिल्ला समन्वय समितिको स्विकृतिमा भैरहवा विमानस्थल, बुटवल–बेलहिया सडक, बेलवास बेथरी, बौद्ध परिपथ, भैरहवा–लुम्बिनीलगायत आधा दर्जन सडक र पुललाई छुटको कच्चा पदार्थ उपलब्ध गराइएको थियो। त्यसरी छुट पाएका ठेकेदारले प्रतिघनमिटर २० रुपैयाँ नाफा पाएका थिए। त्यो भनेको करिब ३० करोड हो। ०७३ सालमा समेत जिससले त्यत्तिकै मात्रामा नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको थियो। ‘नदीबाट सडकमा मिस्कट पु¥याउँदा १२ रुपैयाँसम्म पर्छ, एक क्रसर व्यवसायी भन्छन्, ‘ठेकेदारले प्रतिघनमिटर चार रुपैयाँ घुस खुवाउन खर्च गरेर छुटमा कच्चा पदार्थको व्यापार गरे।’
जिससले उत्खनन अनुमति दिएर अनुगमन नै नगरी मनपरी छुट दिइएको थियो। ठेकेदारले करोडौं रकम फाइदा भएपछि कच्चा पदार्थको अभाव देखाइरहे। तर त्यसरी निकालिएको कच्चा पदार्थको केही मात्रा मात्रै आयोजनामा प्रयोग भएको छ। ठेकेदारले सडकको सबबेस बनाउन निकालेको कच्चा पदार्थ क्रसर उद्योगमा प्रशोधन गरेर बिक्री गरेका छन्।
यो वर्ष पनि आयोजनालाई कच्चापदार्थ अभाव भएको ‘प्रचार’ सरकारी अधिकारीबाटै भएको छ। बुटवल–बेलहिया सडक आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले दुई वटा ठेकेदारलाई कच्चा पदार्थ अभाव भएको बताए। ‘विरुवा कन्ट्रक्सन र टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल) लाई ३५ हजार घनमिटर जति कच्चापदार्थ अभाव हुन्छ’, उनले भने, ‘हामीले स्थानीय सरकारलाई आग्रह गर्दै छौं।’
बुटवल–बेलहिया सडकखण्ड निर्माणको ठेक्का लिएको बिरुवा कन्ट्रक्सनले रुपन्देहीको सियारीमा क्रसर उद्योग चलाउँदै आएको छ। ६ लेन सडकको अर्काे ठेकेदार कम्पनी आरोग्य कन्ट्रक्सनले तिलोत्तमा–१४ को जयबुद्ध क्रसर उद्योग खरिद गरेको भन्दै प्रशोधन गरिरहेको छ। बुद्ध सर्किटका लागि ठेकेदार बहादुरसिंह लामाले मोतीपुरको सुपर कंक्रिट, बेलवास बेथरीका सडकका लागि रमण कन्स्ट्रक्सनले सियारीमा रहेको गाउँले क्रसर उद्योग र गौतमबुद्ध विमानस्थलका लागि ठेकेदार सुनील रायमाझीले सियारीमै जय शिवशक्ति रोडा उद्योग चलाएका छन्। क्रसर उद्योग नामसारी नहुने भए पनि भाडा वा खरिद गरेको भन्दै चल्दै आएका छन्।
आयोजनाका नाममा उत्खनन गर्दै क्रसर चलाउने ठेकेदारले निर्माण काम भने निकै कम गरेका छन्। बुटवल–बेथरी सडकखण्डको जम्मा ३५ प्रतिशत काम भएको छ। यो आयोजना आगामी साउनमा सक्नुपर्नेछ। यो आयोजनाका लागि हजारौं घनमिटर कच्चा पदार्थ उत्खनन गरिएको थियो तर त्यसको केही मात्रा मात्रै आयोजनामा राखिएको स्थानीय बताउँछन्।
बुटवल–बेलहिया छ लेन सडक आयोजनाले काम नगर्ने ठेकेदारलाई कारबाही नगरी म्याद थपिदिँदै आएको छ। पछिल्लो पटक समय थप्दै चैतसम्म पुर्याएको छ। आठ वर्षअघि सुरु आयोजनाको करिब २० प्रतिशत काम बाँकी नै छ। ढुंगा–गिट्टी व्यापार गर्न पाइने भएपछि ठेकेदार काम समयमै सक्न तयार छैनन्। यो सडक तोकिएको समयमै निर्माण नसकिँदा डेढ अर्ब लागत थपिएको छ। ठेकेदारले तिनाउ र दानव नदीमा प्रशोधन गर्न मिल्ने कच्चापदार्थ पाइने भएकाले रुपन्देहीकै स्थानीय तहलाई प्रभावमा पार्ने रणनीति बनाएका छन्। टेन्डर सम्झौतामा भने बाहिरी जिल्लाबाट कच्चापदार्थ ल्याउने गरिनेसमेत उल्लेख छ।
रुपन्देहीको बुटवल उपमहानगर, तिलोत्तमा नगर र सियारी गाउँपालिकाका जनप्रतिनिधिसँग आयोजनालाई कच्चापदार्थ उत्खनन गर्न दिन माग गरिएको छ। वडाध्यक्षहरू उत्खनन गर्न दिनुपर्ने पक्षमा छन्। यी पालिकाले अहिलेसम्म उत्खनन प्रक्रिया सकेका छैनन्। प्रदेश सरकारले असोजमै कार्यविधि बनाउँदै उत्खननको बाटो खोलेको थियो।