पुसभित्रै प्रदेश ३ को नामाकरण हुन्छ : मुख्यमन्त्री पौडेल
काठमाडौं : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुसभित्रै प्रदेशको नामाकरण हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्।
‘पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं। तर राजधानी परिवर्तन हुँदैन। अहिले राजधानी तलमाथि गरियो भने भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ’, मुख्यमन्त्री पौडेलले भने।
मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको बताए। ट्रयाकमा हिड्न थालेपछि विकास निर्माणको कामले गति लिएको उनको भनाइ छ।
‘अब नयाँ ठाउँबाट राजधानी लाने बित्तिकै हामीले यो वर्ष तयार पारेका योजनालाई बाधा पुर्याउँछ। १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भैसकेका छन्’, उनले भने, ‘डिभिजन कार्यालयहरु सबै बनिसकेका छन्।’
काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ। ‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो। यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन्’, उनले भने, ‘केही समस्या थिए। हामीलाई कानुनको अभाव थियो। हामीलाई टेक्ने ठाउँ थिएन।’
मुख्यमन्त्री पौडेलले मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाइदिओस् भन्ने रहेको सुनाए।
७ वटै प्रदेशका मुख्यमन्त्रीले गम्भीर रुपमा उठाएका विषयमा कर्मचारी र कानुनको समस्या रहेको पनि उनले सुनाए। ‘हामीले कर्मचारी भर्ना गर्न पाएका छैनौं। हामीले अहिले करारमा पनि कर्मचारी राख्न नपाउने अवस्था छ’, उनले भने, ‘अर्कोतिर जसरी पनि काम गर्नुपर्ने छ, तर सरकारले माथिबाट कर्मचारी नपठाउने समस्या छ।’
अन्तर प्रदेश परिषदको बैठकमा ७ वटै प्रदेशका मुख्यमन्त्रीले साझा समस्या प्रधानमन्त्रीसामू राखेको उनले बताए। ‘परिषदको बैठकबाट हामीले कार्यदल पनि गठन गरेका छौं। कार्यदलले अब पुस ३ गते आफ्नो प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीसमक्ष बुझाउँछ’, उनले भने।