चीन उदाउँदो शक्ति कि अस्ताउँदो ?
सन् २००९ मा ‘दी इकोनोमिस्ट’ले एउटा उदाउँदो विश्वशक्तिबारे लेख्यो । त्यो देश ब्राजिल थियो । म्यागजिनले लेखेको थियो, ‘ब्राजिलले चाँडै नै फ्रान्स वा बेलायतजस्ता राष्ट्रलाई उछिन्नेछ र विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्नेछ । साओ पाउलो संसारको पाँचौँ धनी शहर बन्नेछ । समुद्र सतहमुनि पत्ता लागेको अथाह तेल खानीले देशको अर्थतन्त्रलाई उकास्न सहयोग गर्नेछ । अत्याधुनिक र मजबुत उत्पादन क्षेत्रले आर्थिक वृद्धि गर्नेछ ।’ यो तर्कलाई चित्रित गर्न म्यागजिनले आवरणमा रियो दी जेनेरोको ‘क्राइस्ट द रिडिमर’ को विशाल मूर्ति रकेटझैँ पहाडको टुप्पोबाट उड्दै गरेको तस्बिर छापेको थियो ।
तर, ब्राजिलको त्यो रकेट आफ्नो लक्ष्यमा कहिल्यै पुगेन । अर्थतन्त्र ओरालो लागिरहेको छ । ब्राजिल इतिहासमै सबैभन्दा भयानक आर्थिक मन्दीबाट उम्किने प्रयासमा छ । हत्या दर इतिहासकै उच्च छ । ब्राजिलमा २०१७ मा हरेक दिन एक सय ७५ जनाले ज्यान गुमाए । एक जना पूर्वराष्ट्रपति जेलमा छन् । अर्कालाई महाअभियोगबाट पदच्युत गरियो । देशको शासनसत्ता सम्हाल्न लागेका राष्ट्रपति पुरानो सैन्य तानाशाहीको प्रशंसा गर्छन् । यी राष्ट्रपति भन्छन्, ‘तानाशाहीले यातना दिएका मानिसलाई त अझ मार्नुपथ्यो ।’ नियतिले जजसलाई ध्वस्त पार्ने चाहना राखेको हुन्छ, त्यस्तो देशको भविष्य सुरुमा उज्ज्वल देखिन्छ ।
यस्तै अर्को उज्ज्वल भविष्य भएको देशबारे ‘द न्युयोर्क टाइम्स’मा गम्भीर र विचारोत्तेजक रिपोर्ट शृंखला छापिइरहेका छन् । त्यो देश हो, चीन । ती रिपोर्ट पढ्दै गर्दा मैले दी इकोनोमिस्टको पुरानो रिपोर्टबारे विचार गरेँ । ‘चीनको उदय’ भन्ने वाक्यांश सामान्यीकरण भइसक्यो । अब त हामी यसलाई अनुमानभन्दा पनि तथ्यका रूपमा बुझ्न थालेका छौँ । हामीले सन् १९५० र ६० को दशकमा सोभियत संघबारे यस्तै विश्वास गरेका थियौँ । सन् १९७० र ८० को दशकमा जापान तथा १९९० र २००० को दशकमा युरोपेली युनियनका बारेमा विश्वस्त थियौँ । ती सबै अनुमान गलत साबित भए ।
उसो भए अहिले भनिँदै आएको चीनको उदय चाहिँ ती अनुमानभन्दा फरक किन हुनुपर्ने ?
यसको एउटा उत्तर द न्युयोर्क टाइम्सको रिपोर्टले सुझाउँछ । बेइजिङले आर्थिक वृद्धिका परम्परागत शैलीलाई बेवास्ता गरेको छ । उन्नतिका लागि उदार र खुला बजार हुनुपर्ने तथा राज्यको नियन्त्रण सीमित हुनुपर्ने मान्यता छ । तर, यी दुवै पक्षलाई उपेक्षा गर्दागर्दै पनि चीन आर्थिक विकास गर्न सक्षम भइरहेको छ । यसका केही कारण छन् । एउटा भनाइ नै छ, परिमाणको आफ्नै गुण हुन्छ । परिमाणको कुरा गर्ने हो भने भारतबाहेक चीनलाई भेट्टाउने अरू कोही छैन ।
चीनमा क्रूरता पनि बढी नै छ । लाओगाई रिसर्च फाउन्डेसनको अनुमानमा चीनमा दशौँ लाख श्रमिकलाई जबर्जस्ती काममा लगाइएको छ । गत महिना रोजालिन वारेनले भक्सका लागि एक उदाहरणीय पत्रकारिकताको नमुना प्रस्तुत गरेकी थिइन् । उनले दक्षिणी चीनको यिङ्सान जेलका एक कैदीको पर्स फेला पारेकी थिइन् । पर्सभित्रको लेखोटमा दैनिक १४ घण्टा काममा दलाइने र पिटिने उल्लेख थियो ।
निरंकुश शासन लामो समय टिक्दैन । तर, छोटो समयका लागि मानिसलाई कसरी काममा लगाउने भन्ने उनीहरु जान्दछन् । यसर्थ चीनलाई विशाल परिमाण र शक्तिको फाइदा छ । तथापि, यसले पनि काम गरिरहेको छैन । सन् २०१४ मा चीनको आधिकारिक आर्थिक वृद्धिदर ७.३ प्रतिशत थियो । अमेरिकाको २.६ प्रतिशत मात्र थियो । त्यही साल नै चीनबाट ३ खर्ब २४ अर्ब डलर पुँजी देशबाट बाहिरिएको यूबीएस नामक संस्थाको अनुमान छ । सन् २०१५ मा यो रकम दोब्बर भयो । इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका अनुसार त्यो वर्ष चीनबाट ६ खर्ब ७६ अर्ब डलर पुँजी बाहिरियो भने २०१६ मा ७ खर्ब २५ अर्ब डलर ।
हो, त्यसमध्ये केही रकम विदेशमा उत्पादनशील क्षेत्रमा लगानी भए । त्यो पैसाबाट मान्छेले सिड्नीमा अपार्टमेन्ट मात्रै किनेनन्, लिचेस्टाइनमा बैंक खाता मात्र खोलेनन् । तर, सत्य के पनि छ भने धनीमानी चिनियाँमध्ये ४६ प्रतिशत विदेश बसाइँ सर्न चाहन्छन् । तीमध्ये धेरैजसो अमेरिकै जान चाहन्छन् । चीनका बारेमा गफ हाँकेजस्तै त्यहाँको भविष्य र सम्भावना त्यति उज्ज्वल हुन्थ्यो भने किन चीनका सबैभन्दा धनी र भाग्यमानी छोराछोरी आफ्नो भविष्य अन्तै देख्छन् ?
सायद यसका विभिन्न कारण छन् । व्यक्तिगत अधिकार, लोकतान्त्रिक छनोट, कानुनी शासन, प्रतिस्पर्धात्मक बजार, उच्च पारदर्शिता, न्यून सरकारी भ्रष्टाचार, समाचारको स्वतन्त्र स्रोत, विचार, विवेक र अभिव्यक्तिको स्वतन्त्रता । यी अमूल्य सम्पत्ति हुन् । पश्चिमाहरूमा यिनको मूल्य सस्तो ठान्ने प्रवृत्ति छ । उनीहरु मूर्खतापूर्ण ढंगले यस्ता स्वतन्त्रता अरूका लागि पनि उत्तिकै सस्तो होला भन्ने ठान्छन् ।
तपाईं केलाई शक्ति ठान्नुहुन्छ ? यदि तपाईं विवश पार्ने क्षमतालाई होइन, आकर्षित गर्ने क्षमतालाई शक्ति मान्नुहुन्छ भने चीन उदाउँदो शक्ति होइन । यो त विघटन भइरहेको शक्ति हो । किनभने, सन् २०२० सम्ममा पूर्ण निगरानीमा रहेको र सम्पूर्ण नागरिकलाई व्यवहारका आधारमा वर्गीकरण गर्ने लक्ष्य राखेको बेइजिङको भविष्य ‘डिस्टोपियन’ छ ।
चीनले आफ्नो आर्थिक शक्तिबारे विश्वसामु प्रस्तुत गरेको आँकडा गलत छ । यसैले पनि अप्ठेरो सिर्जना भएको हुन सक्छ । चिनियाँ अर्थतन्त्रको प्रगति ऋणको पहाडमाथि खडा भएको छ । सार्वजनिक र निजी गरी चीनको ऋण अहिले ३४ ट्रिलियन डलर छ । सन् २०१७ मा आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको बेइजिङको दाबी थियो । तर, चिनियाँ तथ्यांकमा भर पर्न सकिन्न । उनीहरु उत्पादनभन्दा प्रचारमा बढी कला देखाउँछन् । चीनको उदय भनेको उसको अभिनयस्तरको उदय पनि हो ।
यो तस्वीर बढी नै निराशाजनक लाग्न सक्छ । उसो भए ग्वाङ्झाउका गगनचुम्बी भवन के हुन् त ? विश्वलाई चकित पार्दै सांघाईका विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजा के हो त ? करोडौँ चिनियाँलाई गरिबीबाट मुक्त पारिएको के हो त ? के तिनलाई मध्यमवर्ग वा त्यसभन्दा माथि उकासिएको छैन ?
चीनको उदय कुनै मृगतृष्णा होइन । तर, मुख्य कुरा यसको भविष्य हो, विगत होइन । कुनै देशले कसरी उन्नति ग¥यो ? त्यो पनि महत्वपूर्ण हुन्छ । साधारण मानिसको अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गरेर कुनै देशले त्यस्ता स्वतन्त्रताको रक्षा गर्ने देशलाई पछि पार्न सक्ला ? अहिलेको अवस्था हेर्दा यसमा शंका गर्न सक्ने ठाउँ छ ।
अमेरिकी नीति–निर्माता र विश्लेषक प्रायः चीनको उदयलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता व्यक्त गरिरहेका हुन्छन् । बरु तिनले चीनको अधोगतिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्तन गर्नु राम्रो हुन्छ ।
(अमेरिकी पत्रकार स्टेफेन्सले सन् २०१३ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । द न्युयोर्क टाइम्समा प्रकाशित यो लेख के. गिरीले अनुवाद गरेका हुन् ।)