टीकापुरमा रानीजमराले बनाएको तटबन्ध कमजोर

टीकापुरमा रानीजमराले बनाएको तटबन्ध कमजोर

टीकापुर : साउन अन्तिम साता कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका- ५ शाहीपुरको तटबन्ध भत्कायो। कर्णाली नदी नियन्त्रण परियोजनाले निर्माण गरेको उक्त तटबन्ध निर्माणको तीन वर्ष नपुग्दै भत्किएको हो।

साउनको अन्तिममै टीकापुर नगरपालिका- २ सनकट्टी घाटमा पनि कर्णाली नदीले परियोजनाले बनाएको तटबन्ध भत्कायो। असारको मध्यतिर वर्षा नलाग्दै भजनी नगरपालिका -८ सोनाफाँटास्थित पथरैया नदीमा निर्माण सम्पन्न नहुँदै तटबन्ध पनि भाँसियो। 

यी त कर्णाली नदी नियन्त्रण परियोजनाले बनाएका तडबन्ध हुन्। अझ राष्ट्रिय गौरबको आयोजना रानीजमरा कुलरिया सिचाईं आयोजनाले आफ्नो प्रभावित क्षेत्रको जग्गा संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरेका तटबन्धको संरचना पनि कमजोर छन्। 

आयोजनाले हालसम्म नेपाल सरकारको बजेटबाट २५ किलोमिटर क्षेत्रमा तटबन्ध बनाएको छ। त्यस्तै विश्व बैंकको सहयोगमा २३ किलोमिटर तटबन्धको काम सम्पन्न गरिसकेको छ। आयोजना सुरु भएको वर्षदेखि हालसम्म विभिन्न ३२ वटा ब्लक (क्षेत्र) मा तटबन्ध गरिएको छ। 

आयोजनाले तटबन्धका लागि १ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको जनाएको छ। अर्बौं रकम खर्चेर बनाइएका तटबन्ध भत्किने अवस्थामा पुगेपछि स्थानीयबासीले तटबन्ध गुणस्तरीय नभएको आरोप लगाएका छन्। 

निर्माण कम्पनीले नदी क्षेत्रबाटै ढुंगा, बालुवा झिकेर तटबन्ध गर्नु, बालुवासहितको कच्ची तटबन्ध बनाइनु तथा गुणस्तरीय तटबन्धका लागि आयोजनाले ध्यान नदिनुले अर्बौं रकम खर्चेर बनाइएका तटबन्ध भत्किने अवस्थामा पुगेको स्थानीय बताउँछन्।

कर्णाली नदीको सत्तीघाटबाट पाँच सय मिटर दक्षिणतर्फ गत वर्ष बनाइएको दुईवटा तारजालीसहितको तटबन्धको बीचमा झण्डै पाँच मिटर खाली छ। फरक-फरक निर्माण कम्पनीले आफूलाई दिइएको क्षेत्रमा निर्माण गर्दा बीचमा खाली रहेको हो । 

उक्त खाली ठाउँमा आयोजनाले बालुवा र ढुङ्गा मात्र थुपारेको छ। तटबन्ध निर्माणको एक वर्ष नपुग्दै सोही खाली ठाउँबाट कर्णाली नदीले कटान सुरु गरेको थियो। आयोजनाले ध्यान नदिँदा तटबन्ध बनिसकेपछि पनि कर्णाली नदी गाउँ पस्ने खतरामा रहेको टीकापुर नगरपालिका-८ वटनपुरका सेतराज बुढाले बताए। 

'दुई फरक-फरक निर्माण कम्पनीले आफूलाई तोकेको क्षेत्रफल निर्माण गर्दा बीचमा यो भाग खाली रह्यो' स्थानीय सेतराज बुढाले भने। 'यही भागबाट यो वर्ष नदी झण्डै गाउँ पस्नै आँटेको थियो।'

कर्णाली नदीमा गरिएका अन्य तटबन्धमा समेत यस्तो समस्या रहेको छ। एक छेउबाट निर्माण सुरु गरेर अर्को छेउ नपुग्दै बीचमा खाली रहेको तटबन्ध हुन बाँकी भागबाट नदीले कटान गर्ने खतरा कायमै छ। 

कतिपय स्थानमा नदी किनारमा फराकिलो फाउण्डेसन नबनाउँदै तटबन्धको ड्याम बनाइएपछि तटबन्ध भत्किने खतरा बढेको हो। कर्णाली नदीको शाहीपुरमा साउन अन्तिम साता भत्किएको तटबन्ध नदीमा फाउण्डेसन नबनाइएका कारण भत्किएको स्थानीय पूर्णबहादुर साउँदले बताए। 

'नदीको बालुवामाथि फाउण्डेसन नबनाएर सिधैं तटबन्ध गरिएकाले उक्त तटबन्ध भाँसिएको हो,' साउँदले भने, 'नदीबाट पचास मिटर टाढा बनाएको भए पनि यो भत्कियो।'

तीव्र गतिमा पानी बग्ने कर्णाली नदीमा निर्माण गरिएका तटबन्धको संरचनामा आयोजनाले लापरवाही गर्न नहुने स्थानीय बताउँछन्। निर्माण गरिएका तटबन्ध भत्किने अवस्थामा पुगेपछि स्थानीयबासी त्रासमा छन्। 

आयोजना प्रमुख मधुकर रानाले भने केही स्थानमा नदीले धार परिवर्तन गरेका कारण तटबन्ध खतरामा रहेको बताए । आयोजनाले निर्माण गरेका कुनै पनि तटबन्ध कमजोर नभएको उल्लेख गर्दै आयोजना प्रमुख रानाले भने, 'हामीले डिजाइन स्टिमेट अनुसार परीक्षण गरेर मात्रै तटबन्ध गर्ने गरेका छौं,आयोजनाले बनाएको तटबन्ध भत्किएको छैन।'
  
कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गरेका कारण समस्या भएको बताउँदै रानाले नदी किनारमा १५ मिटरको लञ्चिङ्ग सहित तटबन्ध निर्माण गरिने बताए। आयोजनाले कर्णाली नदीको सनकट्टी र दौलतपुर घाटमा तटबन्ध निर्माणको काम गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.