एभरेस्ट प्रिमियर लिग : भैरहवा र ललितपुर ‘प्ले अफ’मा
काठमाडौं : साबिक उपविजेता भैरहवा ग्लाडिएटर्ससँगै ललितपुर प्याट्रिवट्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेका छन्। बुधबार भएको आआफ्नो खेलमा जित हात पार्दै भैरहवा र ललितपुरले प्रतियोगिताको प्ले अफ चरणमा स्थान सुरक्षित गरेका हुन्।
भैरहवाले बुधबार भएको पहिलो खेलमा उपाधिको अर्काे दाबेदार टोली विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै राउन्ड रोबिन लिगको आफ्नो अन्तिम दुई खेल अगावै प्ले अफ चरणमा स्थान सुरक्षित गरेको हो। यस्तै ललितपुरले काठमाडौं किङ्स इलाभेनलाई १० विकेटको भारी अन्तरले पराजित गर्दै प्ले अफ चरणको यात्रा निश्चित गरेको हो।
पराजयले विराटनगरसँगै काठमाडौंका लागि पनि प्ले अफ चरणको यात्रा तय गर्न लिग चरणका बाँकी खेलको नतिजा कुर्नुपर्ने भएको छ। हालसम्म तीन खेल खेलेको विराटनगरले दुई र दुई खेल खेलेको काठमाडौंले एक जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको विराटनगर १८.४ ओभरमा ९१ रनको सामान्य योगफल रोकिएको थियो। जुन योगफल निर्धारित ओभरको अन्तिम दुई बल अघि ६ विकेट गुमाएर पार गर्दै भैरहवाले प्रतियोगितामा आफ्नो लगातार तेस्रो जित पक्का गरेको हो।
भैरहवाको जितमा डच खेलाडी रायन टेन डोस्काटेले २०, कप्तान शरद भेषावकरले १६, रविइन्दर सिंहले १२ तथा प्रदीप ऐरीले १० रन जोडेका थिए। त्यस अघि विराटनगरलाई सस्तैमा समेट्न भैरहवाले सशक्त बलिङ प्रदर्शन गरेको थियो। जसमा संयुक्त अरब इमिरेट्स (यूएई) का खेलाडी मोहम्मद नाभिद एक्लैले चार विकेट लिए। उनी म्यान अफ दी म्याचसमेत चुनिए। उनीबाहेक कृष्ण कार्की र अभिनाश बोहोराले दुई/दुई विकेट लिएका थिए।
विराटनगरका लागि रोइलोफ भान डर मर्बीले बल र ब्याटबाट अल राउन्ड प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन असफल रहे। उनले २५ रन जोड्दै दुई विकेट लिएका थिए। त्यसबाहेक करण केसीले १८, सुमित महर्जनले १५ तथा हरि चौहानले १३ रन जोड्दा अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।
खेलपछि विराटनगरका कप्तान पारस खड्काले ब्याटिङमा सुधार नआउँदा पराजय बेहोर्न पुगेको बताए। ‘हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं। पराजयको कारण त्यही बन्यो’, कप्तान पारसले भने, ‘प्रतियोगितामा अघि बढ्न हामी सबैले ब्याटिङमा सुधार गर्नै पर्छ।’
भैरहवाका कप्तान शरद भेषावकरले अबको योजना फाइनल प्रवेशका लागि हुने बताए। ‘बिहानको खेलमा त्यति धेरै रन बनिरहेको छैन। त्यसका साथै फिनिसिङमा केही गल्ती गर्दा जित केही मुस्किल जस्तो देखियो’, भेषावकरले भने, ‘अब अर्काे खेल जित्दै सीधै फाइनलमा पुग्ने प्रयास गर्नेछौं।’
यसैगरी दोस्रो खेलमा भारतीय ब्याट्सम्यानद्वय गौरभ तोमार र जयकिशन कोल्सावालाको सशक्त ब्याटिङ प्रदर्शनमा ललितपुरले ठूलोअन्तरको जित हात पा¥यो। टस जिती पहिले ब्याटिङ गरेको काठमाडौं किङ्स इलाभेनले १९.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तय गरेको थियो। ललितपुरले तोमार र कोल्सावालाको ब्याटिङमा १०.३ ओभरमै बिना क्षति लक्ष्य पार गरेको हो।
ललितपुरको जितमा तोमारले ३५ बलमा अविजित ८० रनको योगदान दिए। उनले आफ्नो पालीमा पाँच छक्का र नौ चौका प्रहार गरेका थिए। यस्तै कोल्सावालाले २८ बलमा अविजित २७ रन जोडे। उनले आफ्नो पालीमा चार चौका प्रहार गरेका थिए।
त्यसअघि काठमाडौंका लागि आइरिस ब्याट्सम्यान केभिन ओब्राइनले ३३ बलमा ४२ रन जोडेका थिए। यस्तै सिद्धान्त लोहनीले २१ रन तथा साम्सद शेखले १० रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा काठमाडौं जितबाट टाढा रह्यो। काठमाडौंका प्रारम्भिक ब्याट्सम्यान सागर पुनसहित नरेश बुढाऐर र प्रदीप साहु शून्य रनमै आउट भए।
काठमाडौंले आफ्ना भरपर्दा खेलाडी चोटग्रस्त बन्दा महŒवपूर्ण खेल गुमाएको हो। काठमाडौंका नियमित कप्तान तथा मुख्य बलर सोमपाल कामी र अमर सिंह रौटेला चोटग्रस्त रहेका कारण बुधबार ललितपुरविरुद्ध मैदानमा उत्रिएनन्। यस्तै टोलीका विदेशी खेलाडी रोहन मुस्तफाले समेत खेल्न पाएनन्। सोमपालको अनुपस्थितिमा ओब्राइनले काठमाडौंको कप्तानी गरेका थिए। बलिङतर्फ ललितपुरका पवन सर्राफले तीन तथा योगेन्द्र सिंह कार्की र रासिद खानले दुई/दुई विकेट लिए। सन्दीप लामिछाने बिग बास लिग खेल्न अस्टे«लियातर्फ लागेपछि प्लेइङ ११ मा अवसर पाएका यू–१९ राष्ट्रिय टोलीका सदस्य पवन म्यान अफ दी म्याचसमेत चुनिए।
पराजयका बाबजुद काठमाडौंका कप्तान ओब्राइनले प्ले अफको यात्रा मुस्किल नरहेको बताए। ‘आजको खेलमा हामीले मेहनत गरेका हौं यद्यपि जित सम्भव भएन’, ओब्राइनले भने, ‘हामीले पहिलो खेलमा चितवनलाई सहजै पराजित गरेका हौं। यदि हामीले आफ्नो खेल खेल्न सकेको अवस्थामा हामीलाई कुनै समस्या हुने छैन।’
ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडीको मेहनतले जित सम्भव भएको बताए। ‘आजको खेलमा सबै राम्रो भयो। बलिङ र त्यसपछि फिल्डिङमा हामीले जुन मेहनत लगाएका थियौं, त्यसले पनि सहयोग ग¥यो’, ज्ञानेन्द्रले भने, ‘त्यसका बाबजुद ब्याटिङमा अझ राम्रो भयो।’