ग्रहण गर्नलायक ‘प्रसाद’

ग्रहण गर्नलायक ‘प्रसाद’


मुभी मत


निर्देशकः दिनेश राउत
लेखकः सुशील पौडेल
निर्माताः सुवास थापा 
कलाकारः विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, वसुन्धरा भुसाल, प्रकाश   गन्धर्व आदि 


केही कथा यस्ता हुन्छन्, जो आफ्ना हुन्नन्, र पनि आफ्नै लाग्छन्। भोगिएका हुन्नन् तर भोगेजस्तै लाग्छन्। अझ यस्ता कथा शिल्प र शैलीसहित बान्की मिलेर आए भने त कुनै अनुष्ठानपछिको ‘प्रसाद’ झैँ लाग्छन्, मन र आँत दुवै सन्तुष्ट पार्ने सामथ्र्य भएका। शुक्रबारबाट हलमा आएको फिल्म ‘प्रसाद’ यस्तै छ।  मन र आँत दुवै भर्ने। फिल्मले अवधाराणात्मक (कन्सेप्चुअल) बहस गर्ने केही ठाउँ अवश्य छाडेको छ। यद्यपि, ‘प्रसाद’लाई बिनाहिचकिचाहट यो साल प्रदर्शनमा आएका फिल्मको भीडमा पहिलो सार्थक सिनेमा भन्न सकिन्छ। 

‘प्रसाद’ धेरैले अनुमान गरेजस्तो दलित र नदलितको फिल्म होइन। फिल्ममा यसको रमरमी नभएको होइन तर यसको केन्द्रीय द्वन्द्व विशुद्ध शारीरिक र मानसिक छ। जब फिल्मका दुई मुख्य पात्र बाबुराम परियार (विपिन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) सन्तान जन्माउन असमर्थ हुन्छन्, फिल्म समाज छाडेर चरित्रमा घुस्छ। त्यसपछि सुरु हुन्छ, ‘प्रसाद’को मनोवैज्ञानिक यात्रा। यही मोडमा आइपुग्छन्, बाबुरामका बालसखा रमेश (निश्चल बस्नेत), जसको आगमनले बाबुराम र नारायणीको यात्रा थप कष्टकर हुँदै जान्छ। 

बाबुराम र नारायणीको सन्तानप्राप्तिको चाहना र यसले निम्त्याएको परिस्थिति नै ‘प्रसाद’को संसार हो। यही संसारलाई लेखक र निर्देशकले करिब सवा दुई घण्टाको अवधिमा सकेसम्म मौलिक र यथार्थपरक ढंगले पेश गरेका छन्। अनि, लेखक र निर्देशकको कल्पनालाई उम्दा जीवन दिएका छन्, अभिनेता विपिन कार्कीले। हरेक फिल्मका फरक चरित्रमा प्राण भर्दै आएका विपिनले ‘प्रसाद’मा फेरि एक पटक आफू उच्च दर्जाको बहुआयामिक कलाकार भएको प्रमाणित गरेका छन्। अरू त अरू विपिनले रक्सी खाएर बोल्ने ‘क्लिसे’ दृश्यमा पनि आफूलाई जीवन्त देखाएका छन्। पूर्वका रैथाने उनले बाग्लुङको भाषिका उच्चारणमा देखाएको परिपक्वताले पनि उनीबाट नेपाली फिल्मले धेरै कुरा लिन सक्छ भन्ने देखाउँछ। 

‘प्रसाद’को कथा सरल छ र प्रस्तुति एकरेखीय। तर, पनि फिल्मले कहीँ लय छाडेको छैन, न त दर्शकलाई कहीँकतै उच्चाट लगाएर क्यान्डी क्रस खेल्ने ठाउँ नै दिन्छ। यसले देखाउँछ, दर्शक ‘इन्गेज्ड’ गराउन ठूलो क्यानभास होइन, सानो कथा र सानै क्यानभास भए पनि हुन्छ। तर, चाहिन्छ द्वन्द्वको ठोस उठान र बैठान। ‘प्रसाद’ यो पक्षमा निकै सफल छ।  लेखकले बाबुरामको चरित्रमा जुन गहिराइ भरेका छन्, त्यसले आम फिल्ममा जस्तो जण्ड भिलियनको आवश्यकता महसुस हुँदैन।

एउटै मान्छे आफैँमा हिरो पनि हुन्छ र भिलियन पनि। बाबुरामको चरित्रमा ती दुवै रूप देखिन्छन्। त्यसैले जब कथामा रमेशको प्रवेश हुन्छ, यसले कथाको बहावलाई गति त दिन्छ तर आफैँमा उनको उपस्थिति प्रीतिकर लाग्दैन। रमेशको चरित्र चित्रणमा लेखकले अंगीकार गरेको पुरानो ढर्रा यसको कारक हो। त्यसमाथि निश्चल बस्नेतको फिका अभिनयले यो चरित्रलाई थप कमजोर बनाएको छ।

रमेशको चरित्रमा ‘डिटेलिङ’को कमी लेखनको कमजोर कडी हो। रमेशको घरमै सुन्दर र सम्पन्न श्रीमती छिन्। दोहोरीमा पनि उनी हरदम केटीहरूकै बीचमा देखिन्छन्। त्यसमाथि आफ्नै साथीकी श्रीमतीप्रतिको उनको आसक्ति पर्दामा स्थापित हुन सकेको छैन। फिल्मको अन्त्यमा रमेश ह्रिंसक बन्ने अवस्था पनि उत्तिकै खुकुलो छ। 

फिल्ममा थोरै सहायक पात्र छन्। विपिनको गाउँले साथी बनेका प्रकाश गन्धर्व केही ठाउँमा देखिन्छन्। तर, जति ठाउँमा देखिन्छन्, प्रभावित गर्छन्। ‘नाका’मा विपिनसँगै अभिनय गरेर छाप छाडेका प्रकाशसँग पनि नेपाली फिल्मले राम्रै लाभ लिन सक्छ। प्रकाशको अभिनय मात्र होइन, उनको चरित्र पनि फिल्ममा स्वादको छ। गाउँबाट पढ्न कीर्तिपुर आउने र त्यतैका रैथानी युवतीसँग घरजम गरेर काठमाडौँमा भविष्य सुरक्षित गर्ने ‘मोफसल मनोविज्ञान’ प्रकाशको चरित्रले मीठो गरी प्रस्तुत गरेको छ। 

फिल्मका केही दृश्यमा लेखक र निर्देशकको सुझबुझ गजबको छ। फिल्मको सुरुमै बाबुरामलाई उनका बाबुले फोन गरेर सञ्चो–बिसञ्चो सोध्ने दृश्य छ। नेटवर्कको समस्याले बाबुछोराको कुराकानी बीचैमा रोकिन्छ। तर, यही फोनको नेटवर्क दोस्रो हाफमा कथाको ‘ट्वीस्ट’का रूपमा प्रयोग भएको छ। निर्देशकले मनसँगै दिमागले काम गरेको सुन्दर प्रमाण हो यो दृश्य।  नम्रताले विपिनसँग किसानको अधिकारमाथि बहस गर्ने दृश्य पनि फिल्मको अर्को सशक्त दृश्य हो। तर, नारायणीको विद्वता बाँकी दृश्यमा नदेखिनु लेखकीय कमजोरी हो।

अन्तिमका १० मिनेटबाहेक नारायणीलाई लेखकले कमजोर र यथास्थितिवादी देखाएका छन्। यसले फिल्मको अन्त्यलाई पनि प्रभावित बनाएको छ। आफूले बेहोरेको घटनामा नारायणीको स्पष्ट दृष्टिकोण पाइँदैन। अझ बाबुरामसँगको बहसको क्रममा नारायणीले ‘वीर्यकै कुरा हो भने वीर्य त हो, जसको भए पनि भइहाल्यो नि’ भन्नुले उनको चरित्रमा विद्रोह होइन, समर्पणवाद हाबी भएको महसुस हुन्छ। यसले यौन हिंसालाई पनि सहजै सकार्नुपर्छ भन्ने सन्देश दिएको छ।

नारायणीका रूपमा नम्रताको अभिनय पनि ठीकै मात्र छ।  उनले धारण गरेको विगले उनको सुन्दरतालाई ओझेल पारेको छ भने भाषिका पछ्याउने चक्करमा अनुहारको भाव  हराएको छ। अभिनय गर्ने कि बाग्लुङे भाषा पछ्याउने ? यो द्विविधा उनमा बारम्बार देखिन्छ।

फिल्मको अन्त्य यो फिल्मको सबैभन्दा बिझाउने पाटो हो। गम्भीर मुद्दामा चोटिलो फिल्म बनाउँदाबनाउँदै पनि लेखक निर्देशकले फिल्मलाई भाग्यवादको पोल्टामा हालेर कमजोर बनाएका छन्। जबर्जस्तीको संसर्गबाट जन्मिएको बच्चालाई बाबुरामले सकार्नु र नारायणीको रमेशप्रतिको निरपेक्ष भावले देशमा चलिरहेको ‘निर्मलालाई न्याय’ प्रकरणलाई फिल्मले नजरअन्दाज गरेको भान हुन्छ। 

फिल्म बनाउँदा सम्बन्धित घटनामा लेखक र निर्देशकको आफ्नो दृष्टिकोण झल्कनु अनिवार्य मानिन्छ। ‘पद्मावत’ बनाएका सञ्जय लीला भन्सालीले केही समयपहिले फिल्ममा आफ्नो दृष्टिकोण नराखेको भनेर आलोचना भएको थियो। उनलाई आलोचना गर्ने समीक्षकको टिप्पणी थियो, ‘भन्सालीले आत्मदाह गर्न हिँडेका पद्मावतीलगायत अन्य महिलाका खुट्टा एकै चोटि मात्र भए पनि अगाडि बढ्न नमानेको देखाएको भए, यो खालको महिला हिंसामा भन्सालीको समर्थन छैन है भन्ने देखाउँथ्यो।’ निर्देशक दिनेश राउत पनि यस मामिलामा चुकेका छन्। महिलाविरुद्ध हिंसामा निरपेक्ष रहेर उनले खास मुद्दामा आफ्नो धारणा राख्ने अवसर गुमाएका छन्। 

केही क्षम्य कमजोरी भए पनि ‘प्रसाद’ चोखो छ। बेतुकका कमेडीले दर्शकको स्वाद बिगारिरहेका बेला आफ्नै कथामा बनेको फिल्मले टिप्न र भन्न सके हाम्रै वरिपरि पनि मन छुने कथा छन् है भन्ने प्रमाणित गरेको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.