सार्वजनिक शान्ति विरुद्ध कसुरमा ‘ग्रेटर नेपाल’का अभियन्तालाई जरिवाना
काठमाडौं : 'ग्रेटर नेपाल'का अभियन्ता फणीन्द्र नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते नेपाललाई जरिवाना सुनाएको हो । अभियन्ता नेपालले बिमस्टेक सम्मेलन अघि नै भारतीय नाकाबन्दीको विरोध स्वरुप प्रदर्शन गरेका थिए । सम्मेलनको क्रममा उनको प्रदर्शनका कारण शान्ति व्यवस्था खलबलिन सक्ने भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै दिन भदौ १४ गते बिहान चाबहिलस्थित आफ्नै निवासबाट नेपाललाई सादा पोसाकका प्रहरीले पक्राउ गरी ६ दिनसम्म गौशाला प्रहरी वृत्तमा हिरासतमा राखिएको थियो ।
ग्रेटर नेपाल अभियानका संस्थापक अभियन्ता फणीन्द्र नेपालले नेपाल–भारतका असमान सन्धि सम्झौता खारेज तथा ऐतिहासिक नेपालको भूभाग फिर्ता लिनुपर्ने भन्दै पटक पटक आन्दोलन गर्दैआएका छन् । यस क्रममा उनी धेरै पटक पक्राउ समेत परे । पछिल्लो समय उनी पार्टी नै गठन गरी आफ्नो अभियानलाई सशक्त बनाउने तयारीमा रहेको बताएका छन् ।