कर्णालीमा हिउँ पर्दा जनजीवन कष्टकर, परीक्षा नै प्रभावित
सुर्खेत : कर्णालीको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
बुधबार बिहानैदेखि बढेको चिसोसँगै कर्णालीका हिमाली क्षेत्रमा बुधबार साँझदेखि हिउँ पर्न सुरु भएको हो । हुम्ला, जुम्ला, डोल्पा र मुगुका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको हावापनी फिल्ड कार्यालय जुम्लाले जानकारी दिएको छ ।
कात्तिकमै हिँउ परेको कर्णालीका उत्तरी क्षेत्रमा अहिले दोस्रो पटक हिउँ पर्न थालेको हो । आज मात्रै जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको बताइएको छ । उच्च भेगमा अहिले पनि हिउँ परिरहेको हावापनी फिल्ड कार्यालयले जनाएको छ ।
हुम्लामा पनि बुधबार रातिदेखि नै हिउँ परिरहेको छ । लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का, बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडीकोट, मेल्छाम मिमिलगायत उत्तरी क्षेत्रमा हिउँ परेपछि जनजीवन कष्टकर बनेको हो ।
कार्यालयको काम र परीक्षा नै प्रभावित
बिहीबार मात्रै हुम्लामा माइनस ७ डिग्रीमा तापक्रम झरेको बताइएको छ । हुम्लाकै उत्तरी नाम्खा गाउँपालिका लिमी गाउँमा त एक फिटभन्दा बढी हिउँ जमेको छ ।हिमपातसँगै चिसो ह्वात्तै बढेकाले सदरमुकाम सिमकोटका अधिकांश कार्यलय र स्कुलका काम समेत प्रभावित बनेका छन् । अत्याधिक चिसोबाट सरकारी तथा गैरसरकारी कार्यालयको काम प्रभावित भएका हुन् ।
कतिपय कार्यालय नै खुल्न सकेनन् । चिसोबाट बच्न कर्मचारी, व्यापारी र अन्य स्थानीय आगो र हिटर तापेरै दिनभर बसे । कर्णालीका स्कुलमा संचालन भइरहेको वार्षिक परीक्षा समेत प्रभावित भएको छ । कतिपय स्कुलमा भौतिक संचरना नहुँदा चौरमै बसेर परीक्षा दिनुपर्ने हुँदा ती स्कुलका परीक्षा प्रभावित बनेका हुन् ।