नेपाल–तिब्बत सीमा सुरक्षामा गम्भीर छौँ : गृहमन्त्री थापा
काठमाडौ : गृहमन्त्री रामबहादुर थापाले नेपाल र तिब्बतको सीमा सुरक्षाप्रति सरकार गम्भीर रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा ब्यूरोका महानिर्देशक झाङ होङ्बोसँगको भेटमा गृहमन्त्री थापाले यस्तो बताएका हुन्।
गृहमन्त्री थापाले तिब्बतसँगको नाकामा नयाँ अध्यागमन कार्यालय विस्तार गर्न र भएकाको स्तरोन्नतीका कामलाई समेत सरकारले प्रथामिकतामा राखेको बताए। नेपाली भूमीबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता थापाले जनाए।
जवाफमा होङ्बोले चीन विरोधी गतिविधि नियन्त्रणका लागि नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा गरे। आपसी सुरक्षाका लागि लागि तिब्बत र नेपालका सुरक्षा अधिकारीबीच सहकार्य र समन्वय आवश्यक रहेको होङ्बोको भनाइ छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।