कांग्रेस महासमिति भेला आजदेखि, प्रतिवेदनमा मतभेद

कांग्रेस महासमिति भेला आजदेखि, प्रतिवेदनमा मतभेद

काठमाडौं : कांग्रेस महासमिति भेला शुक्रबारदेखि काठमाडौंमा सुरु हँुदै छ। महाधिवेशन हुने वर्षलाई छाडेर प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि काठमाडौंमा महासमिति भेला हुन लागेको हो। यसको सबै तयारी सकिएको बिहीबार काठमाडौंमा आयोजित पक्रकार सम्मेलनमा जानकारी दिइयो।

बग्गीखानास्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुँदै छ। यसका लागि सहभागीले शुक्रबार पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजे सम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। सवा दुई घण्टाको उद्घाटनसत्रपछि शनिबार दिउँसो बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। भेलामा विभिन्न पाँच प्रतिवेदन पेस हुनेछ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। सबै प्रतिवेदन शनिबारकै सत्रमा पेस हुने शर्माले जानकारी दिए।

प्रतिवेदन भेलामा सहभागी सदस्यको प्रदेशस्तरीय समूह बनाएर छलफल गराइने छ। प्रदेशस्तरीय समूहमा सहभागीको समिति बनेपछि पुस १ देखि प्रतिवेदनमाथि छलफल हुनेछ। मंसिर ९ देखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले भेलामा पेस गरिने पाँच प्रतिवेदन पारित गर्दै लैजानुपर्ने हो। विधान मस्यौदा पेस भएपछि मंसिर १३ देखि छलफल थालेको केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो २ बजे बस्दै छ। शनिबारसम्म विधान मस्यौदामाथि छलफल गरेको केन्द्रीय समिति बैठकले सोमबारयता आर्थिक, राजनीतिक, संगठन र कोष लेखा प्रतिवेदनबारे छलफल गरिरहेको छ।

बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महतको आर्थिक नीति मात्र पारित गरेको छ। बिहीबार मात्रै कोषाध्यक्ष यादवले पार्टीको कोष तथा लेखासम्बन्धी प्रतिवेदन पेस गरेकी छन्। यसअघि बैठकमा उपसभापति निधि, महामन्त्रीद्वय कोइराला र खड्काले समेत आआफ्ना प्रतिवेदन पेस गरिसकेका छन्। भेला सुरु हुनै लाग्दासमेत केन्द्रीय समितिले प्रतिवेदन पारित गर्न सकेको छैन।

विधान मस्यौदामा पार्टीका शीर्ष नेताबीच असहमति देखिएपछि केन्द्रीय समितिले पारित गर्न नसकेको महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक खड्काले बताए। सहमति नभए असहमतिसहितकै मस्यौदा महासमिति भेलामा पेस गरिने प्रवक्ता शर्माले जानकारी दिए। यद्यपि शीर्ष नेताको तहमा अनौपचारिक संवाद भइरहेको र महासमिति भेलाको अन्तिमसम्म सहमति हुने नेताहरूको विश्वास छ।

महासमिति भेलाको दुईतिहाइले पार्टीको नयाँ विधान पारित गर्नुपर्ने भएकाले सभापति शेरबहादुर देउवा विधान मस्यौदामा सहमति गराउन अनौपचारिक प्रयास जारी राखेका छन्।

महासमिति भेलामा १६ सय प्रतिनिधि सहभागी हुँदै छन्। २ सय ४० वटा निर्वाचन क्षेत्र, केन्द्रीय समिति, भ्रातृसंगठन तथा शुभेच्छुक संघसंस्था तथा जनसम्पर्क समितिका तर्फबाट आउने प्रतिनिधिको संख्या १ हजार ६ सयभन्दा बढी हुने कांग्रेसका सचिव प्रदीप पराजुलीले जानकारी दिए। राष्ट्रियसभा एवं प्रतिनिधिसभाका २६ सासद र २९ जिल्ला सभापति पर्यवेक्षकका रूपमा सहभागी हुनेछन्।

गत वर्ष विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग एकीकरण गरेको कांग्रेसले महासमितिमा त्यसलाई कसरी समेट्ने भन्ने निर्णय गर्न सकेको छैन। गच्छदारले भेलामा आफ्नातर्फबाट कम्तीमा पनि सय जनाको सहभागिता गराउनुपर्ने माग गरेका छन्। तर कांग्रेस शीर्ष नेतृत्व भने गच्छदारका तर्फबाट बढीमा २९ जनालाई सहभागी गराउने पक्षमा छ। गच्छदारलाई केही समयअघि मात्रै उपसभापति बनाइएको थियो।

महासमिति भेलामा एक करोड हाराहारीमा रकम खर्च हुने आकलन गरिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाले जानकारी दिए। ‘यस पटक हामीले कतैबाट सहयोग लिएका छैनौं, पार्टीको आन्तरिक स्रोतबाटै खर्च जुटाएका छौं’, उनले भने। २०४६ यता कांग्रेसको ६ पटक महासमिति बैठक बसेको छ। २०४८ सालमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईका पालामा दुई पटक र गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएपछि तीन पटक महासमिति बसेको थियो। सुशील कोइराला सभापति हुँदा २०६९ चैतमा महासमिति बसेको थियो। त्यसयता महासमिति बैठक बस्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.