यो देशमा मान्छे भेटिएन

यो देशमा मान्छे भेटिएन

एक भिखारी भिक्षा माग्दै ठूलो व्यावसायिक कार्यालयको ढोकामा पुगेछन्। कार्यालयमा अरू कोही पुगिसकेका थिएनन् तर एकजना म्यानेजर गतिलो पोसाक, सुट टाइमा सजिएर कार्यालय आइसकेका थिए। लबाइ सुन्दर थियो तर अनुहारमा चिन्ता र हतास अनि मानसिक रूपमा गरिवी प्रस्ट झल्किन्थ्यो। भिखारीले ढोका ढकढकाए, ती म्यानेजरले ठूला आँखा तर्दै सोधे- के चाहियो तिमीलाई ? भिखारीले भने- सर साहै्र प्यासी छु, एक गिलास पानी पियाउनुस् न।

 अहिले यहाँ कोही मान्छे आइपुगेका छैनन् तिमी जाऊ। भिखारी डेक चलेनन्, त्यहीँ बसिरहे र फेरि भने- सर, साहै्र प्यासी छु, एक गिलास पानी पिलाउनुस् न। सज्जनले झर्कंदै भने- सुन्दैनौ, कान छैनन् तिम्रा ? अहिले यहाँ कोही मान्छे छैनन् भनेको। म्यानेजरलाई फोन आयो उनी फोनमा कुरा गर्दै हातको इसाराले भिखारीलाई कार्यालयको ढोकाबाट निस्कन भने। फोनमा कुराकानी सकिएपछि पनि भिखारी त्यहीं थिए। म्यानेजर फेरि बोले- सुन्दैनौ तिमी अहिले कोही मान्छे आइपुगेका छैनन्। भिखारी शान्त भएर बोले- सर, एकछिनलाई तपाईं नै मान्छे बनिदिनुस् न !

वर्षौंदेखि राजनीति, सुशासन, न्याय र समृद्धि अनेकौं क्षेत्रमा, अनेकौं अनुत्तरित प्रश्न बोकेर उत्तरको आशामा रहेका नेपाली जनताले एउटा गतिलो मान्छे नभेट्दै फेरि अनेकौं अनुत्तरित प्रश्नको सामना गर्नुपर्ने क्षणमा आइपुगेका छन्। भर्खरै मात्र देशमा अरू देशले तिरस्कार गरेको, युनिभर्सल पिस फेडेरेसन, यसको पृष्ठभूमि नै नबुझी, संस्थापकसमेत विवादस्पद छवि भएको कार्यक्रममा नेपाल सरकारको संलग्नतामा, एउटा धर्मप्रचारक संस्थाको, एसिया प्यासिफिक समिट सम्पन्न भयो। एउटा विवादित संस्थाको सम्मान थापेर प्रधानमन्त्रीले दुईतिहाइ बहुमतकै बेइज्जत गरे उनलाई सिकाउने मान्छेको खाँचो रहेछ। उक्त अवार्ड सम्मान नभई अपमान भएको बुझाउने मान्छे कोही भेटिएनछ।

देशको प्रधानमन्त्रीले देश र जनताको मनोभावनाको वास्तै नगरी जसले जे पुरस्कार दियो त्यही थाप्ने र शिर नुहाउने गरे, धर्मप्रचारक संस्थाले दिएको पुरस्कार थापे, विचरा उनलाई सिकाउने एउटा मान्छेकै खाँचो देखियो यहाँ पनि। त्यसै पनि सुशासन देखाउन नसकी नेतृत्व लिन नसकी आलोचित भइरहेकाले बेला यो पुरस्कार लिनुले के सन्देश जनताले ग्रहण गर्लान् सिकाइदिने मान्छे नै भएनछ।

यस्तै छ यहाँ, आजको शिक्षा प्रणालीले बुद्धिको विकास त गरेको छ र बाहिरी डिग्रीको हिसाबमा सुशिक्षित बनाएको छ तर हृदयको तलबाट व्यक्ति शीलवान् बन्नुपर्छ भन्ने शिक्षा प्राप्त गर्न सकेको छैन। एउटा असल नागरिक बनाउने शिक्षा प्रणालीको अझै विकास हुन सकेको छैन। विद्यालयमा सबै प्रथम हुनुपर्ने शिक्षा दिइन्छ। घरमा अरूलाई जितेर पनि प्रथम आउनुपर्ने, अरूले भन्दा धेरै अंक ल्याउनुपर्ने शिक्षा दिइन्छ।

नजिकको मित्र होस् या परको जसरी पनि उसलाई उछिनेर आफू अगाडि जाने शिक्षा दिइन्छ। यसले गर्दा मान्छेलाई शिक्षित, अनुशासित र मर्यादित नबनाएर प्रतिस्पर्धी बन्न सिकाएको छ। प्रतिस्पर्धामा उत्रिने, अरूलाई हराउने शिक्षा र सभ्यताको विकास हुँदै जानुले नै आज समाजमा हिंसा र अराजकता बढ्दै गएको छ भन्दा फरक पर्दैन। महत्वाकांक्षा र प्रतिस्पर्धाको संस्कारले व्यक्तिमा अनुशासन, इमानदारी, शीलवान्, धैर्य र प्रेमजस्ता गुणको विकास हुन पाउँदैनन्।

महत्वाकांक्षाले चलाख होला व्यक्ति तर प्रेमपूर्ण हुँदैन। प्रेम, भाइचारा, नैतिकता विकास हुने शिक्षा कुनै पाठशालामा दिइँदैन। अनि जब समाजमा अराजकता र हिंसा फैलिँदै जान्छ, हामी सजाय र कानुनको माग गर्न बाध्य हुन्छौं। हिंसामुक्त समाजका लागि आवश्यक कुरा के हो, त्यसको खोजी गरेकै छैनौं। प्रेम, सद्भाव, इमानदारी, करुणा र नैतिकता हृदयबाट प्रस्फुट्न हुनुपर्दछ। हाम्रो शिक्षा, सभ्यता र संस्कारले मस्तिष्क मात्र सक्रिय बनाउने अनि महत्वाकांक्षी र प्रतिस्पर्धास्वरूप बाहिरी सम्पन्नता पाउनुपर्ने शिक्षा दिइरहेको छ। हृदयलाई प्रयोग गर्ने खालका सिकाइ खोइ ?        ध्यान, योग, मौन, सुमिरन र आफैंमा डुब्ने कला खोइ ?        कहाँ कतिले सिकेका छन् र समाज हिंसामुक्त हुन्छ ?        हामीले घरघरमा आफ्ना सन्तान र परिवारका सदस्यमा प्रेम फैलाउने शिक्षा दिएका छौं कि धन कमाउने ?        असल मानिस बन्ने शिक्षा दिएका छौं कि ठूलो मान्छे बन्ने ?        हामीले जे चाहेका छौं त्यही भएको छ।

सद्गुरु ओशो शैलेन्द्रले आफ्नो एउटा प्रवचनमा उल्लेख गर्नुहुन्छ- केही वर्षअगाडि भारतको मुम्बईस्थित ताज होटेलमा बम विस्फोट हुँदा त्यहाँ होटेलमा काम गर्ने कर्मचारीले होटेलमा बस्ने आफ्ना पाहुनालाई हदैसम्मको प्रयास गरेर धेरै व्यक्तिलाई बचाए, बचाउने कोसिस गरे। होटलका सबै कर्मचारीको कारुणिक भाव देखेर मनोवैज्ञानिकहरू प्रभावित भई अनुसन्धान गर्न थाले। आफ्नो ज्यानलाई समेत खतरामा राखेर कसरी अरूको ज्यान बचाउन उत्प्रेरित भए होटलका कर्मचारी ! उनीहरूको मानवता देखेर आश्चर्यचकित भएका मनोवैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए कि होटेलले धेरै पढेलेखेका शिक्षित व्यक्तिलाई कर्मचारीका रूपमा नलिने नीति लिएको थियो।

यसबाट प्रस्ट हुन्छ कि शिक्षाले होइन भावनाले व्यक्ति असल मान्छे बनेर निस्कन्छ। असल व्यक्ति उच्च शिक्षाले होइन, असल मन र हृदयबाट थाहा लाग्छ। असल मान्छे बनेर समाजमा केही गर्न सक्ने व्यक्तिले सफलताको अनुभूति गर्दछ अन्यथा अरूलाई जित्ने कोसिस होस् या हिंसाद्वारा अरूबाट फाइदा लिने कोसिस गरोस्, उसलाई दीर्घकालीन रूपमा सफलता प्राप्त गरेको अनुभूति हुनै सक्दैन। मैले के दिन सक्छु भन्नेभन्दा पनि मैले अरूबाट के फाइदा लिन सक्छु भन्ने संस्कार विकास हुँदै गएको देखिन्छ।

लोभ, अपराध, हिंसा, अराजकता मानिसको स्वभाव होइन। सृष्टिका सबै सृजनालाई सम्मान गर्दै सबैप्रति मंगल कामना गर्नु मानिसको स्वभाव हो। आफ्नो स्वभावलाई जान्न ध्यानको अभ्यास प्रत्येक व्यक्तिमा जरुरी छ। शान्त, धैर्य, चित्त शुद्धि र हरपल आत्मबोधमा रहने कोसिस गर्नुपर्छ। कुनै पनि कुरा प्राप्त हुनासाथ उत्तेजित हुने र कुनै कुरा आफूले सोचेअनुसार नहुँदैमा दुःखी बन्ने स्वभावले सधैं अपूर्णतामा लैजान्छ। अभाव र प्रभाव अस्थायी स्वभाव हुन्। आफूमा स्थिर रहनु र साक्षीपूर्ण भएर हेर्नु आफ्नो स्वभावमा जिउनु हो। आजका मानिस सफलताको सूत्र होस् या नतिजा तुरुन्तै सर्टकट रूपमा पाउन चाहन्छन्। एउटा बिरुवा रोपेर त्यसको फल खान वर्षौं लाग्छ भने हाम्रो हरेक कर्मविधिलाई पनि एकएक पलमा मेहनत र महत्व दिनुपर्छ तब त्यसको महत्व हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.