यसरी गर्नुहाेस् गाडीको स्याहार
सामान्यतयाः कारको नियमित स्याहार गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि हामी कार्यान्वयन गर्दैनौं। हामीले ‘हाइपर माइलर’का रूपमा काम गर्नु छ र अन्तिम थोपा इन्धनलाई पनि सदुपयोग गर्नु छ भने केही साधारण टिप्सको पालना गर्नैपर्छ। गाडीलाई स्टार्ट गरेको एक मिनेटभन्दा बढी अघि नबढाई नराखौं।
स्टार्ट गरेर त्यसै छोड्दा प्रतिघण्टा १.८९ देखि ३.७८ लिटरसम्म इन्धन खेर गइरहेको हुन्छ। यसबाट वातावरणमा अनावश्यक रूपमा कार्वनडाइअक्साइड फैलिन्छ। आधुनिक इन्जिनले गाडी बन्द गर्दा र रि स्टार्ट गर्दा कमै इन्धन खपत गर्छ त्यसैले स्टार्ट गरेर नकुदाई राख्नुभन्दा बन्द गर्नु नै बेस हुन्छ। जाममा परेका बेला यो तरिका बढी उपयोगी हुन्छ।
यसैगरी प्रभावकारी रूपमा गाडीको इन्जिन तताउन पनि यसलाई कुदाउनुहोस् यसलाई एक्सलरेटर दबाएर रनिङ स्पिड बढाएर नराख्नुस्। गाडीका इन्जिन सामान्य अवस्थामा स्टार्ट गर्नासाथै वार्मअप भइसकेका हुन्छन्। २० सेकेन्ड कुर्नुहोस् यसले आयल प्रेसर निर्माण भइसक्छ अनि कुदाउनुहोस्।
तेल हाल्दा पेट्रोल पम्पका कामदारले पाइपको होजलाई निकाल्ने हतारो गरिहाल्छन्। तर आफूले मिटर बन्द भइसकेपछि पनि सबै तेल आफ्नै ट्यांकीमा परोस् भन्नाका लागि केहीबेर त्यही राखिरहन भन्नुहोस्। पाइप निकाल्न हतारो गर्न नदिनुस् किनभने तेलका लागि तपाईंले पैसा तिर्नुभएको छ र हरेक थोपाप्रति तपाईंको अधिकार छ।
हाइवेमा चलाउँदै हुनुहुन्छ भने उपयुक्त समयमा ‘क्रुज कन्ट्रोल अप्सन’ अन गर्नुहोस्। यसले हाइवेमा चलाउँदा ६ प्रतिशतभन्दा बढी इन्धन बचत गर्छ। हरेक पटक इन्जिन चेकअप गर्दा ब्याट्रीको अवस्था पनि जाँच गर्न लगाउनुहोस्। कतिपय अवस्थामा ब्याट्रीका केबल बिग्रिँदा पनि बढी इन्धन खपत भइरहेको हुन्छ।
महिनाको एकपटक आफ्नो टायरको प्रेसर चेक गर्नुहोस्। कम हावा भएको टायरले बढी इन्धन खपत गर्छ। तपाईंको गाडीको म्यानुअलमा भनिए अनुसार नै एयर फिल्टर परिवर्तन गरिरहनुहोस्। अझ काठमाडौं जस्तो धुलो धुँवायुक्त ठाउँमा त झन बढी आवश्यक पर्छ।
नियमित इन्जिन चेक गराउनुहोस्। कम्प्युटर नियन्त्रित गाडी आइसकेको समयमा यो सबै सजिलो र सहज हुँदै गएको छ। पुराना डिजाइनका गाडीमा जस्तो नयाँ प्रविधियुक्त गाडीको समस्या थाहा पाउन गाह्रो पर्दैन। कम्युटरबाट स्क्यान गरेरै धेरै कुरा थाहा हुन्छ। यदि तपाईंको कार ८० को दशकमा बनेको छ भने त्यसमा अक्सिजन सेन्सर पनि हुनसक्छ। यसलाई उत्पादकको सल्लाहमा यसलाई परिवर्तन गरौं। यो सानो डिभाइस हो तर पनि यसले इन्धन डेलिभरिमा असर गर्छ। मितव्ययी बन्न अवरोध पुर्याउँछ।
सम्भव भएसम्म उच्च गियरमा चलाउनु नै इन्धनको प्रभावकारिता बढाउने उत्तम तरिका हो। ६० किलोमिटर प्रतिघण्टाको दरले गाडी चलाउँदा पाँच गियरभन्दा तेस्रो गियरमा चलाउँदा २५ प्रतिशत बढी तेल खपत हुने अध्ययनले देखाएको छ। लो गियरमा राखेर तीव्र गतिमा चलाउँदा चाहिनेभन्दा ४५ प्रतिशतभन्दा बढी इन्धन खपत हुन्छ। यदि तपाईंको गाडी नयाँ प्रविधिको र कम्प्युटर डिस्प्लेयुक्त छ भने ‘इन्स्ट्यान्ट फ्युल इकोनोमी सेटिङ’ हेरेर त्यसलाई ‘लो अप्सन’ मा राख्नुहोस्। फोर्डको फ्युजन हाइब्रिड गाडीमा हुने ग्राफिक डिस्प्लेमा यो सम्भव छ।
स्मुथ ड्राइभ गरौं। अनावश्यक रूपमा हेभी ब्रेक लगाउन बन्द गरेमा इन्धन मात्र बचत हुने होइन गाडी कोरिने र घिस्रिने सम्भावना पनि कम हुन्छ। रिसर्चबाट के पत्ता लागेको छ भने ड्राइभिङ टेक्निकले इन्धन प्रभावकारिता ३० प्रतिशतले बढ्छ। गाडीमा धेरै सरसामान नराखौं। लोड घटाउँदा इन्धन बचत हुन्छ। यदि तपाई कुनै ट्राभलमा जाँदै हुनुहुन्छ भने होसियारीपूर्वक सामान राखौं जसले गर्दा गाडीको भार कम होस्। ‘रुफ र्याक’ आवश्यक नभएको खण्डमा झिक्ने गरौं। यदि तपाईंले गाडीबाट ४५ केजी तौल घटाउनुभयो भने एकदेखि दुई प्रतिशतसम्म इन्धन खपत हुने अनुसन्धानबाटै प्रमाणित भइसकेको छ। त्यसैले एक्स्ट्रा वेट गाडीबाट हटाऔं।
गाडीका लागि सही अक्टेनको तेल छनोट गरौं। म्यानुअलमा हेरेर आफ्नो गाडीको इन्जिनका लागि कति अक्टेनको तेल उपयुक्त हुन्छ बुझौं। अक्टेन रेटिङले इन्जिनमा इन्धनको प्रभावकारिता मापन गर्छ। अक्टेन बढी भएमा तेलको मूल्य पनि बढी हुन्छ। जम्मा ६ प्रतिशत कारका लागि मात्र प्रिमियम तेल आवश्यक पर्छ। गाडीको आवश्यकता बुझेर तेल प्रयोग गरेमा सामान्य तेलबाटै ‘प्रिमियम पर्फर्मेन्स’ प्राप्त हुन्छ।
इन्जिन तातो हुनु र चिसो हुनुले पनि इन्धनको खपतमा असर गर्छ। एउटै दुरीमा पनि कोल्ड स्टार्ट र छोटा ट्रिपहरूले लामो ट्रिपको भन्दा दोब्बर इन्धन खपत गर्छ। त्यसैले ट्राभल प्लान गर्दा इन्जिन राम्रोसँग वार्मअप भए/नभएको जाँच गरेर मात्र यात्रा गर्नुपर्छ। उत्पादकले सिफारिस गरेअनुसारकै इन्जिन आयल प्रयोग गर्नु पनि तेल बचत गर्ने तरिका हो। यसबाट एकदेखि दुई प्रतिशतसम्म इन्धन बचत हुन्छ। गाडीमा आवश्यकभन्दा बाक्लो इन्जिन आयल प्रयोग भए पम्प गर्न गाह्रो हुन्छ।
इन्जिनलाई ‘रेभिङ’ नगर्नुहोस्। विशेषगरी स्विच अफ गर्ने बेला भएको छ भने त झनै नगर्नुस्। यसले इन्धनलाई अनावश्यक रूपमा खर्च गरिदिन्छ र सिलिन्डर वालमा रहेको इन्जिन आयललाई पखालिदिन्छ। यो अर्को पटकको स्टार्टअपका लागि राम्रो होइन किनभने यसले सिलिन्डर वाललाई सुक्खा बनाइदिन्छ। सम्भव भएसम्म रफ सडक प्रयोग नगरौं। हिलो र ग्राभेलले इन्धन खपतलाई ३० प्रतिशतभन्दा बढी बनाइदिन्छ। हरेकपटक चक्का बाउन्स हुँदा मोसन इनर्जीमा अवरोध आउँछ। यसले गर्दा गाडी चलाउन असुविधा हुने मात्र होइन ऊर्जा पनि बढी खपत भइरहेको हुन्छ।
गाडीको सस्पेन्सन र चेसिस पार्टलाई निरीक्षण नियमित गर्नुपर्छ। गाडीका अन्य पार्टपुर्जामा आएका गडबढीले इन्धनको नोक्सानी हुने त छँदै छ असुरक्षा पनि त्यतिकै हुन्छ। स्मुथ ड्राइभको बानी बसाऔं। एकदम बिस्तारै अनि तत्काल ‘स्पिड अप’ गर्ने बानीले इन्धन धेरै खर्च हुन्छ। यसैगरी अरु गाडीको धेरै नजिक जाने बानी पनि त्यागौं। यो असुरक्षित मात्र होइन यदि आसपासका गाडीले अचानक स्पिड घटाएमा तपाईंको इन्धनमात्रै होइन एकआपसमा ठोक्किन गइ खल्ती पनि उत्तिकै प्रभावित हुन सक्छ।