मस्को जान लाग्दा रोकिएका ४४ जनामाथि सीआईबीले थाल्यो छानबिन
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुसको मस्कोतर्फ जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका शंकास्पद ४४ जनाबारे छानबिन थालेको छ। ती ४४ नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले मंगलबार अनुमति नदिइ रोकेको थियो।
दुबईको सारजाह हुँदै मस्को जाने काभ्रेका रत्नकुमार लामा, रूपन्देहीकी दीक्षा थापा र ओखलढुंगाकी सुष्मिता मगरसहित ४४ जनाको कागजपत्र सीआईबीले नियन्त्रणमा लिएको छ। त्रिवि अध्यागमन कार्यालयले शंकास्पद यात्राको अनुसन्धान गर्ने जिम्मेवारी दिएपछि सीआईबीले बुधबारै काम थालेको हो।
‘रुस उड्न लागेका ४४ यात्रुको यात्रा र उनीहरूको परिचयपत्रसहितका कागजपत्र शंकास्पद देखिएको जनाउँदै अध्यागमनले छानबिनको जिम्मा दिएको छ’, सीआईबीका प्रवक्ता एसपी सुदीप गिरीले भने, ‘हामीले काम थालिसकेका छौं, ३ दिनमा विस्तृत विवरण अध्यागमनलाई बुझाउँछौं।’
अफलोड सबैले काठमाडौंस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए।
भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ यात्रु मस्को जान लागेका थिए। तीमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। यसमा मानव तस्कर गिरोहको संलग्नता हुनसक्ने प्रारम्भिक अनुमान अध्यागमनले गरेको थियो। त्यसैले अध्यागमनले सम्बन्धित यात्रु र सरोकारवालासँग छलफलपछि छानबिनमा सीआईबीको सहयोग लिएको हो।
ट्राभल कम्पनीले यसअघि पनि नेपालीलाई मस्को लैजाने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। मस्को उडेका १९ जना त्यहाँबाट फर्किएपछि सबै कुरा खुल्ने सीआईबीका प्रवक्ता गिरीले उल्लेख गरे। ब्युरोले प्रारम्भिक अनुसन्धानबाट कुवेत र मलेसियासहित देशमा रोजगारीपछि फर्किएका युवा भ्रमणमा जान लागेको खुलेको छ।
सीआईबीले नियन्त्रणमा लिएका कागजपत्रअनुसार ट्राभल्सले होटलमा सुत्ने, ब्रेकफास्ट र सहर घुमाउने जिम्मा लिएको थियो। मस्को गएकालाई शनिबार फर्काउने गरी कागजात बनाइएको पनि खुलेको छ।