'धार्मिक युद्ध हुने खतरा'
सुर्खेतः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले देशमा धार्मिक युद्ध निम्त्याउने वातावरण सृजना गरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सुर्खेतमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले ८० प्रतिशत जनताको भावनालाई वेवास्ता गर्दै कुनै एक धर्मका पछि लागेर सरकारले धार्मिक युद्ध निम्त्याउने काम गर्दै आएको आरोप लगाएका हुन्।
'सरकार सबैको साझा हुनुपर्छ, तर अल्पसंख्यक रिझाउने नाममा बहुमत जनताको भावनालाई वेवास्ता गर्नुहुँदैन,' उनले भने, 'पैसाको लोभमा धर्म परिवर्तनका पछि लागेर सरकारले बहुसंख्यकलाई लत्याउँछ भने देशमा धार्मिक युद्ध हुने खतरा छ।'
यस्तै, उनले कांग्रेस महामन्त्री शशांक कोइरालाले उठाएको हिन्दु राष्ट्रको एजेष्ठा महासमिति बैठकबाट समेत स्थापित गराउन अपिल गरेका छन्।यदी कांग्रेसले हिन्दु राष्ट्रको एजेण्डा अगाडि बढाए त्यसका लागि संयुक्त मोर्चा बनाउन तयार समेत रहेको अध्यक्ष थापाको भनाइ छ।
सरकारको काम कारबाहीको प्रशंगमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले विधिको शासन स्थापित नभएकै कारण सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बताए। 'शान्ति प्रक्रियापछि नै विधिको शासन स्थापित हुनसकेन, कम्युनिस्टको सरकार मात्रै होइन? कांग्रेसकै नेतृत्वमा भएपनि राम्रोसँग काम देखाउन सक्थेन, उनले भने, 'जनताले जुन अपेक्षाले बहुमत प्रदान गरेका थिए, त्यही अनुसारको काम गर्नबाट भने सरकार चुकेको हो।'
प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा आएका नेता थापाले पार्टी एकताका लागि सबै तयारी भइसकेको र अर्को पक्ष आएमा जुनसुकै बेला पनि एकता गर्न सकिने दाबी गरे।निर्वाचनका मुखमा पार्टी टुक्रिदा पराजय भोग्नुपरेकोले अब दुवैले विगतलाई समिक्षा गर्दै नफुट्ने गरी एकताको प्रयास रहेको जानकारी दिए।