कोइला खानीमा बाढी पस्यो, १३ जना मजदुरको मृत्यु भएको आशंका
नयाँ दिल्ली : उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैधरुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन्। खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशंका गरिएको छ।
दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन्। मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो। खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा सङ्गमाले जानकारी दिएका छन्।
भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइला खानी खोल्नको लागि प्रतिबन्ध लगाएको थियो । वातावरणकर्मीले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइला खानीहरु रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए।
सरकारी प्रतिबन्धका बाबजूद त्यस इलाकामा अबैधरुपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुनेक्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ।रासस