पर्ख पर्ख मायालु...
कुनै समय साइकल ब्वाईको रूपमा संघर्षरत कृष्ण काफ्ले अहिले नेपाली गीतसंगीतमा बजार तताइरहेका छन्।
गाउँ, सहर, विवाहलगायत अन्य पार्टीमा पछिल्लो समय सबैतिर गुञ्जिएको हिट गीत हो ‘पर्ख पर्ख मायालु म पनि आम्ला, रेलको झ्याल समाएर सधैं भागुम्ला।’ यस चर्चित गीतका गायक हुन् कृष्ण काफ्ले। ‘मंगलम्’ फिल्म दर्शकले कति रुचाए, समीक्षकको जिम्मा। तर यो गीत भने आज पनि लेकबेसीमा गुञ्जिरहेको छ।
गीतले युट्युबमा तीन करोड भ्युअर्स बटुल्यो। यो गीत दर्शकले रुचाएसँगै गायक काफ्ले रातारात हिट भए। उनको जीवनमा नयाँ मोड आयो। एक दशकदेखि संगीतको दुनियाँमा नाम खोज्दै भौतारिरहेका उनी यो गीत चर्चित बनेसँगै सफलताको सिँढी एक कदम उक्लिए। थुप्रै अवार्ड हात पारे। उनको स्वर लाइभ सुन्न चाहने दर्शक बढे। फ्यान फलोअर्स बढे। खुसी हुँदै सुनाउँछन्, ‘यो गीतले मलाई धेरै देश घुमायो।’
०००
काफ्ले नवलपरासी बर्दघाटमा तीन दशक अघि जन्मिए। बाल्यकाल परासीमा बित्यो। चितवन राष्ट्रिय निकुञ्जको वरपर, नारायणी नदीको किनारा, तराईका फाँटहरू घुम्दाघुम्दै बाल्यकाल बित्यो। भोजपुरी गीत, हिन्दी गीत खुब सुने। खुब गाए। स्कुल पढ्दापढ्दै गाउँदा साथीभाइको माझमा लोकप्रिय भए। मधेसका बस्तीहरूमा साइकलको घण्टी बजाउँदै अनि गीत गुन्गुनाउँदै हिँडेको उनको स्मृतिमा अझै ताजै छ।
समय बित्दै गयो। मध्यम वर्गीय परिवारका कृष्ण जेठो छोरा। परिवार हेर्नुपर्ने दायित्व बढ्यो। भन्छन्, ‘जागिर खानुप¥यो भनेर नौ पटकसम्म नेपाल प्रहरी र आर्मीमा भिडँे। तर जागिर खान लेखेको रहेनछ।’ त्यसपछि उनको बाटो मोडियो। गायक बन्ने सपना सजाएर काठमाडौं छिरे।
काठमाडौंमा डेरा जीवन कहाँ सजिलो थियो। अनि काम गर्न थाले साइकल ब्वाईको रूपमा। साइकलमा दिनभरि गल्लीगल्ली कपडा पुर्याउँदै हिँडे। तराईको फाँटमा पनि साइकलमा, काठमाडौंको गल्लीमा पनि साइकलमा। साइकलदेखि साइकलसम्मको चक्रमा जीवन घुमिरह्यो। तर गायक बनि छाड्ने सपना भने देख्न छाडेनन्। भन्छन्, ‘मभित्र जसरी पनि गायक बन्ने पागलपन थियो। त्यो अहिले पनि छ।’
रेकर्डिङ स्टुडियो, संगीत विद्यालय धाउन छाडेनन्। श्रुति संगीत विद्यालय र श्री संगीत पाठशालामा संगीत सिक्न गइरहे। काठमाडौं पसेको करिब पाँच वर्षपछि केही फिल्ममा गीत गाउने मौका पाए। फिल्म रिलिज हुने र आफू गायकको रूपमा चिनिने दिन गन्दै बसे। तर न फिल्म रिलिज भयो, न उनको नाम नै चिनियो। हाँस्दै सुनाउँछन्, ‘त्यसबेला आधा दर्जन जति फिल्ममा गीत गाएँ हुँला। तर एउटै रिलिज भएन।’
निराशाले घेरेको त्यस्तै एक साँझ फिल्म ‘लब यु बाबा’का लागि शिवानी मोक्तानसँग गाउने अफर आयो। दुई जनाको स्वरमा रेकर्ड भयो ‘तिम्रो पावरफुल बैंसको झड्काले।’ सबैभन्दा कान्छो निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म भन्दै प्रचार गरिएको थियो। नभन्दै कान्छो निर्देशक भन्दै सौगात गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भए। सँगै कृष्ण पनि सो फिल्ममा गीत गाएको भन्दै गिनिज बुक अफ वर्ड रेकर्डबाट सहभागिताको प्रमाणपत्र पाए। त्यसपछि थपियो, सांगीतिक संघर्षमा नयाँ घुम्ती।
०००
कृष्णको स्वरमा गीत रेकर्ड गराउनेको संख्या बढ्यो। अहिलेसम्म जम्माजम्मी दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेको उनी बताउँछन्। फिल्म ‘किस्तम–२’ को ‘तिम्रो पिक्चर हिट’ पनि उत्तिकै हिट रह्यो। ‘माया बस्यो जुनेली रातैमा’ बाट ‘बेस्ट पप सिंगर अफ दी एअर २०७२’ को अवार्ड जिते।
२०७४ मा राप्ती म्युजिक अवार्ड जिते। ‘छक्का पञ्जा’ फिल्मको हिट गीत ‘सुन न चम्पा’ बाट उनले ‘नेक्स सङ्स अवार्ड’ हात पारे। ‘पर्ख पर्ख मायालु’बाट उनले ‘बेस्ट प्लेब्याक सिंगर अफ दी इयर–२०७५’ को अवार्ड जिते। सोही गीतबाट मस्ट पपुलर सङ अफ दी इयरको अवार्ड पनि जिते। पछिल्लो दुई अवार्ड उनले कालिका मिडिया ग्रुपबाट पाएका हुन्। त्यस्तै लक्स कामना अवार्ड– २०७५, डिसिने अवार्ड– २०७५, म्युजिक खबर अवार्ड– २०७५ पनि उनले हात पारे।
०००
आजभोलि मेला–महोत्सवमा कृष्णको माग बढ्दो छ। संगीतले नै कतार, बहराइन, साइप्रस र युरोप दर्जनभन्दा बढी देश घुमिसकेका छन्। संगीत यात्राबारे उनी भन्छन्, ‘म आफूलाई सफल गायक अझै ठान्दिनँ। गाउन अझै धेरै बाँकी छ।’
‘पर्ख पर्ख मायालु म पनि त आम्ला, रेलको झ्याल समाएर सँगै भागुम्ला,’ यो गीतको वास्तविक सार्थकता भने उनको जीवनमा अझै भएको छैन। उनी कुनै मायालुको पर्खाइमा छन्।
भिडियो :