पर्यटकको संख्या १० लाख नाघेको खुशीयाली केक काटियो
काठमाडौं : नेपालमा पर्यटक आगमन १० लाख नाघेको खुशीयालीमा केक काटिएको छ। शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा नेपाल पर्यटन बोर्डले केक काटेको हो। केट काट्ने कार्यक्रममा पर्यटन बोर्डका सिइओ दीपकराज जोशीलगायत उपस्थित थिए।
सन् २०१८ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामै १० लाख एक हजार ९३० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको थियो। गत वर्षको ११ महिनामा नेपालमा ८ लाख ५७ हजार २सय ५२ जना पर्यटक आएका थिए।
तथ्यांक अनुसार यो संख्याको पर्यटक आगमन हालसम्मकै बढी हो। यो वर्षको डिसेम्बरको तथ्यांकले पर्यटक आगमन करिब एक लाख बढ्ने अनुमान गरिएको छ। गत वर्षको डिसेम्बरमा नेपालमा ८२ हजार ९ सय ६६ जना पर्यटक नेपाल आएका थिए। यो सहित गत वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए।
यही तथ्यांक अनुसार पर्यटक आगमन दर बढेमा यो वर्षको पर्यटक आगमन करिब ११ लाख पुग्ने भएको छ। सन् २०१८ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय पर्यटक छन्।
हालसम्म नेपालमा १ लाख ७८ हजार १३० जना भारतीय पर्यटक नेपाल भित्रिसकेका छन्। भारतीय पर्यटकको नेपाल आगमन गत वर्षको नोभेम्बरसम्मको तुलनामा यो वर्षको सोही अवधिसम्मा २३ प्रतिशतले भारतीय पर्यटक बढेको उल्लेख छ।
गत वर्षको नोभेम्बरसम्ममा नेपालमा १ लाख ४४ हजार ३७९ जना पर्यटक नेपाल आएका थिए।नेपालको पर्यटन प्रवद्र्धनको प्राथमिकतामा परेको भारतपछिको दोस्रो छिमेकी गन्तव्य चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल आएका छन्। चीनबाट आउने पर्यटकको आगमन दर गत वर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।
यस्तै पर्यटक धेरै भित्रने तेस्रो देशमा अमेरिका रहेको छ। अमेरिकाबाट सन् २०१७ मा ७३ हजार ६५० जना पर्यटक भित्रिएकामा यो वर्ष १२ प्रतिशतले बढेर ९८ हजार ६४६ जना नेपाल आएको उल्लेख छ। यस्तै चौथौ गन्तव्यमा बेलायत र पाँचौमा जर्मनी रहेको छ।